साप्ताहिक संवाददाता
अनमोल केसीको अनुहार हेरेर प्रदिप भारद्धाजले चलचित्र ‘पारश’को स्क्रिप्ट लामो समय लगाएर तयार पारे । तर, अन्तिममा अनमोल केसीका वुवा भुवन केसी र उक्त चलचित्रका निर्माता माधव वाग्लेको कुरो मिलेन ।
कुरो कहाँनेर अड्कियो ? भन्ने बिषयमा माधव वाग्ले निकट एक चलचित्रकर्मी भन्छन्, ‘माधव वाग्लेले आफै चलचित्र निर्देशन गर्ने भने, भुवन केसीले यो कुरा मानेनन् ।’ भुवन केसी निकटको भनाई अनुसार, ‘एकजना अनुभवी निर्देशकलाई निर्देशनको जिम्मा दिऔं, हामीले पछाडिबाट सहयोग गरौं भनेका थिए, तर माधव वाग्लेले नमानेपछि कुरा यत्तिकै सेलायो ।’
‘पारश’मा अनमोलले अभिनय नगर्ने निर्णय भएपछि अनमोल होम प्रोडक्सनबाट निर्माण हुने चलचित्र ‘एन्टी हिरो’मा व्यस्त हुने देखियो । उनले एकाएक ‘ए मेरो हजुर ४’ मा साइन गरे । यो चलचित्रको अहिले वर्कशपको काम भैरहेको छ । आगामी शुक्रवारबाट चलचित्रको छायांकन सुरु हुने चलचित्रकी निर्देशक झरना थापाले बताइन् ।
यसैबिच, भुवन केसी र माधव वाग्लेले अहिले चलचित्र ‘पारश’ संयुक्त रुपमा निर्माण गर्ने निर्णय गरेका छन् । वुझिए अनुसार, निर्देशक माधव वाग्लेले नै यो चलचित्र निर्देशन गर्नेछन् । निर्माताको रुपमा भने माधव वाग्ले र भुवन केसी रहनेछन् । अब लगभग ‘पारश’मा अनमोलले काम गर्ने पक्का भएको छ । अनमोलले केहि समय अघि ‘धुपौरे’ छोडेर एकाएक होम प्रोडक्सनको चलचित्रलाई समय दिएका थिए । तर, अब ए मेरो हजुर ४ पछि पारशमा ब्यस्त हुने भएपछि उनको होम प्रोडक्सन केहि समय पछि धकेलिने पक्का भएको छ ।
राम्रै लगानीमा निर्माण हुने ‘पारश’लाई माधव वाग्लेले आफ्नो ड्रिम प्रोजेक्ट बताइरहेका छन् । उनले लामो समय चलचित्र निर्माणमा अनुभव रहेकाले अब निर्देशन गर्छु भन्ने आँट बटुलेका थिए ।