७२ सालको सुरुवातमै देशले महाभूूकम्पको सामना गर्यो । त्यतिबेला वैशाख ११ गते शुुक्रबार हलमा दुुई फिल्म रिलिज भएका थिए– ‘रेशम फिलिली’ र ‘भैरव’ । दुवैको पहिलो दिनको व्यापार उत्साहजनक थियो ।
झन् ‘रेशम फिलिली’ले त एकैदिन ७० लाखको व्यापार गरेको रिपोर्ट आएको थियो । तर, जब फिल्म रिलिज भएको भोलिपल्टै अर्थात् वैशाख १२ गते देशमा अचानक ७.८ रेक्टर स्केलको महाभूकम्प आयो, त्यसले सारा देशसँगै सिनेमा क्षेत्रलाई पनि उठ्नै गाह्रो पर्ने गरी हल्लायो ।
महाभूकम्पले सुुस्ताएको नेपाली फिल्म क्षेत्र त्यसपछि करिब चार महिनासम्म राम्रोसँग बौरिन सकेन । ‘त्यतिबेला भूकम्प आउँला कि भन्ने भयले करिब ४ महिनासम्म दर्शक हलमा आउनै डराए,’ नेपाल चलचित्र संघका पूर्वअध्यक्ष प्रदीप कुमार उदय भन्छन््, ‘एकैचोटी दसैंमा मात्र आएँ । अहिले फेरि हाम्रो अगाडि कोरोना भाइरस त्यस्तै महासंकटका रूपमा देखापरेको छ । हाम्रो जनजीवन सामान्य अवस्थामा फर्किन त समय नलाग्ला तर त्यसपछि पनि नेपाली फिल्म क्षेत्र पुरानै अवस्थामा फर्किन भने कम्तीमा ६ महिना लाग्छ । सबैभन्दा बढी भीड हुने हलमा कोरानाको डरले अब कम्तीमा ६ महिनासम्म दर्शक सजिलै आउने अवस्था छैन ।’
कोभिड–१९ को जोखिम बढ्दै गएपछि गत चैत ५ गते सरकारले वैशाख १८ गतेसम्मका लागि देशभरका सम्पूर्ण सिनेमा हलहरू बन्द गर्ने निर्णय गर्यो । त्यसो त यो निर्णय गर्नु डेढ साताअघिदेखि नै भाइरसको भयले हलहरूमा दर्शकको चहलपहल घटिसकेको थियो ।
यसले हल सञ्चालकहरू मात्रै होइन, तत्कालिन हलमा चलिरहेका ‘सेन्टी भाइरस’, ‘आमा’ आदि फिल्मका निर्माताहरूलाई समेत प्रभाव पारिरहेको थियो । यसरी व्यापारमा प्रभाव परिरहेकै बेला जब हल नै बन्द गर्नुपर्ने अवस्था आयो, त्यसपछि सारा फिल्म क्षेत्रमा अहिले ‘कोमा’मा परेको छ, जहाँबाट उठ्न अब सजिलो छैन ।
फिल्म निर्माणदेखि हल सञ्चालनसम्म संलग्न हुने हजारौं फिल्म प्राविधिक, मजदुर तथा कर्मचारीहरू अहिले यसको प्रत्यक्षमा मारमा परेका छन् । बैंकबाट ऋण काँढेर, हल भाडा अथवा लिजमा लिएर सिनेमा देखाइरहेका सयौं हल सञ्चालकहरू अहिले समस्यामा परेका छन् ।
हल सञ्चालक तथा फिल्म वितरकहरूको छाता संगठन नेपाल चलचित्र संघका अध्यक्ष मधुुसुूदन प्रधानका अनुुसार देशभर करिब दुुई सय सिनेमा हल सञ्चालनमा छन् । सबै सिनेमा हल करिब एक महिना बन्दा हुुँदा हल सञ्चालकहरूले कम्तीमा एक अर्बको घाटा बेहोर्ने उनी बताउँछन् । ‘सबै हलबाट हुने आम्दानीलाई बिर्सेर उनीहरूको हल सञ्चालनमा हुने खर्चमात्रै जोड्ने हो भने पनि अर्बाैंको नोक्सान हुने देखिन्छ,’ उनले भने, ‘सबै हलको खर्चको प्रकृति एउटै छैन । कुुनै हलमा महिनाको ३० लाखसम्म खर्च छ भने कुुनैको १५ लाख, कुनैमा ७ लाख । त्यसैले घाटाको ठ्याक्कै आँकडा निकाल्न त हामीलाई अब यो लकडाउन सकिएपछि मिटिङ नै बस्नुुुपर्छ ।’
नयाँ हललाई झन् गाह्रो
पछिल्लो ६ महिनाभित्र आइएनआई सिनेमाज्ले काठमाडौंमा दुुई सिनेमा हल सञ्चालनमा ल्याएको थियो । ६ महिनाअघि गोगंबुुको नर्थ क्याफे बिल्डिङमा खोलिएको हलको लागत करिब साढे ८ करोड थियो भने चार महिनाअघि नयाँ बसपार्कस्थित ल्होत्से मलमा खोलिएको हलको लगानी करिब १० करोड थियो ।
गोंगबु र बसपार्क उसै त मानिसहरूको बढी चहलपहल हुने क्षेत्र । हल खुलेपछि चहलपहल झन् बढेको थियो । सिनेमाको बिजनेस पनि राम्रै भइरहेको थियो । लगानीकर्तालाई पनि राम्रै लोकेसनमा हल खोलिएछ भन्ने लागेको थियो ।
तर, एक्कासि देखिएको कोरोना संकटले उनीहरूको ‘पिकअप’ लिइरहेको व्यापार चौपट बनाइदिएको छ । ‘कस्तो बेलामा हल खोलिएछ जस्तो भा’छ, तैपनि हामीले हार मानेका छैनौं,’ हलका सञ्चालकमध्ये एक सुरेन्द्र थापा भन्छन्, ‘बैंकसँग लिएको ऋणको ब्याज बढेको बढ्यै हुुनेभयो तर हल भने बन्द छ । स्टाफलाई तलबी बिदा दिनुुपरेको छ । दुुई हल गरेर भाँडामात्रै महिनाको १४ लाख पुुग्छ । बत्ती, सेक्युुरिटी, स्टाफ आदि सबै खर्च जोड्दा हामीलाई कम्तीमा पनि महिनाको ३० लाख घाटा हुुने देखिन्छ ।’
सरकारले हलको भाँडा, बत्तीको महसुल र करमा नहेरिदिए आफूहरू ठूलो समस्यामा पर्ने उनी बताउँछन् । आइएनआई सिनेमाज्ले नै चितवनमा हालै खुलेको भरतपुर सिनेप्लेक्सको व्यवस्थापन जिम्मा लिएको छ । उनका अनुुसार त्यहाँ पनि अवस्था त्यस्तै बिजोग छ ।
‘अहिले कोहीसँग कुुरा गर्न सकिरहेका छैनौं । कसैलाई फोन गर्यो भने लकडाउन पछि कुरा गरौंला भन्छन्,’ उनले भने, ‘यतिखेर कसैसँग हारगुहार गर्ने अवस्थै छैन । गरिहालियो भने पनि मान्छेलाई यहाँ खान समस्या छ, तिमी हलको कुरा ल्याउँछौं भनेर जवाफ खाइन्छ भन्ने डर छ ।’
क्युएफएक्सलाई धेरै घाटा
क्युएफएक्स सिनेमाज नेपालकै सबैभन्दा ठूलो चेन हो । यो कम्पनी अन्तर्गतमात्रै देशभर १२ वटा सिनेमा हल सञ्चालनमा छन् । पछिल्लो ६ महिनाभित्र मात्रै यसले दुुई शाखा थप्यो, एउटा भक्तपुरमा र अर्को बुुटवलमा ।
यसरी सबैभन्दा ठूलो सिनेमा चेनका रूपमा स्थापित क्युफएक्स अहिले सबैभन्दा बढी संकटमा छ । ‘लकडाउन कहिले खुुल्छ भन्ने नै टुुंगो छैन्, त्यसैले कति दिनसम्म हल बन्द हुुने हो, कति घाटा बेहोर्नुपर्ने हो अहिले नै भन्न सकिने अवस्था छैन,’ क्युुएफएक्स सिनेमाज्का सिईओ रोशन अडिगा भन्छन्, ‘अनुुमानित हिसाब गर्ने हो भने पनि हाम्रो क्युुएफएक्स चेनअन्तर्गत रहेका ठूल्ठूला हलले दिनहुुँ कम्तीमा ७–८ लाखको व्यापार गर्थे, सानाले ४–५ लाख गर्थे । सबैलाई ५ लाखका दरले हिसाब गर्ने हो भने हामीअन्तर्गत रहेका १२ हलको जोड्दा कम्तीमा ६० लाख दिनहुुँ घाटा भइरहेको छ । यसमा कर कटाउँदा पनि ३०–३५ लाख बच्छ । अब यो घाटा ४५ दिनसम्म लगातार भइरह्यो भने हाम्रो घाटा कम्तीमा ८–१० करोड हुने निश्चित छ ।’
क्युुएफएक्स चेनअन्तर्गत अहिले तीन सय ५० जना कर्मचारी छन् । त्यसैगरी हाउसकिपिङ, सेक्युुरिटीलगायत आउटसोर्सिङ स्टाफ थप ३ सयजना छन् । ‘आउटसोर्सिङ’ स्टाफको पारिश्रमिक कसले बेहोर्ने त्यसको त अहिले टुंगो भएको छैन तर आफ्नै स्टाफलाई भने कम्पनीले तलबी बिदा दिएको छ । ‘तर, यो लकडाउन लम्बिरह्यो भने तलब खुुवाइरहने अवस्था हुुन्छ/हुुँदैन, अहिले भन्न सकिँदैन,’ अडिगा भन्छन् ।
अडिगाका अनुसार यो वर्ष सिनेमाको अपेक्षित व्यापार भएन । झन् दसैंपछि त अवस्था नाजुुक नै भयो । ‘चैतमा ठूला फिल्म आउँदै थिए, त्यसैले राम्रो होला भन्ने आशा थियो । तर, फेरि संकट आइपर्यो,’ उनी भन्छन्, ‘खासगरी यो ०७६ साल हाम्रा लागि घाटाको साल भयो । यस्तो अवस्थामा सरकारले हल सञ्चालकलाई राहत नदिए ठूलो समस्यामा पर्छौं । सिनेमाको टिकटमार्फत लिँदै आएको करमा छुट गरिदिए हुुन्थ्यो भन्ने छ । अनि, हलको भाडा र बैंकको ब्याज छुुट भए ठूलो राहत हुुन्थ्यो ।’
आशा अब राहतकै
सिनेमा हलका सञ्चालकहरूसँग अहिले घाटाको ठीक विवरण छैन । जसरी देशमा कोरोनाको संकट र सरकारको लकडाउन कहिले टुुंगिन्छ भन्ने टुुंगो छैन । सबैसँग अब अन्तिम आशा छ–सरकारले दिने राहतको ।
लकडाउन हुनुुअघि नै नेपाल चलचित्र संघको टोली अर्थमन्त्री युवराज खतिवडा भेट्न पुुगेको थियो, राहत प्याकेजको मागसहित । अर्थमन्त्रीले आश्वासन दिएर त पठाएका छन् तर अहिलेसम्म केही औपचारिक घोषणा हुुन सकेको छैन् ।
‘यस्तो जटिल परिस्थितिमा हामीलाई कम्तीमा पनि एक वर्ष चलचित्र विकास बोर्डले विभिन्न शीर्षकमा उठाइरहेको सिनेमाको कर मिनाहा गर्नुुपर्छ भन्ने हाम्रो माग हो,’ नेपाल चलचित्र संघका अध्यक्ष प्रधान भन्छन्, ‘त्यस्तै धेरै साथीहरूले बैंकमा ऋण लिएका छन्, ब्याज बढेको बढ्यै हुने भयो । बैंकले ब्याज छुुट गरेको छैन्, मात्रै केही समय थप गरिदिएको छ । त्यसैले यसमा पनि सरकारले पहलकदमी भूमिका खेल्नुुपर्यो भने हाम्रो माग हो ।’
काठमाडौं, दरबारमार्गस्थित क्युज सिनेमाज्का सञ्चालक एक महिनाको हल सञ्चालन खर्चमात्रै ३० देखि ४० लाख हुुने उनले बताए । ‘स्टाफलाई तलब खुुवाउनै पर्यो, हल भाडा तिर्नैपर्यो, हल मर्मतमा खर्च भइहाल्छ, बैंकमा ब्याज पनि तिर्नैपर्यो,’ उनी भन्छन्, ‘यी सबै जोड्दा ३० देखि ४० लाख घाटा पक्का छ । हल खुुलेको भए कति आम्दानी हुन्थ्यो, त्यसको हिसाब–किताब त गरेकै छैन । त्यसैले सरकारले राहत व्यवस्था नगरे हामीलाई गाह्रो हुने अवस्था छ ।’
बुुटवलस्थित द्वारिका–उदय सिनेमा हलका सञ्चालक प्रदीपकुमार उदयका अनुुसार उनको हल एक महिना हुुँदा कम्तीमा ६ लाख घाटा हुने निश्चित छ । यसमा उनले हल खुुुल्दा हुुने आम्दानी जोडेका छैनन् । त्यसैले अरूझै उनको पनि सरकारबाट आशा कर, हल भाडा, बैंकको ब्याजमा मिनाहा गर्नुपर्ने भन्ने नै हो ।
संकटपछिको अवस्था
कोरोना भाइरसको संकट समाधान भएर जनजीवन सामान्य अवस्थामा आए पनि नेपाली फिल्म क्षेत्रलाई लयमा फर्किन कम्तीमा ६ महिना लाग्ने अधिकांश हल सञ्चालकहरू दाबी छ ।
निर्मातासमेत रहेका उदय भन्छन्, ‘हिजो भूकम्प आउँदा त्यसको मनोविज्ञानले हामीलाई चार महिनासम्म असर गरेको थियो । अहिले त झन् मान्छेहरू भीडभाड भन्ने बित्तिकै कोरोना सर्छ भनेर जानै डराउँछन् । त्यसैले हाम्रो फिल्म क्षेत्र पुरानै गतिमा फर्किन कम्तीमा ६ महिना लाग्छ ।’
कोरोना भाइरसका कारण फिल्म प्रदर्शनमात्रै होइन फिल्म निर्माणका काम पनि रोकिएका छन् । फागुुन, चैत र वैशाखमा रिलिज हुने तयारीमा रहेका सम्पुूर्ण फिल्मको अब कहिले प्रदर्शन गर्ने अन्योलमा छन् ।
‘म यस्तो गीत गाउँछु २’, ‘नीरफूूल’, ‘बद्री बहादुुर’, ‘सुुस्केरा’, ‘लक्का जवान’, ‘माइकल अधिकारी’, ‘प्रेमगीत–३’, ‘चपली हाइट–३’ आदि रिलिज स्थगित भएका फिल्म हुुन् ।
चार करोड लगानी दाबी गरिएको फिल्म ‘प्रेमगीत–३’ रिलिज हुँदा आफूलाई करिब ३० लाख घाटा भएको निर्माता सन्तोष सेनको दाबी छ । ‘तोकेकै दिन रिलिज भएको भए बाहिर थुुप्रै देशबाट पैसा आउने पक्का थियो, अब त्यसमा पनि समस्या हुने देखियो,’ उनले भने ।
कोरोनाका कारण थुप्रिएर बसेका यी सबै फिल्मले अब रिलिजका लागि कुुर्ने भनेको राम्रो समय नै हो । धेरैले दसैं–तिहारलाई फिल्म चल्ने मौसमका रूपमा लिन्छन् । त्यसैले यो समय धेरै नेपाली जुध्न सक्ने सम्भावना देख्छन्, क्युुएफएक्सका सिईओ अडिगो ।
‘दसैंअघि त फिल्मको राम्रो व्यापार हुने अवस्था म देख्दिनँ,’ उनी भन्छन्, ‘तर, त्यसपछि पनि एकैपल्ट सबै फिल्म जुुध्न आउँछन् जस्तो छ । यस्तो भयो भने हाम्रै फिल्म क्षेत्रलाई घाटा हुुने पक्का छ ।’
उता आइएनआई सिनेमाज्का प्रमुुख सुरेन्द्र थापाको विश्लेषण अलि फरक छ । उनी जनजीवन सामान्य अवस्थामा फर्किएको केही महिनापछि फिल्म चल्ने वातावरण त रहेको तर त्यो अवसर नेपालीभन्दा पनि हलिउड र बलिउडले उठाउने अवस्था देख्छन् ।
‘हलिउड र बलिउडका ठूूल्ठूला मुुभिको रिलिज अहिले रोकिएको अवस्था छ । त्यसैले अर्को साल मुुभिको कमी हुुँदैन भन्ने आशा छ,’ उनी भन्छन्, ‘तर, हलमा मान्छे आउने परिस्थिति सिर्जना हुुन समय लाग्छ भन्ने हो । र, त्यो अवस्था सिर्जना भइसकेपछि पनि ठूल्ठूला हलिउड र बलिउडसँग नेपाली फिल्म जुध्न डराउँछन् जस्तो छ । यस्तो भयो भने अर्को वर्ष नेपाली फिल्मका निर्माता ठूलो मारमा पर्नेवाला छन् ।
‘सिनेमाले गति लिन कम्तीमा ६ महिना लाग्छ’
प्रदीपकुुमार उदय - पूर्वअध्यक्ष, नेपाल चलचित्र संघ
पहिले भूकम्प आउँदाजस्तै यो पटक पनि सबैभन्दा ठूलो मार फिल्म हल व्यवसायी भोग्ने पक्का छ । महामारीबाट सामान्य अवस्थामा फर्किसके पनि यो चलचित्र क्षेत्रले कम्तीमा ६ महिना गति लिँदैन । त्यसैले पनि कोरोना भाइरसको सबैभन्दा ठूलो मार फिल्म क्षेत्रमा पर्ने देखिन्छ । अहिलेको स्थितिको लकडाउन हेर्दा सिनेमा क्षेत्रले सय करोडकै घोटा बेहोर्ने देखिन्छ ।
मेरो विचारमा हल सञ्चालनमा आइसकेपछि सरकारले कम्तीमा एक वर्षसम्म फिल्मले तिर्ने कर मिनाहा गरिदियो भने त्यसले हल सञ्चालक, वितरक र निर्माता सबैलाई राहत हुुन्छ । त्यस्तै घरबेटीसँग सहजीकरण गरेर लकडाउन अवधिभरको भाडा पनि सरकारले मिनाहा गराउनुुपर्यो । बत्ती र बैंकको ब्याजमा पनि सरकारले भूमिका खेल्नुुपर्यो ।
‘एक वर्षको कर मिनाहा गर्नुपर्यो’
मधुुसुूदन प्रधान - अध्यक्ष, नेपाल चलचित्र संघ
ठ्याक्कै हिसाब गर्न त पाएका छैनौं तर देशभरिका सिनेमा हलहरूको हिसाब गर्दा हामीलाई कम्तीमा अर्बौंको घाटा हुने निश्चित देखिन्छ । देशभरि करिब दुुई सय सिनेमा हल छन् । यी हलमा हुने आम्दानीलाई बिर्सेर हल सञ्चालनको खर्चमात्रै जोड्ने हो भने करोडौंको घाटा निश्चित छ ।
हामीले लकडाउन हुुनुअघि नै अर्थमन्त्री युुवराज खतिवडालाई भेटेर राहत प्याकेजको माग गरेकै थियौं । फेरि पनि गर्छौं, हाम्रो यो नोक्सानमा सरकारले साथ दिएन भने हाम्रा हल सञ्चालकलाई हल सञ्चालन गर्न ठूलो समस्या सिर्जना हुुने अवस्था छ ।
त्यसैले हाम्रो माग के छ भने कम्तीमा एक वर्ष चलचित्र विकास बोर्डले हामीसँग विभिन्न शीर्षकमा उठाइरहेको कर मिनाहा गर्नुुपर्छ । नत्र हामीलाई गाह्रो हुुन्छ ।
दर्शकलाई विनात्रास हलसम्म ल्याउन केही उपाय त हामीले अपनाउनैपर्छ । ५ सय जना दर्शक अटाउने हलमा १ सय जनालाई मात्रै हेराएर भए पनि हल चलाउनुुपर्छ कि भन्ने पनि सोच आएको छ । तर, बैठकमा अरू साथीहरूले के भन्नुुहुुन्छ, त्यसका आधारमा यो निर्णय हुुन्छ ।
‘महिनौसम्म घाटा बेहोर्नुपर्ने अवस्था छ’
राकेश श्रेष्ठ - म्यानेजर, क्युज सिनेमाज
आम्दानी बाहेक खर्चमात्रै जोड्ने हो भने पनि हाम्रो महिनामा कम्तीमा ३० देखि ४० लाख घाटा हुने निश्चित छ । हामीसँग ३५ जना स्टाफ छन् । उनीहरूलाई तलब खुुवाउनैपर्छ । त्यस्तै मेन्टेनेन्समा खर्च हुन्छ । हल भाडा, बैंक ब्याज सबै तिर्नैपर्छ । हल भाडा छुुट गरिदिए हुुन्थ्यो भन्ने माग त छ तर खोइ अहिलेसम्म केही स्पष्ट भएको छैन । अर्थमन्त्रीज्यूले राहत दिने आशा त देखाउनुुभएको छ, तर टुुंगो छैन । हल खुुलेपछि पनि अवस्था सामान्य हुुने देखिँदैन । त्यसैले यो घाटाको श्रृंखला महिनौसम्म भोग्नुुपर्ने अवस्था छ हामीले । यसरी कसरी हल चल्छ, अन्योल छ ।