साप्ताहिक संवाददाता
निर्देशक मिलन चाम्सलाई अचेल मेसिन भन्न थालिएको छ । लगातार एकपछि अर्को चलचित्र निर्माण तथा निर्देशन गरिरहेकाले उनलाई यो उपनाम दिइएको हो । काम गर्ने क्रममा उनले थुप्रै आलोचकसमेत कमाएका छन् । सार्वजनिक समारोहहरूमा चाम्स कहिलेकाहीं ती आलोचकमाथि तीतोसमेत पोख्छन् भने कहिलेकाहीं त्यसका लागि सामाजिक सञ्जाले प्रयोग गर्छन् ।
यतिबेला चाम्सको एउटा स्टाटसले धेरैको ध्यान तानेको छ । ‘यो जोसँग सम्बिन्धित छ’ शीर्षकको उक्त स्टाटसमा चाम्सले लेखेका छन्— ‘तरबारभन्दा कमल खतरनाक, अझ त्यो भन्दा खतरनाक के हो थाहा छ...होस्, पछि भन्छु किस्ताबन्दीमा । मलाई बर्बाद हुनु छैन ।
हामी कुरा गर्छौं आग्राको, हजुरहरू कुरा गर्नु हुन्छ गाग्राको । यो देशमा न निर्माताको महत्व छ, न कलाकारकै, विचरा हामी...।’ चाम्स यत्तिमै रोकिएका छैनन् । उनी लेख्छन्— ‘जय युट्युब च्यानल, जय गुटबन्दी, जय टिकटक, जय चलचित्र राजनीति । अब मलाई फोन आउनेछ । हैट, किन यस्तो बोलेको चलचित्र रिलिज हुने बेलामा, चुप लागेर बस, त्यत्तिकै पनि तिम्रा दुश्मन धेरै बढेका छन् आजकल ।’
चाम्सले कोष्ट भित्र लेखेका छन्— ‘अब म डराउनेछु, सम्भवतः डिप्रेसनको शिकार हुनेछु, ओ माइ गड...पैसा, मेहनत, माइनस ९ डिग्रीमा काम गरेका विचरा कलाकार जाडोमा मुडा लडे जस्तै ड्याङ ड्याङ ढलेको, त्यत्रो टिमले दुःख गरेको...ला, अब के गर्ने होला, उफ अब के हुन्छ होला) भित्री तर यथार्थ कुरा, सरी ल...।