साप्ताहिक संवाददाता
कोरोना भाइरसका कारण चिनियाँ कम्पनीले ठेक्का लिएका विकास आयोजना निर्माण कार्य रोकिएका छन् । नेपालका धेरैजसो विकासे आयोजना निर्माणमा कुनै न कुनै रूपमा चिनियाँको संलग्नता छ । ती आयोजनासँग जोडिएका कामदार, व्यवस्थापक, ठेकेदार र परामर्शदाता चिनियाँ नयाँ वर्ष ‘लुनार न्यू एयर’ मनाउन चीन गएका बेला कोरोना भाइरस देखिएको थियो, जसका कारण उनीहरू नेपाल फर्किएका छैनन् ।
नेपालमा रहेका चिनियाँसँग काम गर्दा कोरोना संक्रमण सर्ने डरले पनि ती आयोजनाको निर्माण कार्य प्रभावित भएको छ । चिनियाँ कम्पनीले ठेक्का लिएकामध्ये सबैभन्दा बढी आयोजना जलविद्युत्का छन् । राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेका भैरहवा र पोखरा विमानस्थल निर्माणको जिम्मा चिनियाँले लिएका थिए । तर, ती आयोजनामा काम गर्ने आधाभन्दा धेरै चिनियाँ नयाँ वर्ष मनाउन गएपछि फर्किएका छैनन् । जसले गर्दा निर्माण कार्य प्रभावित भएको छ । धेरैजसो भवन, ऊर्जा, सिचाइ र सडक निर्माण कार्यको ठेक्का चिनियाँ कम्पनीले लिएका छन् ।
भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ९० प्रतिशत काम सकिएको थियो । चैत १८ गतेसम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको सो विमानस्थल निर्माण कार्य कोरोनाका कारण अनिश्चित बनेको छ । विमानस्थल निर्माणमा खटिएका ४९ जना प्राविधिकमध्ये २७ जना चीन गएका छन् ।
निर्माण कार्य सकिनै लागेको पूर्व–पश्चिम विद्युत् आपूर्ति र ढल्केबर सवस्टेशनको निर्माण कार्य नयाँ वर्ष मनाउन गएका चिनियाँ कामदार नफर्किएका कारण प्रभावित बनेका छन् । रसुवागढी जलविद्युत् आयोजनामा काम गर्ने २ सयभन्दा बढी कामदार चीन गएका छन् । यसरी चीनसँग जोडिएका विकासे आयोजनामा कोरोना कहर देखिएको छ । अब यी आयोजनाको समय र मूल्य बढ्ने निश्चित छ ।
त्यस्तै, चीनबाट नेपाल आउने वस्तुको आयात नहुँदा तिनको मूल्य वृद्धि हुन थालेको छ । सुन र लसुनको मूल्य वृद्धि त्यसका दुई उदाहरण हुन् । बुधबारसम्म सुन तोलाको ८० हजार ५ सय पुगेको छ भने कुनै समय लसुन प्रतिकिलो ७ सयसम्म पुगेको थियो । भारतबाट आयात हुन थालेपछि लसुनको मूल्य ३ सयको हाराहारीमा छ । कोरोना प्रभावअघि लसुन प्रतिकेजी २ सय २० रुपैयाँमा बिक्री हुँदै आएको थियो ।
नेपालले चीनबाट बर्सेनि दुई खर्ब बराबरको सामान आयात गथ्र्यो । चीन कोरोनाको प्रभावमा परेपछि हाल सामान बोकेका ४ सय कन्टेनर नेपाल–चीन नाकामा रोकिएका छन् । नेपालका उद्योगका लागि आवश्यक कच्चापदार्थ पनि चीनबाट आउँथ्यो । हाल कच्चापदार्थको अभावमा नेपाली उद्योगको उत्पादन घटेको छ । फास्ट मुभिङ कन्जुमर गुड्सको कच्चापदार्थ अभाव हुँदा यतिबेला मूल्य आकासिएको छ । चाउचाउ उद्योगका लागि आवश्यक कच्चापदार्थ मोनो सोडियम ग्लुटामेटको मूल्य १ सय ८० बाट बढेर २ सय ५० रुपैयाँसम्म पुगेको छ ।
औषधि उत्पादनमा प्रभाव
औषधि उत्पादननका लागि आवश्यक कच्चापदार्थ नेपालले चीनबाट आयात गर्दै आएको छ । कोरोना संक्रमणपछि चीनबाट नेपालमा कच्चापदार्थ आयात हुन सकेको छैन । चीनबाट कच्चापदार्थ नआएपछि भारतले समेत नेपालमा निर्यात गर्न छाडेको छ । आयात गर्न चाहेको खण्डमा दोब्बर मूल्य तिर्नुपर्ने बाध्यता छ । नेपाल औषधि उत्पादक संघ नेपालमा औषधि उत्पादनका लागि ४ महिनासम्म पुग्ने कच्चापदार्थ रहेकाले आत्तिनु नपर्ने बताउँछ । संघका अध्यक्ष जी नारायणबहादुर क्षत्री लामो समय कोरोना संक्रमणको प्रभाव परिरहे नेपालमा औषधि अभाव हुने वा महँगो मूल्य तिरेर युरोपबाट भित्राइएका औषधिको उपभोग गर्नुपर्ने अवस्था आउने बताउँछन् ।
मास्कको कच्चापदार्थ पनि चीनबाटै
चीनमा कोरोना भाइरस संक्रमण फैलिएपछि नेपालबाट झन्डै ४३ लाख मास्क निर्यात भयो । विदेशबाट नेपाल आएको र नेपालमै उत्पादन भएका ती मास्क पछिल्लो डेढ महिनामा चीन पुगेका हुन् । नेपाली बजारबाट मास्क उठाएर चीन पुर्याइएपछि हाल नेपालमा भने मास्कको अभाव भएको छ । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमणको त्रास फैलिएको छ । यस्तो अवस्थामा मास्क किन्न औषधि पसल धाउने सर्वसाधारण खाली हात फर्कनुपरेको छ । पसलमा पाइने सामान्य मास्कको समेत अभाव छ । नेपालमा मासिक ३९ हजार थान मास्क उत्पादन हुन्छन् भने ५० लाखको हाराहारीमा विदेशबाट आयात भइरहेका छन् । नेपालमा मास्क बनाउन आवश्यक कच्चापदार्थ भने चीनबाट ल्याइन्छ । अहिले कच्चापदार्थ सकिने अवस्थामा छ । नेपालमा अहिले भाइरस फिल्टर गर्ने एन–१५, पेपर डिस्पोजल र एयर फिल्टर मास्कको माग बढी छ । व्यवसायीहरू अब विदेशबाट मास्क मगाएर अभाव पूर्ति गर्नुपर्ने बताउँछन् । मास्क अभावलाई मध्यनजर गर्दै नेपाल चेम्बर अफ कमर्सले सातामा ५ लाख मास्क उत्पादन गर्ने मेसिन ल्याउने प्रस्ताव सरकारसमक्ष राखेको छ । एक साताभित्र मेसिन ल्याएर मास्क उत्पादन गर्न सकिने चेम्बरका उपाध्यक्ष दीपक मल्होत्राले जानकारी दिए ।
पेट्रोलियमको मूल्य बढ्दैन
कोरोना संक्रमणपछि पेट्रोलियम पदार्थको मूल्य भने लगातार घटिरहेको छ । मंगलबारसम्म लगातार घटिरहेको पेट्रोलियम पदार्थको मूल्य बुधबारसम्म भने स्थिर छ । अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चापदार्थको मूल्यमा आएको गिरावटका कारण पेट्रोलियम पदार्थको मूल्य घटेको हो । अन्तर्राष्ट्रिय संचार माध्यमकाअनुसार यस वर्ष तेलको कच्चा पदार्थको मूल्यमा ३० प्रतिशतसम्म गिरावट आएको छ । पेट्रोलियम पदार्थको मूल्य निरन्तर ओरालो लागेपछि भारतमा डिजल र पेट्रोलको मूल्य घटेको छ । इन्डियन आयल नियमका अनुसार बुधबार साँझसम्म दिल्लीमा पेट्रोल प्रतिलिटर ७१.४४ र डिजल ६४.३ रुपैयाँमा बिक्री–वितरण भइरहेको छ । कोरोना संक्रमणका कारण तेलको माग कम भएपछि मूल्य वृद्धि घटेको हो ।
नेपालमा भने पेट्रोलियम पदार्थको मूल्यमा कुनै परिवर्तन भएको छैन । जानकारहरूका अनुसार विश्व बजारमा यसको मूल्य ओरालो लागिरहेकाले नेपालमा पनि बढ्ने सम्भावना छैन । कोरोना संक्रमणले नेपालका विविध क्षेत्रमा प्रभाव पारिरहेको अवस्थामा पेट्रोलियम पदार्थमा मूल्य वृद्धि नहुँदा केही भए पनि राहत महसुस हुनेछ । हाल नेपालमा पेट्रोल प्रतिलिटर १०८ र डिजल ९७ रुपैयाँ रहेको छ । गत वर्षमात्र नेपालमा २ खर्ब ६३ अर्बको पेट्रोलियम पदार्थ बिक्री भएको थियो ।
स्पेनमा नेपालबाट फर्किएका पर्यटकको मृत्यु
नेपाल भ्रमण गरेर फर्केका स्पेनका एक नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । फेब्रुअरी १३ मा मृत्यु भएका ती व्यक्तिको पोस्टमार्टमपछि कोरोना संक्रमण पुष्टि भएको थियो । डेली मेलले जनाएअनुसार भ्यालेन्सियाका ती व्यक्ति नेपालबाट फर्किएलगत्तै बिरामी परेका थिए । उनको नाम भने खुलाइएको छैन । उनमा नेपाल छँदै संक्रमण भएको थियो वा नेपालबाट गएपछि भन्ने पनि खुलेको छैन । स्पेनमा कोरोनाका कारण मृत्यु भएको यो पहिलो घटना हो ।
विद्यालय परीक्षा चैत ५ भित्रै सक्न सरकारको निर्देशन
सरकारले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा आगामी चैत ५ गतेभित्र सम्पन्न गर्न विद्यालयहरूलाई आग्रह गरेको छ । शिक्षा मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरेर कोरोना संक्रमणमा सतर्कता अपनाउनुपर्ने भएकाले सो समयमा परीक्षा सम्पन्न गर्न निर्देशन दिएको हो । साथै विद्यालयमा सभा–समारोह र वार्षिकोत्सवसमेत नगर्न सरकारले आग्रह गरेको छ । चिकित्सकहरूले विद्यार्थीलाई परीक्षापछि एक महिना सार्वजनिक बिदा दिन सरकारलाई सुझाव दिएका छन् । सरकार चिकित्सकहरूको सल्लाह ग्रहण गर्ने तयारीमा छ । चैत ६ गतेदेखि एसईई परीक्षा हुँदैछ ।
त्रास बढ्दै, सतर्कता पनि बढ्दै
विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणको अति जोखिमयुक्त मुलुकमा नेपाललाई पनि राखेपछि संक्रमणको त्रास मानिसमा फैलिएको हो । घरबाहिर निस्कदा नेपालीले संयमता अपनाउन थालेका छन् । बाटोमा मास्क लगाएका मानिसहरू मात्र भेटिन्छन् । सभा, पार्टी, सम्मेलनहरू स्थगित भएका छन् । कार्यालयहरूमा मेसिन गनले कर्मचारीको ज्वरो नाप्न थालिएको छ । विमानस्थलबाट नेपाल भित्रिने यात्रुको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । नेपालीलाई विदेश जानमा पनि रोक लगाइएको छ । सरकारले संयमता अपनाउनका लागि नागरिकमा अपिल गरिरहेको छ । बुधबार साँझसम्म नेपालमा कोरोनाको संक्रमण देखिएको छैन । संक्रमण देखिएको अवस्थामा रोकथामका लागि नेपालले ठूलै प्रयास गर्नुपर्ने हुन्छ । त्यसैले संक्रमण फैलनुअघि नै विशेष ध्यान दिनुपर्ने पक्षमा सरकार देखिएको छ ।