साप्ताहिक संवाददाता
द म्यान फ्रम काठमाडौं
नेपाली चलचित्र द म्यान फ्रम काठमाडौंको प्रदर्शन आज शुक्रबार प्रारम्भ भएको छ । पहिलो पटक नेपाली तथा अंग्रेजी दुई भाषामा निर्माण गरिएको यो चलचित्रमा नेपाली कलाकारका साथै बलिउड, पाकिस्तानी तथा हलिउडका कलाकारहरूको समेत अभिनय हेर्न पाइन्छ । चलचित्र प्रदर्शन गर्ने क्यूएफएक्सले निर्माण गरेको यो चलचित्र नेपाल तथा अमेरिकामा छायांकन गरिएकाले यसको बजेट औसत नेपाली चलचित्रको तुलनामा तीन गुणा बढी भएको सहजै अनुमान लगाउन सकिन्छ । चलचित्रमा पाँच करोड रुपैयाँभन्दा बढी लगानी गरिएको निर्माता नकिम उद्धिनले बताएका छन् । निर्माता नकिमले नेपाली कथा अन्तर्राष्ट्रिय समुदायलाई देखाउन पाउँदा आफूहरू उत्साहित भएको बताएका छन् । यो चलचित्रका निर्देशक पेमा लेन्डुप हुन् । चलचित्रमा अतिवादी सोंच भएका हिन्दू–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा समेटिएको निर्माण पक्षले जनाएको छ । यो चलचित्रमा अमेरिकी अभिनेता जोसे मानुइल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेखसँगै आना शर्मा, नीर शाह, कर्मा शाक्य, मिथिला शर्मा, शिशिर वाङ्देल, सुनीता ठाकुर, परमिता आरएल राना आदिले अभिनय गरेका छन् जसको छायांकन कार्लोस मेडिनाले गरेका हुन् । यो चलचित्रमा किचकिचे माया, आकाशै घुमेर, नेस्टी आदि गीत समावेश गरिएको छ । जसन कुँवर चलचित्रमा समावेश गीतका संगीतकार हुन् ।
जानी–नजानी
वसन्त अधिकारीद्वारा निर्देशित चलचित्र जानी–नजानीले सामाजिक प्रेम कथालाई उजागर गर्ने निर्माण पक्षले जनाएको छ भने चलचित्रले लोप हुँदै गएको ढाकाको कपडाको समेत प्रमोसन गर्न खोजेको छ । चलचित्रमा जानी–नजानीमा अधिकांश नयाँ कलाकारले अभिनय गरेका छन् । चलचित्रकी प्रस्तुतकर्ता रोशनी केसीका अनुसार यो चलचित्रमा करिब दुई करोड रुपैयाँ लगानी गरिएको छ । यो चलचित्रको छायांकन काठमाडौं, पोखरा तथा भारतको कुल्लु मनाली आदि स्थानमा गरिएको हो । चलचित्रमा मनीष श्रेष्ठ, निरिशा बस्नेत, रोशनी केसी, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी आदि कलाकारले अभिनय गरेका छन् । निरिशाको यो डेब्यु चलचित्र हो । बस्नेत हिन्दी धाराबाहिक चन्द्रनन्दिकाबाट चर्चामा आएकी थिइन् । मुम्बईको हाई बजेटका सिरियलबाट उनी नेपाली फिल्मी बजारमा आएकी हुन् । यो चलचित्रमा सागरकाजी माली तथा मोदनाथ खनालको समेत लगानी छ । चलचित्र जानी–नजानीको कथा सञ्चारकर्मी सामीप्यराज तिमिल्सिनाले लेखेका हुन् । चलचित्रमा समावेश भएका एउटीलाई मुटुमा घर गीतले राम्रो सफलता पाएको छ जसमा गायक तथा संगीतकार अर्जुन पोखरेल तथा दुर्गा खरेलको स्वर सुन्न सकिन्छ । यस्तै, चलचित्रमा जानी–नजानी गीत पनि समावेश छ । उक्त गीतमा अञ्जु पन्त र प्रताप दासको स्वर छ । यो चलचित्रका संगीतकार अर्जुन पोखरेल हुन् भने सञ्जय लामाले यसको छायाँकन गरेका छन् ।
पुरानो बुलेट
सञ्चारकर्मी भीषण राईद्वारा निर्देशित चलचित्र पुरानो बुलेटको प्रदर्शन आज शुक्रबार प्रारम्भ भएको छ । क्रेजी इन्टरटेनमेन्टको ब्यानरमा निर्मित यो चलचित्रमा अशोककुमार राई, दिपेन्द्र लिम्बु, विरेन साम्बा तथा टीकाराम राईको लगानी छ भने सन्तोष राई यसका कार्यकारी निर्माता हुन् । पूर्वी नेपालमा छायांकन गरिएको यो चलचित्रमा अनुप विक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्बू, कविता आले, कृष्णभक्त महर्जन, शिरोमणि दवाडी आदि कलाकारले अभिनय गरेका छन् । चलचित्रको केही समयअघि हङकङमा प्रिमियर गरिएको थियो, जहाँ चलचित्र हेर्नेहरूले सकारात्मक प्रतिक्रिया दिएको निर्माण पक्षले जनाएको छ । १ करोड रुपैयाँको लगानीमा निर्माण भएको चलचित्र पुरानो बुलेटको पटकथा भीषण राई र सन्तोष राईले तयार पारेका छन् । यो चलचित्रको छायांकन हरि घले लामाले गरेका हुन् । चलचित्रमा समावेश भएका गीतमा उत्तमजंग लिम्बूको संगीत सुन्न सकिन्छ । पुरानो बुलेटमा समावेश भएको मंसिर पन्ध्र गीतले युट्युबमा राम्रो भ्युज पाएको छ । उक्त गीतमा उत्तमजंग लिम्बू तथा मेलिना राईको स्वर छ । यस्तै चलचित्रमा पुरानो बुलेटैमा गीत पनि छ जसमा जयन जे बाइबाले स्वर दिएका छन् ।