साप्ताहिक संवाददाता
करिब ३५ वर्ष पहिले प्रदीप रिमालले ‘के घर के डेरा’ नामको चलचित्र निर्देशन गरेका थिए । उक्त चलचित्र रिलिज भएको ३५ वर्षपछि यहि नामको अर्को चलचित्र बन्ने भएको छ । सोमबार चलचित्रको औपचारिक घोषणा गरिएको छ । अभिनेता दयाहाङ राई, विपिन कार्की र अभिनेत्री वर्षा राउतले शिर्ष भूमिकामा रहेर अभिनय गर्ने यो चलचित्रलाई सुव्रतराज आचार्यले निर्देशन गर्ने भएका छन् ।
डेरामा बस्नेहरुको समस्या र आफ्नै घर बनाउने चाहना यथावत रहे पनि समयअनुसार फरकफरक समस्याहरु लिएर चलचित्र ‘के घर के डेरा’ निर्माण हुन लागेको निर्माण युनिटले बताएको छ ।
शुभ लाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने ‘के घर के डेरा’ मा दयाहाङ, विपिन र वर्षाका साथमा लुनिभा तुलाधर, रविन्द्र झा, आर्सिना भट्टराईलगायतका कलाकारले अभिनय गर्ने छन् ।
‘के घर के डेरा’ मा राजिव श्रेष्ठ र किरण महर्जनले सयुक्त रुपमा लागनी गर्ने छन् । सिंगे लामा यस चलचित्रका कार्यकारी निर्माता हुन् ।