साप्ताहिक संवाददाता
हिन्दू धर्मग्रन्थ रामायणमाथि थुप्रै भाषा तथा थुप्रै माध्यममा पटक–पटक नाटक, टेलिशृंखला एवं चलचित्रहरू निर्माण भएका छन् । रामायणमै अब अर्को चलचित्र बन्ने भएको छ । बलिउड सूत्रका अनुसार दंगल र छिछोरेजस्ता चलचित्रको सफलतापछि चर्चामा आएका निर्देशक नितेश तिवारीले अर्का निर्देशक रविउदय शंकर (श्रीदेवी अभिनित मामका निर्देशक) सँग संयुक्त रूपमा रामायणको निर्देशन गर्ने भएका हुन् ।
यो चलचित्रको स्टारकास्टको औपचारिक घोषणा नगरिए पनि ऋत्विक रोशनले रामको, श्रद्धा कपुरले सीताको तथा प्रभासले रावणको भूमिका निर्वाह गर्ने लगभग पक्का भएको बताइन्छ । थ्रीडी प्रविधिमा हिन्दी, तेलुगु एवं तमिल भाषामा निर्माण गरिने चलचित्र रामायणको पटकथा श्रीधर राघवनले लेखिरहेका छन् । मधु मन्टेना, अल्लु अरबिन्द तथा नमित मल्होत्राले तीन खण्डमा निर्माण गर्ने यो चलचित्रको प्रारम्भिक बजेट १० अर्ब रुपैयाँ भएको बताइन्छ ।