साप्ताहिक संवाददाता
महिलाहरू पहिरनका सौखिन हुन्छन् । त्यसमा पनि तीजमा उनीहरू थप आकर्षक देखिन चाहन्छन् । पहिले जस्तै रातै सारी लगाएर नबसे पनि रातो कलरमा विभिन्न कलरको कम्बिनेसनका सारी, लेहेंगा, सरारा कुर्ता सुरुवाल, लङ कुर्ती अहिले तीजका लागि धेरैको रोजाइमा पर्छन् । तस्बिरमा देखिएका तीजका पहिरन केही प्रतिनिधि परिहन मात्र हुन् । मुख्यत : तीजमा लगाइने पहिरन ३ हजारदेखि १५ हजार रुपैयाँसम्मका छन् ।
पोते
पोतेलाई विवाहित महिलाको मौलिक पहिचान मानिन्छ । अझ रातो पोतेले त अनुहार नै उज्यालो बनाउँछ । रातो रंगलाई शक्ति तथा ऊर्जाको प्रतीक मानिन्छ । तीजलाई लक्षित गर्दै अहिले बजारमा विभिन्न डिजाइनका पोते उपलब्ध छन् । रातो, पहेंलो, हरियो तथा गुलाबी रङका पोतेले वातावरणलाई नै तीजमय बनाऊँछन् । अहिले बजारमा साधारण एक लुङेदेखि लिएर अंगुर आकार, चक्रमाला, माछी काँडा एवं त्रिस्टलका पोतेहरू भित्रिएका छन् । आफूले लगाएको साडीसँग मेल खाने पोते लगाउने चलन समेत बढ्दो छ ।
छड्के तिलहरी
छड्के तिलहरीे पुरानै डिजाइनमा आधारित छ । यसले नेपाली परम्परा एवं सभ्यताको परिचय दिन्छ । तिलहरीलाई विवाहित महिलाको सौभाग्यको प्रतीक मानिन्छ । पुरुषहरूले जनै लगाएजस्तै महिलाहरूले यसलाई बायाँ साइडबाट दायाँ छड्के गरी लगाउँछन् । तिलहरी नेपाली महिलाको परिचायकसमेत हो । तिलहरी धेरैजसो हरियो र रातो रङको पोतेमा उनिन्छ र यसलाई आधा तोलादेखि तीन–चार तोलासम्म सुनमा तयार पारिन्छ ।
गहना
तीजका बेला महिलाहरू गरगहनामा सजिन रुचाउँछन् । अहिले विभिन्न डिजाइनका नवरत्नका हार, चन्द्र हार, रानी हार, सिक्का हार आदि लगाउने चलन छ । त्यससँगै नौगेडी, तिलहरी आदि पनि लगाइन्छ । हारका साथमा सुनका चुरा, इयररिङ, शिरबन्दी, शिरमा चन्द्रमा तथा फूलका क्लिपहरू पनि उत्तिकै प्रयोग हुन्छन् ।
धागो
तीजको रमझमसँगै धागोको महत्व पनि बढ्छ । अरु बेला बिरलै देख्न पाइने धागोले तीजका दिन भने प्रायः महिलाको केशको शोभा बढाउँछ । लामो अथवा छोटो जस्तोसुकै केशमा प्रयोग हुने धागोले पूर्णरूपमा नेपाली परम्परा तथा संस्कृतिको आभास गराउँछ । धागोमा पोते, सलमा मोती तथा सितारा जडिएको हुन्छ । नेपालमै बनाइने यो धागो प्रायः कालो र रातो रङको हुन्छ । धागो १ सय रुपैयाँ देखि ५ सयसम्ममा खरिद गर्न सकिन्छ ।
ब्याग
तीजका बेला महिलाहरू मोबाइल, मेकअपको सानो किट्स तथा केही पैसा अट्ने पोल्टी बोक्न रुचाउँछन् । यस्तो पोल्टी पहिरनअनुसार बनाउने चलन पनि छ । यसको मुल्य साधारणतया २ सय ५० देखि १५ सय रुपैयाँसम्म पर्छ ।
टीका
सौभाग्यको प्रतीक टीकाले नारी सौन्दर्यलाई उजागर गर्छ । दुई आँखीभौंका बीचमा लगाइने टीकालाई महिलाको तेस्रो आँखा मानिन्छ । यसलेसुख–शान्ति एवं समृद्धिको संकेत दिन्छ । परम्परागत रूपमा टीका रातो अथवा कलेजी रङमा प्रयोग गरिन्थो, तर अहिले टीकाका सयौं रंग, डिजाइन तथा आकार बजारमा उपलब्ध छन् । टीकामा स्टोन राखिएको डिजाइन विशेषतः तीजका बेला बढी रुचाइन्छ ।
चुरा
चुरालाई नेपाली नारीको मौलिक पहिचान र शुभमंगलका साथै नारी सौन्दर्य प्रवर्द्धक मानिन्छ । तीजका बेला दर खान जाने ठाउँमा र दर खान बोलाउँदा अन्य सामग्रीका साथ चुरा पनि उपहार दिने चलन छ । नेपाली बजारमा भएका चुरा भारत, पाकिस्तान, बंगलादेश आदिबाट आयात हुन्छन् । पहिले बढी मात्रामा काँचको चुरा प्रयोग हुन्थ्यो भने अहिले लाख, मेटल, रबर, सीप, प्लास्टिक, टेराकोटा, माटो आदिका चुरासमेत बजारमा उपलब्ध छन् । पहिले रेसमका सादा चुरा सबैको रोजाइमा पर्थे तर अहिले वर्क गरिएका चुरा धेरैको रुचिमा पर्छन् । अहिले फेसनेबल चुराको माग पनि बढ्दो छ । हरियो र रातो रङमा उपलब्ध मेटल बेस चुरा हेर्दा निकै आकर्षक देखिन्छन् । बजारमा मोति भरिएका चुरा समेत किन्न सकिन्छ । साधारणतया : चुरा दर्जनको ५० रुपैयाँदेखि ६–७ सयको हाराहारीसम्ममा पाइन्छ ।
जुत्ता
अहिले फेसन पारखी महिलाहरू जुत्तामा पनि उत्तिकै चुजी छन् । तीजका बेला सकेसम्म सजिलो जुत्ता लगाइन्छ । नाचगान गर्ने तथा मठमन्दिर जाने पर्व भएकाले तीजमा रातो मलमलको सितारा तथा मोतीजडित जुत्ता धेरैको रोजाइमा पर्छन् । त्यस्तै दर खान जाँदा न्युड, रेड, मरुन तथा गोल्डेन कलरमा हिल जुत्ताहरू लगाइन्छ । मखमलका जुत्ता ३ सय ५० देखि १८ सय रुपैयाँसम्ममा पाइन्छ भने हिल जुत्ता १५ सयदेखि ५–६ हजार रुपैयाँसम्ममा उपलब्ध हुन्छ ।
स्रोत : गहना (बराह ज्वेलरी इन्डस्ट्री, न्यूरोड)
पहिरन : सुन्दरी सारी एण्ड कुर्ता, मख्खन
एसेसरीज : सबाब चुरा पसल, नक्साल