तीन दर्जनभन्दा बढी चलचित्र, त्यति नै नाटकमा अभिनय गरिसके होलान्, तैपनि अहिलेसम्म आफूले खोजे र चाहेजस्तो ‘क्यारेक्टर’ निर्वाह गर्न नपाएको कुरा बताउँछन्— अभिनेता सौगात मल्ल । उनी हरेक चलचित्रमा लवज तथा गेटअपमार्फत फरक प्रस्तुति दिने अभिनेता हुन् । सौगात उस्तै चरित्र र पात्रमा दोहोरिन चाहँदैनन् ।
कथाकार वा निर्देशकले दिने पात्रलाई अझ फरक बनाउन निकै मेहनत गर्ने सौगातले लुकामारीमा आँखा डेढो बनाए, मुखौटामा हेयर स्टाइललाई छेपारोको सेप दिए । आफूलाई क्यारेक्टरमा समर्पित गर्ने सौगातले आफूले काम गरेका क्यारेक्टरहरूमध्ये पाँचवटा क्यारेक्टरको नाम लिँदै भने ‘सबै क्यारेक्टरमा मेहनत गरेको हुन्छु । फरक देखिने र देखाउने प्रयास निरन्तर रहन्छ, तर यी क्यारेक्टर चाहिँ अलि बढी मन परेका छन् ।’
हाकुकाले, चलचित्र लुट/लुट टु
यो क्यारेक्टर सौगातको चलचित्र करियरको युटर्न क्यारेक्टर हो । त्यही क्यारेक्टरका कारण उनी चिनिए पनि । लुट बन्नुभन्दा पाँच वर्षअघि सौगातले हाकु नामका एक व्यक्तिलाई भेटेका रहेछन् । नेवारीमा हाकुको अर्थ काले हुन्छ । सौगातले त्यो क्यारेक्टरलाई नेवार बनाए र नाम राखे ‘हाकुकाले’ ।
कान्छा, चलचित्र कथा
सिक्किमको उपल्लो भेकमा निर्देशक प्रशान्त रसाइलीले चलचित्र कथाको छायांकन थालिसकेका थिए । सौगात भने चलचित्र छड्केको छायांकनमै व्यस्त थिए । निर्देशक रसाइलीको टिम उनलाई कुरिरहेको थियो । छड्केको काम सकिनेबित्तिकै उनी सिक्किम पुगेर चलचित्र कथाको पात्र कान्छा बने । उनलाई यति मात्र थाहा थियो कि कान्छा भकभके छ । उक्त पात्र निर्वाह गर्न खासै गाह्रो नभए पनि पूर्वतयारी बिना छायांकन गरियो र पर्दामा आउँदा सौगातले उक्त पात्रका कारण राम्रो प्रशंसा पाए ।
काले, चलचित्र षडङ्ग
सौगात नवलपरासीका हुन् । नवलपरासीको मधेस क्षेत्रमा हुर्किएकाले उनलाई पर्दामा मधेसी पात्र आयो कि राम्रो लाग्थ्यो । पर्दामा मधेसी चरित्रलाई सहायक भूमिकामा सीमित राखेको सौगातलाई मन परिरहेको थिएन । सौगातले मधेसी बोलीचालीको पात्रलाई चलचित्र ‘षडङ्ग’मा उतारे । हुन त त्यसपछि फाटेको जुत्तामा समेत मधेसी युवा बने पनि षडङ्गको काम केही फरक भएको उनको दावी छ ।
तान्त्रिक, चलचित्र लालपुर्जा
नक्सामा कतै नभएको एउटा काल्पनिक गाउँका तान्त्रिक पर्पल अर्थात् प्याजी रंगको सौखिन हुन्छन् । ऊ रेस्लिङ मन पराउँछ र भाइसँग झगडा गरिरहन्छ । त्यो पात्रका लागि आफूहरूले खासै तयारी नगरेको सौगात बताउँछन् । १०–१२ दिनको पूर्वाभ्यासमा उक्त पात्रलाई कस्तो देखाउने भन्ने विचार आइसकेको थियो । अन्तत: उनले लालपुर्जामा निर्वाह गरेको भूमिका दर्शकले रुचाउने सौगातको आशा छ ।
प्रस्तुति :