साप्ताहिक संवाददाता
च लचित्र ‘कबड्डी’ तथा ‘कबड्डी कबड्डी’ हेर्ने दर्शकले वीरकाजी उर्फ दयाहाङ राईको मैयाँ उर्फ रिष्मा गुरुङप्रतिको लगाव त देखेकै हुन् । काजीलाई भलै मैयाँले मन नपराए पनि मैयाँलाई प्राप्त गर्ने काजीको संघर्ष जारी नै रहन्छ । गत साता प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ अघिल्ला दुई संस्करणको सिक्वेल नै हो, तर यो सिक्वेल अघिल्ला संस्करणको तुलनामा काजीका लागि केही फरक र सुखद छ ।
अघिल्ला संस्करणमा देखिएको मुस्ताङको नौरीकोटको लोकेसन ‘कबड्डी कबड्डी कबड्डी’मा आइपुग्दा घान्द्रुक ल्याइएको छ । अघिल्ला संस्करणमा मैयाँले छोडेर गएपछि विरक्तिएका काजी यो संस्करणमा पनि उत्तिकै विरक्त छन् । मैयाँलाई पर्खेर बसेका काजी कुनै काम गर्दैनन् । साथी बिके अर्थात विजय बरालसँग बेरोजगार जीवन बिताउँदै गाउँघर डुल्छन् । काजीको ताल देखेर दिक्क भएका बाबुआमाले काजीको विवाह गर्ने प्रयास गरे पनि काजी विवाहको कुरा सुन्न मान्दैनन् । जीवनमा एकपटक गरिने प्रेम मैयाँसँग गरेको बताउने काजी आफ्नो प्रेमलाई मर्न नदिने अडानमा छन् ।
चलचित्र हेरुन्जेल दर्शकले हास्ने अवसर प्रशस्तै पाउँछन् । प्रत्येक दृश्यमा देखिने प्रत्येक पात्रका संवाद एवं अभिनयले दर्शकलाई राम्रैसँग हँसाउँछन् । काशी (उपासना) लाई पाउन वीरकाजी, धनकाजी तथा लक्का जवानको संघर्षले दर्शकलाई मनोरन्जन पनि उत्तिकै दिन्छ । लोकेसनका कारण पनि दर्शकको आँखाले शीतलतासँगै कलाकारको अभिनयले उत्तिकै मनोरञ्जन प्राप्त गर्छन् । थकाली र गुरुङ समुदायको संस्कृतिमा आधारित यो चलचित्रका पात्रको ध्यान स्वजातीय वा विजातीय विवाहतिर छैन । उनीहरूको एउटै ध्यान उपासनालाई पाउनु नै हुन्छ । उपासनालाई पाउन प्रमुख पात्रको कबड्डी थप रोचक लाग्छ ।
चलचित्रको क्लाइमेक्स पनि उत्तिकै रोचक छ । यसपटक पनि काजीको कथा ‘स्याड इन्डिङ’ मै पुगेर टुंगिएला भन्ने अनुमान केही हिसाबले फेल खान्छ अर्थात् यसपटक काजी क्लाइमेक्समा खुसी नै देखिन्छन्, तर त्यो खुसी उनले उपासनाबाट पाउँछन् वा अघिल्ला संस्करणकै मैयाँबाट पाउँछन् भन्ने कुरा थाहा पाउन दर्शकले चलचित्र नै हेर्नुपर्ने हुन्छ ।
कलाकारको अभिनयको कुरा गर्दा प्रमुख पात्रहरू दयाहाङ, विल्सन तथा उपासनाको काम राम्रो छ । उपासनाको काम चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा अझ निखारिएको छ । चलचित्रका लेखक एवं निर्देशक रामबाबु गुरुङले कलाकारहरूलाई चरित्र अनुसार न्याय दिएका छन् । चलचित्रका अर्का पात्र कर्मा ‘शो पिस’ जस्ता मात्र छन् । निर्देशकले दयाहाङ र विल्सनलाई नै प्राथमिकता दिएको भए पनि केही फरक पर्दैनथ्यो ।