वर्ष २०१७ को अन्त्यमा बलिउड अभिनेत्री अनुष्का शर्मा तथा क्रिकेटर विराट कोहलीको विवाहले ठूलो चर्चा पायो । वर्ष २०१८ को प्रारम्भसँगै यो वर्ष विवाह–बन्धनमा बाँधिने सम्भावित सेलिब्रेटी जोडीहरूको चर्चा प्रारम्भ भैसकेको छ ।
चलचित्र पद्मावतीको प्रदर्शन मिति तय भएसँगै उक्त चलचित्रको चर्चित जोडी दीपिका पादुकोण तथा रणवीर सिंहले यही वर्ष विवाह गर्ने अनुमान गरिएको छ । हालै आफ्नो ३२ औं जन्मदिन मनाउने क्रममा दीपिकाले रणवीरको परिवारबाट हिराको सेट तथा सारी उपहार पाउनुले पनि यी दुई चाँडै विवाह गर्दैछन् भन्ने कुरालाई बल प्रदान गरेको छ । त्यसो त विवाहका लागि रणबीर पूर्ण रुपले तयार भए पनि दीपिका भने अझै तयार भैनसकेको बताइन्छ ।
अनिल कपुरकी अभिनेत्री छोरी सोनम कपुर तथा उनका प्रेमी आनन्द आहुजा पनि यही वर्ष वैवाहिक जीवनमा बाँधिन सक्ने सम्भावना छ । दिल्लीका व्यवसायि आनन्द तथा सोनमको विवाह जोधपुरमा हुने बताइएको छ । उनीहरू दुवैको परिवारले विवाहको तयारी नै थालिसकेको छ ।
अभिनेता वरुण धवन तथा उनकी प्रेमिका नतासा दलाल पनि यही वर्ष वैवाहिक जीवनमा बाँधिने सम्भावना छ । उनीहरू दुवै लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहको रुप दिन आतुर छन् ।
अभिनेता राज बब्बर तथा दिवंगत स्मिता पाटिलका अभिनेता छोरा प्रतीक बब्बर एवं भारतीय राजनीतिज्ञकी छोरी सान्या सागर पनि यही वर्ष विवाह गर्दैछन् । लेखक, निर्देशक तथा कलाकार सान्या तथा प्रतीकले दुई सातापछि इन्गेज्मेन्ट गर्ने कार्यक्रम छ ।
अभिनेत्री नरगीस फाखरी तथा अमेरिकी निर्देशक म्याट अलोन्जोले पनि यही वर्ष विवाह गर्ने योजना बनाएका छन् । उनीहरू लामो समयदेखि प्रेममा छन् । अभिनेता अली फजल तथा अभिनेत्री ऋचा चड्डाको विवाह पनि यही वर्ष हुन सक्ने अनुमान गरिएको छ ।
मोडल तथा अभिनेता मिलिन्द सुमन तथा अंकित कोंवरले एक वर्षदेखिको आफ्नो प्रेमसम्बन्धलाई यही वर्ष विवाहमा परिवर्तन गर्ने अनुमान बलिउडकर्मीहरूको छ ।
सानो पर्दाकी अभिनेत्री रुबिना दिलाइक तथा चलचित्रकर्मी अभिनव शुक्लाले पनि यही वर्ष विवाह गर्ने मनस्थिति बनाएको समाचारमा जनाइएको छ ।
बिगबोसकी प्रतियोगी हिना खान तथा उनका प्रेमि रोकी जयसवाल पनि यही वर्ष विवाह बन्धनमा बाँधिने बताइन्छ । बिग बोस सिजन–९ का विजेता प्रिन्स नरुला तथा उनकी प्रेमिका युविका चौधरी पनि विवाह बन्धनमा बाँधिँदैछन् । एउटा रियालिटी शोमा सहभागी हुने क्रममा उनीहरूले विवाहको आफ्नो योजना सार्वजनिक गरेका हुन् ।
अभिनेत्री अमिषा पटेलका भाइ अस्मित पटेल तथा बिग बोसकी प्रतियोगी महक चहक पनि विवाह–बन्धनमा बाँधिने समाचार सार्वजनिक भएको छ ।
धारावाहिक नागिनकी अभिनेत्री मौनी राय तथा टेलिअभिनेता मोहित रैना प्रेमि–प्रेमिका हुन् । दुबैले चाँडै आफू विवाह बन्धनमा बाँधिने कुरा उल्लेख गरेका छन् ।
टेलि अभिनेता गौतम रोडे तथा अभिनेत्री पंखुडी अवस्थीले विवाहका लागि इन्गेज्मेन्ट नै गरिसकेका छन् । पंखुडीको उमेर गौतम भन्दा १४ वर्ष कम छ । उनीहरू पछिल्लो दुई वर्षदेखि प्रेममा छन् ।