साप्ताहिक संवाददाता
नेकपाकी नेतृ तथा पुर्व उर्जा मन्त्री राधा ज्ञवालीले चलचित्र निर्माण गर्ने भएकी छिन् । हालै कान्तिपुरका रामजी ज्ञवालीसँग भएको भेटमा ज्ञवालीले एउटा विशेष कथामा चलचित्र बनाउन खोजेको रहस्य खोलेकी हुन् । बुटवल स्थित ऐतिहासिक स्थल जितगढि किल्लाको बिषयमा चलचित्र निर्माणका लागी काम अगाडी बढिसकेको उनको भनाई छ ।
कस्तो बन्दैछ चलचित्र ?
अंग्रेज–गोर्खा युद्धको ईतिहास बोकेको रुपन्देहीस्थित जितगढी किल्लाको निकै ठुलो महत्व छ । राष्ट्रियताको प्रतिबिम्बका रुपमा स्थापित युद्ध ईतिहासको ऐतिहासिक र पुरातात्विक सम्पदा ‘जीतगढी अर्थात उजीरसिंहगढी’ को विषयमा चलचित्र निर्माण गरेर थप प्रचारप्रसार गर्नुपर्ने ज्ञवालीको धारणा छ । भेटमा उनले भनिन्, ‘यो गढीमा आजसम्म पनि युद्धसम्बन्धी जीवन्त ऐतिहासिक वस्तु तथा प्रमाण भेट्न सकिन्छ । अंग्रेज–गोर्खा युद्धमा पाल्पाको गोर्खा फौजको कमाण्ड कर्णेल उजीरसिंह थापाले सम्हालेका थिए । जहाँ हामीले जित हासिल गरेका थियौं, यस बिषयमा चलचित्र निर्माण गर्नुपर्ने आवश्यकता औल्याउँदै यो काममा अगाडी बढेका हौं ।’ १८७१ मा स्थल मार्गबाट अंग्रेजले बृहत गोर्खा अधिराज्यसित ६–७ ठाउँबाट युद्ध छेडिसकेका थिए । मकवानपुर–चितवन क्षेत्र, बारा–पर्सा–रौतहट, मिथिलाक्षेत्र र बुटवलको जीतगढी क्षेत्र युद्धबाट नेपाल जोगाउनका लागि किल्लाको रुपमा स्थापित गरिएको थियो । ‘तत्कालीन युद्धमा अंग्रेज फौजलाई परास्त गर्न जितगढी सफल भयो । जीतगढीलगायतका किल्लाहरु गोर्खा फौज डटेर नलडेको भए न हामी नेपाली भन्न पाउँथ्यौ न नेपाल रहन्थ्यो,’ उनले भनिन्, ‘यति महत्वपुर्ण ठाउँको बारेमा चलचित्र निर्माण गर्नुपर्छ, देश विदेशमा यो स्थल चिनाउनुपर्छ ।’
काम के के भैरहेको छ ?
केहि समयदेखि चलचित्र निर्माणको काम थालनी भएको पुर्व मन्त्री ज्ञवालीको भनाई छ । अहिले कथा लेख्नका लागी जितगढिलाई लामो समयदेखी अध्ययन गर्दै आएका जानकार बिमल बहादुर शाक्यलाई जिम्मा दिइएको छ । चलचित्र निर्माणमा पुर्व मन्त्री ज्ञवालीसहित विभिन्न व्यक्तीहरुले लगानी रहने बुझिएको छ । नेतृ ज्ञवालीले भनिन्, ‘हामीले केहि समयदेखी यसको तयारी गरेका थियौं, चलचित्र निर्माता तथा कलाकार केशव भट्टराई लगायतसँग पनि कुरा भएको छ । खर्च निकै बढि लाग्ने भएपनि त्यो बजेट उठाउन सकिन्छ र चाँडै चलचित्र निर्माण हुनेछ ।’
उनले कथा तयार भएपछि मिडियामा बिशेष जानकारी गराउने बताइन् ।