साप्ताहिक संवाददाता
राम्रा चलचित्रले पनि सिनेमा हलमा दर्शक नपाएपछि प्रदर्शनको तयारीमा रहेका केही चलचित्रले प्रसार–प्रसारको नयाँ–नयाँ उपाय अपनाउन थालेका छन् । आज चैत १५ गतेदेखि प्रदर्शन भैरहेको चलचित्र ‘साइँली’ ले एउटा नयाँ प्रयोग गरेको छ, जसले निर्माण पक्षलाई सहयोग पुर्याउने अनुमान गर्न सकिन्छ ।
विगत एक सातादेखि उक्त चलचित्रले काउन्टडाउन शैलीमा प्रत्येक दिन चलचित्रको आधा मिनेट लामो ट्रेलर यूट्युबबाट सार्वजनिक गरेको थियो । चलचित्रका रोचक दृश्यहरू त्यसरी यूट्युबमा सार्वजनिक भएपछि दर्शकलाई थप आकर्षित गर्न सकिएको चलचित्रका निर्माताहरूको दावी छ ।
सर्ट प्रोमोका रूपमा सार्वजनिक भएका ती प्रोमोले राम्रै भ्युज पाएका थिए । चलचित्रका निर्देशक रामबाबु गुरुङका अनुसार यस्तो प्रयोगले दर्शकलाई चलचित्रको प्रदर्शन मितिका बारेमा जानकारी दिनुका साथै चलचित्रका बारेमा कौतुलहतासमेत जगाएको थियो । चलचित्र साइँलीको मुख्य भूमिकामा गौरव पहारी, दयाहाङ राई तथा मेनुका प्रधान छन् ।