साप्ताहिक संवाददाता
अभिनेत्री आँचल शर्माको विवाह समारोहपछिको पार्टीमा हेलिकप्टरबाट अवतरण गरेको, उक्त पार्टीमा उनले लगाएको पहिरन तथा गरगहनाको मूल्यले यतिबेला सामाजिक सञ्जाल तताएको छ । आँचलले विवाहको पार्टीको दिन ६० लाख रुपैयाँ पर्ने गहना तथा १६ लाख रुपैयाँ पर्ने लेहेंगा लगाएको समाचार प्रकाशित भएपछि सामाजिक सञ्जालमा यो विषयले चर्चा पाएको थियो ।
अधिकांशले आँचलको गहना तथा पहिरनमा नकारात्मक प्रतिक्रिया दिएका छन् । प्रतिक्रिया जनाउनेहरूले कोरोना भाइरसदेखि नेपालमा धनी र गरिबबीचको खाडलसम्मका कुरा गरेका छन् । यसैबीच आँचलले आफ्नो आधिकारिक फेसबुक पेजमा एउटा स्टाटस लेख्दै उक्त खबरको खण्डन गरेकी छिन् ।
फेसबुकमा उनले लेखेकी छन्— ‘हरेक युवतीले आफ्नो जीवनमा कम्तीमा एकपटक आफ्नो विवाहको सपना बुन्छन् । त्यस्तै सपना बुन्ने युवतीले भर्खरै आफ्नो राजकुमार पाएकी छिन्, जसले आफ्नो सपनाको विषयमा अन्य मानिसको धारणा भन्दा पर रहेर आफ्नो सपनामा विश्वास गर्न सिकेकी छिन् ।’ आँचल र उदिपले करिब एक वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् ।