“तिमीलाई हङकङ पुर्यायो आईडी काडैले, मलाई घाईते बनायो तिम्रै आईडीले”.....लगभग एकदशक अगाडी श्रृजित यो गीतको भाव आज पनि उत्तिकै वास्तविक लाग्छ । हङकङप्रतिको मोहकै कारण धेरैको सम्पती मात्र हैन, निस्वार्थ माया गर्ने हजारौं मनहरु तोडिएको छ । आईडीकै कारण बनावटी मन र प्रेमको अदभूत झुटो अभिनयको पराकाष्ट पनि ।
हङकङ आफैमा प्रेमको प्रतिक होईन, बरु हङकङ जस्तै हरेक विदेशी भूमि प्रेमको विपरित हुन सक्छन् जसले समयसमयमा विछोड, घृणा, तिरस्कार र बेथितीको छालहरु फैलाईरहन्छ । माया गर्ने मनले विछोडको कल्पना गर्न सक्दैन, तर पनि छुट्टिन्छ प्रेमील आत्माहरु । मायाले मात्र जीवन चल्दैन त्यसका पछाडी अनेकन अवयवहरु छन् जसले मायालाई पुर्नेताजकी बनाई राख्छ त्यसकै लागि विछोडिनु बाध्यता या आवश्यकता बनिदिन्छ ।
के पैसाले प्रेम किन्न सकिन्छ ? सवैको उत्तर सकिदैन भन्ने नै आउछ तर जीवन र प्रेमको अनेकन मोडमा पैसा कता न कता आवश्यकीय बनेर आईदिन्छ । हङकङ र आईडी नङ र मासुको सम्बन्ध भएको निर्जिव बस्तुहरु हुन् जसले चीनको स्वशासित क्षेत्र हङकङमा बसोबासका लागि अनुमति प्रदान गर्छ । आईडीको प्राप्तिसगै नागरिक सरह सेवा सुविधाका साथै आकर्षक कमाई नै हङकङको प्रमुख आकर्षण हो ।
विभिन्न देशका मानिसहरुको ब्यापार ब्यवसायको हव भएकाले पनि सम्भावना प्रचुर भएको देश हो हङकङ । यदि तपाईमा क्षमता, लगाव, सीप र लगानी गर्ने पुाजी छ, भने हङकङ एउटा उत्कृष्ट अवसर हुन सक्छ । वैकिंक सिस्टम र पर्यटकिय दृष्टिकोणले गर्दा पनि ब्यापारको लागि प्रचुरमात्रामा विदेशी लगानी हङकङ भित्रिन्छ ।
हङकङमा स्थायीरुपमा ७ बर्ष बसेपछि यहाको सिटिजनसीप (आईडी कार्ड) प्राप्त हुन्छ, यहि आईडीको वेचविखनमा लिप्त गिरोहकै कारण कतिले घरबार बिगारेका छन् भने कतिले भएभरको सम्पती ।
मलाई हङकङ लान्छु भन्दै लाखौ रुपैयाँ एडभान्सकोरुपमा दिए तर अहिलेसम्म लगेको छैन, मलाई जस्तै धेरैलाई हङकङ लान्छु भन्दै पैसा कुम्लियाएको रहेछ अहिले सम्पर्कमा छैन ।
डिपेन्डेन्सी दिन्छु भन्दै हङकङ ल्यायो, पैसा पनि अगाडी नै सवै दिए अहिले भिषा थप्ने बेलामा फेरि पैसा माग्छ ।
नक्कली विवाह गरेकै कारण श्रीमान दुखि हुनुभयो । ७ बर्ष हङकङमा आईडीको लागि दुख गरे तर अन्त्यमा छोराछोरी श्रीमान कोहि पनि मेरो आफ्नो भएनन् ।
हङकङ लान्छु,, आईडी दिलाउछु भन्दै झुटो प्रेम गऱ्यो मलाई, मेरो ईज्वत पनि गुम्यो अव कसरी समाज सामु मुख देखाउनु ?
यस्ता कुण्ठाका स्वरहरु यत्रतत्र सुनिन्छन् कति बाहिर आउछन् कति भित्रै दविन्छन् । यि त भए प्रतिनिधी पात्र मात्र । आईडी पाउनकै लागि विवाह गरिन्छ, सिउदोमा सिन्दुर हालेर, प्रेमी बनेर मिठा मिठा कुराकानीका म्यासेजहरु लेखिन्छन, फोटोहरु खिचिन्छन सवै नक्कली ।
सरकारसामु देखाईएको नक्कली प्रेम कागजीरुपमा सक्कली बनिदिन्छ, अन्त्यमा मान्छेले पाउछ फगत हङकङ बस्ने अनुमति । पैसा र सम्पन्नताको लागि आफ्नो मान्छे कागजीरुपमा अरुकै बनिदिदा पक्कै पनि मन दुख्दो हो ।
हामी विदेशी पर्व भ्यालेन्टाईन डे (प्रेम दिवस) मनाउदैछौ । धेरैले अर्काको संस्कृति नेपालीहरुले किन मनाउनु भनेर विरोध पनि गरिरहनु भएको छ । तर प्रेमले न देश भन्छ न भाषा संस्कृति, यसले मात्र ह्दयको भाषा बोल्छ अनि बुझ्छ पनि ।
पछिल्लो समय हङकङमा नक्कली विवाह गरिएको सम्बन्ध समाचारहरु आए, धेरैले सामाजिक सञ्जालमा सचेतनाको लागि सेयर गर्नुभयो, आजको दिवसमा हामी यहि सेरोफेरोलाई नियालिरहेका छौ । समाचारमा सम्प्रेषण गरिएको नेपाली शब्दले सवैको मन पोल्यो । गलत काममा आफ्नो समुदाय मुछिएको प्रति धेरैले चासो र चिन्ता ब्यक्त गर्नुभयो ।
किन लाखौं, करौडौ खर्च गरेर हङकङ आउन चाहन्छ मान्छे ? अत्याधुनिक शहर, स्वतन्त्रता र विदेशको रंगिन सपना सवैको मनमा हुन्छ । हातमा डिग्रीको प्रमाणपत्र बोकेर लगाएको जुत्ता फाटुञ्जेल विभिन्न कम्पनीको ढोकाढोका पुगेर पनि न्यूनतम ज्याला समेत नपाउदा धेरैको ध्यान विदेशले अवश्य तान्छ । फेसबुकमा देखिएका चिल्ला सडक र समुद्रको दृश्य अनि तुलनात्मकरुपमा राम्रो कमाईले स्वदेशमा बस्ने हरेकले रंगिन सपना देखेका हुन्छन् । यतिले मात्र हङकङ बसाई सुरम्य बन्दैन ।
तपाई नक्कली सम्बन्धमा मजबुत प्रमाणपत्र बोकेर हङकङ आउनुहुन्छ, सवै समयअनुसार राम्रै भयो भने त्यो तपाईको भाग्य तर तपाईको नक्कली प्रेम र विवाह सवैको सामु नक्कली बनिदियो भने ? तपाई जसको लागि यति टाढा आउने सपना सजाउनु भएको छ, उनको मनमा तपाईप्रति घृणा पलायो भने ? जसलाई पैसा र समयले किन्न सकिन्न ।
बिट्रिस साम्राज्यबाट विकसित हङकङ चीनको स्वासाशित बनेर मुस्कुराईरहदा अनेकन रुवरुपहरु परिवर्तन भए, सगै नेपाली सपना र आईडीको मोह पनि ।
लाहुरेको शहर भनेर चिनिने हङकङको आफ्नै गौरवमयय ईतिहास छ । वीर गोर्खालीको साखलाई अझैपनि मर्न दिएका छैनन हङकङका केहि नेपालीहरुले । सुरक्षाकोरुपमा बलिष्ठ र कर्मनिष्ठ मात्र नभएर ब्यापार, ब्यवसाय र शिक्षाको क्षेत्रमा पनि अब्बलरुपमा आफुलाई अग्रसर बनाईरहेका छन् नेपालीहरु । यहि जन्मे हुर्केका नेपाली युवाहरुको सफलताबाट सिङो देशले नै गौरव गर्न सक्नुपर्छ ।
प्रेम दिवसको शुभकामना । फेरि पनि आईडीको मोहले कसैको जीवन वर्वाद नगरोस् । नक्कली प्रेम र विवाहको कारण कसैको मन कहिल्यै नफर्किने गरि नतोडियोस ।