साप्ताहिक संवाददाता
तलेजु
काठमाडौं हनुमान ढोका दरबार परिसरमा रहेको तलेजु भवानीको मन्दिर वर्षको एक दिन मात्र खुल्छ । दसैंको महानवमीका दिन मात्र खुल्ने यो मन्दिरमा भक्तजनको ठूलो घुइँचो हुन्छ । तुलजा भवानीलाई दैवी शक्ति वा मातृशक्तिका रूपमा पुजिन्छ । काठमाडौं उपत्यका बाहेक साँखु, फर्पिङ, कीर्तिपुर, ठिमी, चापागाउँका साथै नुवाकोट, पनौती र दोलखामा पनि तुलजा भवानीको मन्दिर छ । मल्ल राजाहरूले तलेजु मन्दिरलाई निजी प्रार्थना स्थलका रूपमा विकास गरेका थिए । दसैंको सप्तमीका दिन मन्दिरबाट भवानीलाई हनुमानढोका दरबारको मूलचोकमा ल्याएर राखिन्छ । नवमीका दिन मूलचोकबाट भवानीलाई फेरि मन्दिरमा पुर्याइन्छ र दिनभर पूजा अर्चनाका लागि सर्वसाधारणका लागि खुला गर्ने परम्परा छ ।
नवदुर्गा
भक्तपुरस्थित नवदुर्गा भवानीको मन्दिर चर्चित शक्तिपीठ हो । यो मन्दिरमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुख पुगेर दर्शन गर्ने पुरानो चलन छ । मन्दिरमा प्रत्येक वर्ष नवमीको राति नवदुर्गा गणलाई बलि दिई महिषासूरको प्रतीकका रूपमा मन्दिरमा पालेर राखिएको राँगा बलि दिने चलन छ । यहाँप्रत्येक वर्ष लिच्छविकालीन नवदुर्गा जात्रा सञ्चालन गरिन्छ ।
भद्रकाली
काठमाडौंको मध्यभागमा अवस्थित भद्रकालिको मन्दिरमा चाडपर्वका बेला विशेष भीड लाग्छ । श्रीमद्भागवत महापुराणमा समेत उल्लेखित भद्रकाली निकै प्रसिद्ध मन्दिर हो । दुर्गाकवचमा उल्लेख भएअनुसार भगवतीका अनेक अवतारमध्येको भद्रकालीमा नवरात्रका दिन विशेष पूजा गरिन्छ ।
नरदेवी
काठमाडौंको मध्यभागमै रहेको नरदेवीमा पहिले–पहिले मानिसहरूकै बलि दिइने हुनाले यी देवीको नाम नरदेवी राखिएको किंवदन्ती छ । नरदेवी न्युरोड–इन्द्रचोकबाट नजिकै पर्छ । नरदेवीको आराधना गर्नाले सुख, समृद्धि एवं मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । यहाँ पञ्चबलि दिने चलन छ ।
संकटा
हालको काठमाण्डु मल अर्थात् नेपाल वायुसेवा निगमको कार्यालयपछाडिको टेबहाल गल्लीमा प्रसिद्ध संकटा भगवतीको मन्दिर छ । संकटा मन्दिरको पहिलो तल्लामा संकटा देवीको मूर्ति छ भने तल्लो तल्लामा करुणामय अवस्थित छन् । यो मन्दिरमा विशेष गरी शनिबार तथा दसैंका बेला भक्तजनको ठूलो भीड लाग्छ ।
नक्साल भगवती
यो मन्दिरमा सोर्ह भूजायुक्त देवीको मूर्ति छ । भगवती दुर्गाकै रूपमा पुजिने नक्साल भगवतीप्रति भक्तजनहरूको ठूलो आस्था पाइन्छ ।
बालकुमारी
ललितपुरका नेवारहरूले विशेष रूपमा मान्ने देवी हुन्— बालकुमारी । यहाँ घोडेजात्राको भोलिपल्ट एक्लो घोडा कुदाउने जात्रा समेत सञ्चालन गरिन्छ । बडादसैंका बेला यहाँ भक्तजनको भीड ठूलो लाग्छ ।
बगलामुखी
पाटन दरबारबाट उत्तरमा अवस्थित बगलामुखी मन्दिरमा नवरात्रका दिन विशेष पूजा आराधना गरिन्छ । बिहीबारका दिन विशेष भीडभाड हुने यो मन्दिरलाई ठूलो शक्तिपीठका रूपमा लिइन्छ । तन्त्रशास्त्रका दस महाविद्यामध्ये बगलामुखी पनि एक हुन् भन्ने जनविश्वास छ ।
विजेश्वरी
काठमाडौंको विष्णुमतीको पूर्वी किनारमा रहेको विजेश्वरी भगवतीको मन्दिर गुणकामदेवले निर्माण गराएका हुन् । यहाँ खटयात्रासमेत गर्ने चलन छ । यो मन्दिरमा बडादसंैका विशेष भीडभाड हुन्छ ।
ब्रह्मायणी
भक्तपुर च्यामासिहंस्थित ब्रह्मायाणी मन्दिरमा दसैंमा विशेष पूजा गरिन्छ । मन्दिरमा जमरा, हाँसको अन्डा, हाँस, बोका साथै कुखुराको बलि दिने चलन छ । नवमीको दिन यहाँ राँगोलाई मताएर बध गरेपछि जात्रा निकालिन्छ । जात्राका दिन भक्तजनहरू घिस्रिंदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ वटा दीप बालेर मन्दिरसम्म जाने चलन छ ।
गुह्येश्वरी
पशुपतिनाथ मन्दिरनजिकैको गुहेश्वरी बागमती नदीको दक्षिणी किनारमा छ । सतीदेवीको गुह्य पतन भएको ठाउँमा उत्पत्ति भएकी देवी भएकाले यहाँ कुनै मूर्ति छैन । मन्दिरभित्र एउटा सानो प्वाल मात्र छ र त्यहाँ कलश राखिएको छ । यहाँ दसैंको घटस्थापना देखि नै विशेष पूजा हुन्छ ।
मैतीदेवी
काठमाडौंको ज्ञानेश्वरबाट मैतीदेवी चोकतिर आउँदा देब्रेतिर पर्ने मैतीदेवी मन्दिरमा चाडवाडका बेला विशेष भीड लाग्छ । त्यहाँ अंशु वर्माको समयदेखिका मूर्ति तथा शिलालेखहरू पाइन्छन् । यो मन्दिरमा तान्त्रिक विधिबाट पूजाआजा हुन्छ भने मैतीलाई साक्षात् देवी मानिन्छ ।
कालिकास्थान
काठमाडौंको डिल्लीबजारस्थित कालिकास्थान मन्दिरमा कालिको मूर्ति राखिएकाले वरिपरिको ठाउँलाई नै कालिकास्थान भन्न थालिएको हो । दुई तलाको कालिकास्थान मन्दिरको माथिल्लो तलामा कालिको मूर्ति छ भने तल्लो तला पूजारी बस्छन् । यहाँ विशेष गरी दसैंको अवसरमा श्रद्धालुहरूको भीडभाड हुन्छ ।
शोभा भगवती
काठमाडौंको प्रसिद्ध धार्मिक स्थलमध्ये शोभा भगवतीको पनि विशेष महत्व छ । बालाजु तथा क्षेत्रपाटी बाट नजिकै पर्ने शोभा भगवतीको मन्दिर विष्णुमती नदीको किनारमा अवस्थित छ । यहाँ नवरात्रिमा मेला लाग्छ । भक्तजन शुभकार्य सुरुवात वा पदोन्नतिको मनोकांक्षा लिएर यो मन्दिर पुग्छन् ।
हरिसिद्धि
ललितपुरको ऐतिहासिक बस्तीमा अवस्थित हरिसिद्धी मन्दिरमा चाडबाडको समयमा ठूलो भीड लाग्छ । गाईजात्राको भोलिपल्ट यहाँ पानीमा मनाइने विशेष जात्रासमेत हुन्छ । दसैंमा पनि यहाँ विशेष पूजाआजा गर्ने चलन छ ।
महालक्ष्मी
गुणकामदेवले स्थापना गरेको ललितपुरको लगनखेलस्थित महालक्ष्मीको मन्दिर चाडबाडमा खचाखच हुन्छ । हिन्दूहरूका ठूला त्रिदेवसरह महाकाली, महालक्ष्मी र महासरस्वतीलाई मानिन्छ । यहाँ चाडबाडका बेला भक्तजको ठूलो घुइँचो लाग्छ ।