साप्ताहिक संवाददाता
हास्य कलाकार जितु नेपालले चुनावी देउसी–भैलो मात्र होइन, आशिकसमेत तयार पारेका छन् ।
चुनाव आयो आँगन, नेताका लागि भोट माग न ।
हे औंसीको बारो गाईतिहारो भैलो ।
…हाम्रा नेता कस्ता छन् भत्ता पचाउलान् जस्ता छन् ।
हे औंसीको बारो गाईतिहारो भैलो ।
यो घर हेर कस्तो छ ? घूस खाएर बना’को जस्तो छ ।
हे औंसीको बारो गाईतिहारो भैलो ।
घरबेटी बाजे कस्ता छन् ? टिकट पाएनन् जस्ता छन् ।
हे औंसीको बारो गाईतिहारो भैलो ।
पार्टीलाई सहयोग गरेछन्, समानुपातिकमा परेछन् ।
हे औंसीको बारो गाईतिहारो भैलो ।
घरभेटी आमै कस्ती छिन्, रेखा थापाजस्ती छिन् ।
छोराले फोटो लाइक गर्यो, बाउ चैंको लभ पर्यो ।
हे औंसीको बारो गाईतिहारो भैलो ।
छोरी च्याटमा व्यस्त छिन् आमाले फोटो सेयर गरिन् ।
हे औंसीको बारो गाईतिहारो भैलो ।
घोडा बाँध्ने तबेला, संविधानमा सधैं झमेला ?
हे औंसीको बारो गाईतिहारो भैलो ।
छानामाथि घिरौंला, कसरी जित्छौ हेरौला ।
हे औंसीको बारो गाईतिहारो भैलो ।
दिने भए चन्दा देऊ, नदिने भए
पार्टी छोडिदेऊ ।
हे औंसीको बारो गाईतिहारो भैलो ।
देउसी
ए... भन भन जनता– के भन्नी
ए... सर्वमान्य संविधान– बना भन्नी
ए ... घरघरमा नेता– आउँदैछन्
ए ... भोट माग्न– धाउँदैछन्
ऐ... टिकट पाउने– मख्खै छन्
ऐ... रेखा थापा– बन्ने काम
ए ...भुवन केसी– दण्डाराम (ठण्डाराम)
ए ... छोरा–बुहारी– प्रत्यक्ष
ए ... नाता–गोता– प्रत्यक्ष
ए ... समानुपातिक– अलपत्र
ए ... पुराना नेता– उही ठाउँमा
ए...ठूला नेता– दुई ठाउँमा
ए... साना नेता– भिड्दैछन्
ए...बाजा बजाई– हिंड्दैछन्
ए... पार्टी पार्टी– झगडा
ए...अब आन्दोलन– चाहिँदैन
ए...चुनाव भाँडन– पाइँदैन
ए...हाम्रा नेता– गम्भीर छन्
ए...बेला–बेला चुनाव– सम्झिन्छन्
ए...कमिसनमा– रमाउँछन्
ए...ठूलै पार्टी– समाउँछन्
ए...अख्तियारमा– भयो जाम
ए...कसलाई थुन्नी– आफैं जान
ए...नेतालाई पनि– कारबाही गर
ए...एउटै पार्टीको– भर नपर
ए...नेपाली फिलिमको– भर छैन
ए...निर्माताको– घर छैन
ए...हिरोइन लुगा– लगाउँदैनन्
ए...लाउनीले काम– पाउँदैनन्
ए... हेर्नै गार्हो– भैसक्यो
ए...कट्टु माथि– गैसक्यो
ए...फिलिम चल्ने– रेखाको
ए...कि त चल्छ देखाको ।
आशिक
ए...यसै घरको– बहाल आओस्
ए...महानगरले– चाल पाओस् ।
ए...बाटामा– घर परोस्
ए...बाटो झन्झन्– नबढोस
ए...तुरुन्तै गाडी– गैहालोस्
ए...आईसी छुँदा– डलर होस्
ए... चाँदी छुँदा– कलर होस्
ए...सुनको भाउ– नझरोस्
ए...तामा मिसाउन– नपरोस्
ए...डिजेल–पेट्रोल– सस्तो होस्
ए...खाडी मुलुकमा– जस्तो होस्
ए...मापसेमा– नसमातियोस्
ए...लाइसेन्समा प्वाल– नपरोस्
ए...छोरीले कट्टु– नलगाऊन्
ए... छोराले पाइन्ट– नकाटून्
ए... धारामा पानी– आइरहोस्
ए...बत्ती बाल्न– पाइरहोस्
ए...सजिलै भोट– हाल्न पाइयोस्
ए...नराम्रो नेता– फालियोस्
ए... भ्रष्ट नेताको– काम छैन
ए...संसद् भवनमा– ठाउँ छैन
ए... मंसिरको चुनाव– आइसक्यो
ए...चुनावको बजेट– खाइसक्यो
ए...राम्रा नेता– विजयी हुन्
ए... नराम्रा नेता– गुल्टिऊन्
ए...कसैले उजुर– नगरोस्
ए...रुमालले मुख छोप्न– नपरोस्
ए... जनताको एकता– नटुटोस्
ए... पहिलेको सम्बन्ध– नफुटोस् ।