साप्ताहिक संवाददाता
लकडाउनमा कालो चिया बनाउन सिकेका कारण अभिनेत्री रीमा विश्वकर्मा दुई सातायता चर्चामा छिन् । सामाजिक सञ्जालमा उनीविरुद्ध ट्रोल बनाउने र उनलाई व्यंग्य गर्नेहरूको कमी छैन । इन्स्टाग्राममा भिडियो लाइभ आउँदा एक प्रशंसकले उनलाई ‘तपाईं हिजोआज कसरी समय व्यतित गरिरहनुुभएको छ,’ भनेर प्रश्न गरेका थिए । त्यसको जवाफमा उनले आफू खासै किचन पर्सन नभए पनि हिजोआज चिया, चाउचाउ पकाउन सिकेको अभिव्यक्ति दिएकी थिइन् ।
त्यसपछि यही अभिव्यक्तिलाई आधार बनाएर उनीविरुद्ध ट्रोल बन्ने क्रम बढ्यो । कतिले त ‘तातो पानी पनि बनाउन सिक्नुभयो कि’ भन्दै उनलाई व्यंग्यात्मक टिप्पणीसमेत गरे । ट्रोलको शिकार भएपछि रीमाले फेसबुकमा स्टाटस नै लेखिन्, ‘मैले कालो चिया बनाउन सिकेको हो, कालो बम होन । कृपया यसलाई बम नबनाउनुहोला । ’तैपनि उनलाई उडाउने क्रम रोकिएको छैन ।
सोमबार भर्चुअल लिटरेचर फेस्टिभलमा समेत उनले चिया किस्सालाई बढाइचढाइ गरेको भन्दै गुनासो गरिन् । तर, पकाउन नआउनेचाहिँ सत्य रहेको बताइन् । उनी बारम्बार स्पष्टीकरण दिइरहेकी छिन्, गुनासो राखिरहेकी छिन् । तैपनि यो लकडाउनमा उनको कालो चिया किस्सा रोकिने छाँटकाँट देखिन्न ।