साप्ताहिक संवाददाता
अभिनेता तथा निर्माता भुवन केसी पछिल्ला वर्षहरूमा चलचित्र निर्माणमै केन्द्रित छन् । एक समय चलचित्रको अभिनयमा व्यस्त यी अभिनेता अन्तिम पटक उनैले निर्माण गरेको चलचित्र ‘क्याप्टेन’को एउटा गीतमा देखिएका थिए । भुवन उक्त गीतमा बाहेक कुनै पनि चलचित्रमा देखिएका छैनन् । यिनै भुवन लामो समयपछि चलचित्र ‘मिस्टर नेपाली’मार्फत चलचित्रमा देखा पर्दैछन् ।
यो चलचित्रमा भुवन नकारात्मक चरित्रमा छन् । ‘चलचित्रमा मलाई दर्शकले भिलेनका रूपमा पाउनुहुनेछ । यो चलचित्रमा मेरो बाबु र छोरा गरी दोहोरो भूमिका छ,’ अभिनेता केसी भन्छन्, ‘चलचित्रमा म मुख्य नायक होइन । मेरो चरित्र दर्शकलाई नौलो लाग्न सक्छ ।’ यो चलचित्रको कथा विदेशमा बसे पनि नेपालीहरूको मन नेपालमै हुन्छ भन्ने विषयमा आधारित छ ।
यो चलचित्रका निर्देशक देव भुषाल हुन् । देवका अनुसार चलचित्रमा कमेडी, प्रेम तथा देशप्रेमको मिश्रण छ । ‘भुवन केसी अभिनेता र खलअभिनेता दुवै चरित्रमा हुनुहुन्छ । यो चलचित्रमा देखिएको उहाँको फरक लुक्सलाई दर्शकहरूले मन पराउनुहुनेछ भन्नेमा आशावादी छु’, निर्देशक भुषालले भने, ‘चलचित्रले राष्ट्रियताको कुरा उठाएको छ । वर्तमान परिप्रेक्ष्यमा यो चलचित्रले एउटा राम्रो सन्देश दिनेछ ।’
यो चलचित्रबाट साहिल श्रेष्ठ तथा कुसुम राउतले डेब्यु गर्दैछन् । ‘चलचित्र मिस्टर नेपालीको कथा साहिल र म वरपर नै घुम्छ । पहिलो पटक चलचित्रमा अभिनयको अवसर पाएकाले त्यो अवसरलाई मैले राम्रैसँग सदुपयोग गरेकी छु’, नवअभिनेत्री कुसुमले भनिन्, ‘पहिलो चलचित्रमै अग्रज कलाकारसँग अभिनय गर्न पाउँदा डर पनि लाग्दो रहेछ ।’
त्यस्तै नवअभिनेता साहिलले चलचित्रमा आफूले अमेरिकाबाट फर्किएको युवकको भूमिका निर्वाह गरेको बताए । ‘राष्ट्रियताले ओतप्रोत एक युवा किन स्वदेश फर्कन्छ भन्ने चरित्र निर्वाह गरेको छु’, साहिलले भने । प्रेमराज दाहालको लगानीको यो चलचित्रमा भुवन, साहिल र कुसुमबाहेक रिमा विश्वकर्मा, विष्णु सापकोटा, रवी डंगोल आदिले समेत अभिनय गरेका छन् ।