साप्ताहिक संवाददाता
कामना फिल्म एवार्डमा वर्षको सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट नवअभिनेत्रीसहित सर्वाधिक पाँच एवार्ड जितेर चलचित्र लिलिबिलीले कीर्तिमान नै कायम गर्यो । कुनै पनि कुराको सफलतालाई फेसबुकमा सेयर गर्नु अहिलेको ट्ेरन्ड नै हो । लिलिबिलीका निर्देशक मिलन चाम्स तथा निर्माता गोविन्द शाहीले पनि आ–आफ्नो वालमा चलचित्रको सफलताको खुसीयाली साटासाट गर्दै स्टाटस पोस्ट गरे ।
रमाइलो कुरा के रह्यो भने कुनै बेला नङ–मासुको सम्बन्धमा रहेका मिलन र गोविन्दले उक्त सफलता एक–अर्कासँग साटेनन् । मिलनले आफ्नो स्टाटसमा निर्माता शाही मात्र होइन एवार्ड विजेता अभिनेत्री जसीता गुरुङको समेत नाम बिर्सिए । निर्माता शाही पनि के कम, उनले आफ्नो स्टाटसमा निर्देशक चाम्सलाई नै मेन्सन गरेनन् ।
एउटै चलचित्रको सफलतामा त्यही चलचित्रका निर्माता तथा निर्देशकले यसरी एक–अर्कालाई बिर्सिएको कुराले चलचित्रवृत्तका पण्डितहरूलाई कानेखुशी गर्ने मौका प्रदान गरेको छ । रमाइलो कुरा के भने लिलिबिलीको सफलतासँगै निर्माता तथा निर्देशकको सम्बन्ध बिग्रिएको हो । त्यसपछि चाम्स अरू नै कलाकारलाई लिएर नयाँ चलचित्र बनाउन लागे भने शाहीले चाहिँ जसीता र प्रदीप खड्कालाई लिएर अर्को चलचित्र निर्माण गरे ।