साप्ताहिक संवाददाता
केही समय अघिसम्म अभिनेत्री आँचल शर्मा र अभिनेता पल शाहको जोडीलाई दर्शकले खुबै रुचाएका थिए । त्यसपछि उनीहरूको प्रेमसम्बन्धले पनि उत्तिकै चर्चा पायो । यद्यपि उनीहरू आफूलाई राम्रो साथी मात्र बताउँछन् । यतिमात्र होइन उनीहरू लगातार एउटै चलचित्रमा देखिन थालेपछि दर्शकले उनीहरूलाई आँप जोडीको उपमासमेत दिए । यद्यपि पछिल्लो समयको परिस्थिति त्यस्तो छैन ।
अहिले उनीहरू छुट्टाछुट्टै चलचित्रमा अभिनय गरिरहेका छन् । यतिबेला पल ‘वीरविक्रम–२’ र आँचल ‘दाल भात तरकारी’ मा व्यस्त छन् । उनीहरू अहिले आ–आफ्नै सुरमा छन् । तैपनि उनीहरूको नाममा गसिप बन्न भने छोडेको छैन । केही दिनअघि पल एउटा कार्यक्रममा सहभागी भएका थिए, जसमा उनलाई पत्रकारहरूले आँचलसँग जोडेर धेरै प्रश्न गरे ।
त्यस क्रममा पललाई आँचलसँग किन सँगै चलचित्रमा अभिनय नगर्नुभएको भन्ने प्रश्नसमेत गरिएको थियो । उक्त प्रश्नको जवाफ दिँदै पलले सधैं एउटै मानिससँग एट्याच हुनुपर्छ भन्ने छैन भन्ने जवाफ दिएका थिए । पलको यस्तो ओठे जवाफले कतै पल र आँचलको सम्बन्धमा दरार त आएको होइन भन्ने प्रश्न उठेको छ ।