साप्ताहिक संवाददाता
अभिनेता राजेश हमालले कोरोना भाइरस (कोभिड—१९)को प्रभाव पहिलो र दोस्रो विश्व युद्धको भन्दा ठूलो पर्ने उल्लेख गरेका छन् । अभिनेता हमालले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै भनेका छन् ‘कोरोनाबाट विश्वका अधिकांश देश प्रभावित भएका छन् । यसबाट सुरक्षित रहनु होला ।’
कोरोनाको प्रभावबाट बच्नका लागि आफूले आफ्नो दैनिकी परिवर्तन गरेको बताउँदै आफ्ना दर्शकलाई उनले भीडभाडमा नजान आग्रह गरेका छन् । हमालले आफूले पनि सबै कार्यक्रम रद्ध गरिसकेको उल्लेख गर्दै सामाजिक गतिविधि कम गर्न समेत आग्रह गरेका छन् ।
कोरोना भाइरसको रोकथामका लागि कुनै एक देश र क्षेत्रले मात्रै चाहेर नुहने भन्दै विश्वभरका विकसित देशको पनि यसमा चासो र सहयोग आवश्यक हुने उनी बताउँछन् । गरिब मुलुकका नागरिकको स्वास्थ्य अवस्थाबारे पनि विकसित देशलले ध्यान दिनुपर्ने बताएका हमालले अहिले रोजगार भन्दा पनि पहिलो प्राथमिकता स्वास्थ्य भएकोमा जोड दिएका छन् ।
देशको समृद्धिमा सबैभन्दा पहिले स्वास्थ्य आउने भन्दै हमालले भनेका छन्– ‘सम्पूर्ण समाजलाई कसरी स्वस्थ राख्न सकिन्छ भन्ने कुरा देशको प्राथमिकतामा हुनु पर्छ । अहिलेको यो परिस्थितीबाट हाम्रो राष्ट्रले सिक्नु पर्ने कुरा पनि यहि हो ।’