साप्ताहिक संवाददाता
सन् २०१२ मा मिस नेपाल इन्टरनेसनलको उपाधि जितेको झन्डै ६ वर्षपछि मोडल शुभेच्छा खड्का चलचित्रमा आएकी छिन् । चलचित्र रणवीरबाट रजतपटमा झुल्किएकी यी अभिनेत्रीलाई यसअघि पनि केही चलचित्रबाट प्रस्ताव गरिएको थियो ।
दीपिका प्रसाईंले डेब्यु गरेको चलचित्र ‘ऐश्वर्य’ का लागि सुरुमा शुभेच्छालाई नै प्रस्ताव राखिएको थियो । यद्यपि उनले भूमिका चित्त नबुझेको भन्दै अभिनय गर्न अस्वीकार गरिन् । उक्त चलचित्र प्रदर्शन भएर सफल मात्र भएन, दीपिकालाई अभिनयमा स्थापितसमेत गराइदियो ।
शुभेच्छाले भने आफ्ना लागि भनिएको भूमिका शो पिस जस्तो लागेर नगरेको बताएकी छिन् । ‘मलाई उक्त चलचित्र छाडेकोमा कुनै पछुतो छैन, उनको भनाइ छ– ‘आगामी दिनमा पनि म शो पिस मात्र हुने चलचित्रमा काम गर्ने छैन ।’ रणवीरको आफ्नो भूमिका प्रभावकारी भएकै कारण अभिनय गर्न तयार भएको उनको दावी छ ।