साप्ताहिक संवाददाता
कोरोना भाइरसको त्रासका कारण निर्माताहरूले धमाधम फिल्मको रिलिज स्थगित गर्न थालेका छन् । चैत ७ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘नीरफूल’ यही कारण स्थगित भएको छ ।
‘सर्वसाधारणको स्वास्थ्यलाई ख्याल गरी सरकारले समेत सार्वजनिक भेला, सभा, समारोह तथा कार्यक्रम नगर्न आह्वान गरिरहेको बेला हामीले पनि फिल्मको प्रदर्शन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं’, निर्देशक फूलमान वलद्धारा मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यसबाट दर्शक महानुभावको निरन्तर पर्खाइ र अपेक्षामा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।’ विश्वव्यापी महामारीको प्रतिकूल अवस्थामा मनोरञ्जन भन्दा नागरिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
स्थिति सामान्य भएपछि नयाँ प्रदर्शन मिति घोषणा गरिने बताइएको छ । महाभूकम्पमा बिछोडिएको एक परिवारको प्रेमकथामा आधारित उक्त फिल्म सेलो प्रोडक्सनले निर्माण गरेको हो । फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानस राजलगायतले अभिनय गरेका छन् ।
त्यस्तै सुर्दशन थापाले निर्देशन गरेको फिल्म ‘म यस्तो गीत गाउँछु–२’ को प्रदर्शन पनि कोरोनाकै कारण स्थगित भएको छ । प्रेस विज्ञप्ति जारी गर्दै निर्देशक थापाले अनिश्चित कालका लागि चलचित्रको प्रदर्शन स्थगित गरिएका जानकारी दिएका छन् । फागुन ३० गते शुक्रबारदेखि प्रदर्शन हुने तयारीमा रहेको उक्त फिल्म कोरोना त्रासकै कारण स्थगित भएको पहिलो चलचित्र हो । यसअघि चलचित्र निर्माता संघले भने सम्पूर्ण नेपाली चलचित्रको छायांकन रोक्न आग्रह गरेको थियो । काठमाडौंलगायत देशैभरका सिनेमा हलमा भने सतर्कताका साथ चलचित्र प्रदर्शन भइरहेका छन् ।