साप्ताहिक संवाददाता
रेखा शाह, गायिका
म लुगाको एकदमै सौखिन छु । म बढीजसो लुगाकै सपिङ गर्छु । मेरो घरमा तीनवटा दराज छन् । ती दराजमा पनि लुगा अटेका छैनन् । मेरो एउटा बानी के छ भने म दिनमा तीन जोर लुगा फेर्छु । यो मेरो विकनेस पनि होला तर अरूको जस्तो लुगा फेर्नेबित्तिकै फेसबुकमा सेल्फी राख्दिनँ । मेरो घरमा भएको लुगा फेरि–फेरि लगाउने नै हो भने ३ सय ६५ दिनमा पनि सकिँदैन । म ड्रिङ्क्स, स्मोक आदि केही गर्दिनँ ।
त्यसकारण पनि म लुगाको एडिक्ट भएकी हुँ कि ? स्ट्रेस फिल भयो भने म सपिङ गर्छु । अहिले दसैंका लागि किन्नुपर्ने अवस्था त छैन तर पनि दसैं भनेर दुई–चार जोर लुगा किन्ने योजनामा छु । दसैं सांस्कृतिक पर्व भएकाले म यही संस्कृतिसँग मिल्ने रंगका पहिरन लगाउँछु । यतिबेला म रातो, पिंक, रेनी पिंक तथा ब्राइड बढी प्रयोग गर्छु । साडी र कुर्ता मलाई विशेष मनपर्छन् । म ग्रेस बुटिक, दरबारमार्ग, सियोधागो बुटिक, कुपण्डोल, उषा स्टाइलिस कलेक्सन, खड्डी बुटिक, ओढ्नी बुटिक, द युनाइटेड कलर अफ बेनेटोनबाट पहिरन लिन्छु ।
मलाई विदेशबाट गिफ्ट पनि आउँछ । गिफ्ट नपठाउनेहरूले मेरो बैंक एकाउन्टमा पैसा हालिदिनुहुन्छ । त्यही पैसाले म आफ्नो रुचिका पहिरन खरिद गर्छु । मैले छोरालाई यसपटक दुई जोर सर्ट–पाइन्ट किनिदिएको छु । छोराले फेसबुकमा मलाई यो लुगा चाहियो भनेर इनबक्स गरिदिन्छ । घरमा आमा–हजुरआमा भएकाले म उहाँहरूका लागि पनि लुगा किनिदिन्छु । सानो छँदा मेरा लागि उहाँहरूले धेरै गर्नुभएको छ । अहिले उहाँहरूका लागि केही गर्न पाउँदा खुसी लाग्छ ।