साप्ताहिक संवाददाता
अभिनेता सविन श्रेष्ठले ०७३ साल साउनमा फिल्म बनाउने घोषणा गरे, ‘हिरो रिटन्र्स’ । बल्ल रिलिजको घोषणा भयो, ०७७ साल वैशाख–३ गते । आफूले अभिनय गरेका फिल्म लगातार फ्लप भएपछि सविन अहिले ‘हिरो रिटन्र्स’ चाहिँ जसरी पनि चलाउने पक्षमा छन् । उनले हालै फिल्म प्रचारमा सहयोग पुगोस् भनेर फेसबुकमा एउटा अनौठो पोस्ट गरे । पोस्ट थियो– आफ्ना फिल्मका दुई पोस्टरसँगै बलिउडका दुई फिल्मका पोस्टर ।
८ महिनाअघि रिलिज भएको ‘साहो’ फिल्मको पोस्टर र अघिल्लो शुक्रबारबाट प्रदर्शनमा आएको ‘बागी–३’ को टाइगर श्राफको एक्सन लुक सेयर गर्दै उनले जिब्रो बाहिर निकालिएको ‘इमो’सहित लेखे, ‘बलिउडमा कलिउडको कपि हुँदोरै’छ । सन्जोगमात्रै होला ।’
पोस्ट देखेर फ्यानले समेत उनलाई उडाए । कारण, कुनै पनि दृष्टिबाट ती पोस्टर बलिउडको ‘कपी’ देखिँदैनन् । उनको फेसबुक पोस्टमुनि मेघनाथ कँडेलले कमेन्ट गरे, ‘लाज मान्नुपर्ने हो, एकपटक फेसबुकमा अपलोड गर्नुभन्दा पहिले ।’ ‘फिल्म चलाउन सविनले किन सस्तो फन्डा गरेको ?’ फिल्म वृत्तमा टिप्पणी भइरहेको छ ।