साप्ताहिक संवाददाता
१ मिनेट ३३ सेकेन्ड लामो अफिसियल ट्रेलर हेरिसकेपछि जो कसैलाई यो कुन प्रकारको हो भन्न कसैलाई गाह्रो पर्दैन । युवाहरू यति विन्दास भए कि, केही कुराको चिन्ता छैन । न घरपरिवारको डर छ, न समाजको । अनि न भविष्यको चिन्ता छ । चुरोट, गाँजा र प्रेमको जालोमा अल्झिएका युवाहरूको कथा टपक्क टिपेर निर्माण भएको छ जे सुकै होस् ।
समग्र चलचित्र कस्तो बनेको छ भन्ने कुरा हेर्न त आज शुक्रबारसम्म कुर्नैपर्छ तर ट्रेलरलाई आधार मान्ने हो भने यसले न्यू–जेनेरेसनलाई राम्रैसँग दर्शाएको छ । खासै प्रमोसन नगरिएको र केही अश्लील लाग्ने शब्द प्रयोग गरिएको यो चलचित्र काठमाडौं र आसपासका जिल्लामा खिचिएको छ । निर्माताले यो चलचित्र निर्माण गर्न ५० लाखभन्दा माथि खर्च गरेका छन् । उमेश गुरुङ तथा रोशन कुमारको संयुक्त निर्देशनमा बनेको यो चलचित्रलाई नवराज थापाले निर्माण गरेका हुन ।
उमेश गुरुङ, चन्दा दाहाल, किस्मत तामाङ, रोशन कुमार, सोनी गुरुङ, मेलिना ठकुरी, एनबी अन्जान, ईश्वर फुँयाल, कृष्ण भट्टराई, उद्धव तिमिल्सिना, सुनिल कटवाल, राजु श्रेष्ठ आदि कलाकारले अभिनय गरेका छन् । यो चलचित्रमा सबैजसो कलाकार नयाँ छन् । सुरेश अधिकारी, लक्ष्मण शेष, नवराज जगं थापा, डी आर अटुको संगीत रहेको चलचित्र जे सुकै होस्लाई बनिश शाह तथा सालिक दुलालले सम्पादन गरेका हुन् । यो चलचित्र कतिवटा हलमा प्रदर्शन हुँदैछ भन्ने पक्का छैन । यद्यपि निर्माण टिमले आफ्नो चलचित्र ५० जति थियटरमा प्रदर्शन हुने अपेक्षा राखेको छ ।