कोरोना संक्रमित भएपछि उत्तरप्रदेशस्थित लखनउको एक अस्पतालमा उपचार गराइरहेकी बलिउड गायिका कनिका कपुरलाई १५ दिनपछि अस्पतालले डिस्चार्ज दिएको छ । घर पठाइएपछि उनलाई अरू १४ दिनसम्म क्वारेन्टाइनमा रहन समेत अस्पतालले निर्देशन दिएको छ ।
छैटौं पटकको रिपोर्ट नेगेटिभ आएपछि उनको परिवार, आफन्त र फ्यानहरूमा खुसी छाएको छ । मार्च ९ मा बेलायतबाट फर्किएकी कनिकालाई कोरोना संक्रमण भएको खबरले बलिउडमा हलचल मच्चिएको थियो । उनले यो यात्राको बारेमा जानकारी नदिएको भन्दै आलोचनासमेत भएको थियो ।
कनिकाको पाँचौं रिपोर्ट पनि पोजेटिभ आएपछि उनका शुभचिन्तक र आफन्त डराएका थिए । तर, डाक्टरले डर मान्नुपर्ने अवस्था नभएको बताउँदै आएका थिए । अस्पताल प्रशासन निकट सूत्रले बताएअनुसार उनलाई डिस्चार्ज गरिए पनि कडा निगरानी गरिनेछ । यद्यपि उनको ४८ घण्टापछि सातौं रिपोर्ट सार्वजनिक गरिनेछ । उनको यो रिपोर्टमा पनि नेगेटिभ रिजल्ट आयो भने उनी कोरोना भाइरसबाट मुक्त हुनेछिन् ।