साप्ताहिक संवाददाता
निर्माणको क्रममा रहेको चलचित्र ‘झिँगेदाउ’ एक तस्बिर सार्वजनिक भएको छ । चलचित्र यूनिटले चलचित्रकी शिर्ष पात्र आँचल शर्माको एक तस्बिर सार्वजनिक गरेको हो । सार्वजनिक तस्बिरमा उनलाई एक गाउँले युवतीको भूमिकामा देख्न सकिन्छ ।
रातो रंगको साडीमा सजिएकी आँचलको सिउँदोमा सिन्दुर र गलामा पोते देख्न सकिन्छ । तस्बिरमा देखिएको आँचलको साथमा रहेको हसिया र घाँसको डोकोले उनी गाउँले भूमिकामा प्रस्तुत भएको कुरा प्रस्टाएको छ । तस्बिर सार्वजनिक भएसँगै अभिनेत्री आँचल शर्माले आफ्ना दर्शकले यो चलचित्रमा आफूलाई फरक रुपमा देख्न पाउँने बताएकी छिन् ।
यो चलचित्रमा अभिनेत्री आँचललाई अभिनेता मुकुन भुषालको जोडीका रुपमा साथ दिने छन् । चलचित्र ‘बुलबुल’ प्रदर्शनपछि चर्चामा आएका यि अभिनेताले पनि एक गाउँले युवक बनेर आँचलललाई साथ दिने बताईएको छ ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा छायांकन भैरहेको यो चलचित्र यूनिट हाल भकुन्डेवेसी आसपासका क्षेत्रमा छ ।साहित्यकार भीमनिधि तिवारीको कथामा ‘झिँगेदाउ’ बन्न लागेको हो । यो चलचित्र निर्देशक देउजालेनै निर्माण गरेका हुन् ।
कपनगढी सिनेमा प्रा.लिको ब्यानरमा निर्माण भैरहेको चलचित्रको गीतमा अर्जुन पोखरेलको संगीत सुन्न सकिने छ । चलचित्रको छायांकन विष्णु कल्पितले गरिरहेका छन् ।