तीजलाई महिलाहरूको उन्मुक्तिका रूपमा मनाइने पर्व मानिन्छ । समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन देखा परेको छ । हिजोआज तीज गीत निकै भड्किला हुन थालेको भन्दै सरोकारहरूको चिन्ता बढ्न थालेको छ । महिलाहरूका वेदना गीतमार्फत साटासाट गर्ने परम्परा अहिले केही परिवर्तन हुँदै गएको छ ।
परापूर्वकालमा तीजको समयमा बुहारीलाई सासू, नन्द, आमाजू आदिले गर्ने व्यवहार नै गीतमार्फत व्यक्त हुन्थे । अहिलेको आधुनिक समयजस्तो विद्युतीय उपकरण, मल्टिमिडिया नभएको अवस्थामा तीजको व्रत बस्ने दिन गाउँघरका महिलाहरू जम्मा भएर गीत गाउँथे । पहिले तीजका गीतमा छोराछोरीबीचको विभेद, पीडा, घरमा बुहारीहरूप्रति गरिने व्यवहार, कचकच, दुःख, ईर्ष्याजस्ता विषयमा गीत तयार पारिन्थे ।
अहिलेको समयमा फरक शैलीमा तीज गीत तयार हुन थालेको संस्कृतिविद् जगमान गुरुङ बताउँछन् । समयको परिवर्तनसँगै नारीहरू पनि स्वतन्त्र हुन थालेपछि नारीका वेदना, पीडाका गीत पनि सुनिन छाडेको गुरुङको अनुभव छ । गुरुङ भन्छन्, ‘परापूर्वकालमा सानो उमेरमा बिबाह गरेर पराइघरमा जाने र वर्ष दिनको तीजमा मात्र माइत आएर पीडा सुनाउने अवस्था अहिले छैन, त्यसैले पनि गीत–संगीतमा पनि परिवर्तन हुँदै गएको छ ।’ आधुनिकताले गीत–संगीतलाई पनि आधुनिकतातर्फ नै डोर्याउन थालेको गुरुङको धारणा छ ।
१३ वर्षकै उमेरमा विवाह गरेर पराई घर गएकी भक्तपुर निवासी ७० वर्षीया सरस्वती कँडेल तीजमा मात्र माइत आउँथिन् । त्यो समयमा उनले तीजलाई माइत जाने पर्वका रुपमा बुझेकी थिइन् । उनले करिब तीन दशक अघिको तीज सम्झिँदै तीजको दिन ताली बजाउदै गीत गाउने गरेको बताइन् । त्यो समयमा माइतीमा सबै जम्मा भएर वर्ष दिनका दुःख–पीडा गीतमार्फत व्यक्त गर्ने गरेको अनुभव उनले सुनाइन् । कँडेल भन्छिन्, ‘त्यो अवस्थामा सासूले बुहारीलाई दिएको पीडा पनि गीतमार्फत व्यक्त गरिन्थ्यो ।’ तीजमा दाजुभाइका साथमा माइती गएर चौतारीमा मादल बजाउँदै मनका पीडाहरू पोखेको उनको मानसपटलमा अझै ताजै छ । कँडेलले भनिन्, ‘सानै उमेरमा विवाह हुन्थ्यो घरको कामले फुर्सद नै नहुने, त्यो समयमा हाम्रा लागि तीज एउटा यस्तो पर्व थियो जुन दिन माइतीमा चराजस्तै भएर स्वतन्त्रतापूर्वक नाचगान गर्न पाइन्थ्यो ।
सरस्वती अहिलेको अवस्थाका गीत–संगीत सुन्दा तीजको मौलिकता हराए जस्तो लाग्ने कुरा बताउँछिन् । कँडेल भन्छिन्, पहिलेको जस्तो आजकाल चेलीका वेदना सुनिन छाडे, तीजको नाममा सुन्न नसकिने गीत पनि आउन थालेका छन् । आजभोलिको तीज उनलाई गरगहना देखाउने आडम्बरी तीज हुन थालेको समेत लाग्न थालेको छ । सरस्वती भन्छिन्, ‘यस्तै शैलीमा तीजका गीत बन्न थाले भने भोलिको पुस्ताले कस्तो संस्कार सिक्लान् ?’
लामो समयदेखि तीज गीत गाउँदै आएकी गायिका हरिदेवी कोइराला भने तीज गीतको छुट्टै महत्व रहेको बताउँछिन् । कोइरालाका अनुसार पहिलेको तीजलाई नारीहरूको स्वतन्त्रतासँंग जोडेर मनाइन्थ्यो र नारीहरूले आफूले पाएका पीडाहरू व्यक्त गर्थे । कोइरालाले आफूले भने तीज गीतमा चेलीबेटीहरूको वास्तविक वेदना समेट्ने गरेको बताइन् । ‘मैले चेलीबेटीका वास्तविक पीडा आफ्ना गीतमार्फत व्यक्त गर्दै आएकी छु,’ कोइरालाले भनिन् । आफ्ना गीतले तीजको वास्तविक झ–झल्को दिने दाबी उनको छ । अहिलेको समयमा तीज गीतहरू केही परिमार्जन हुँदै गएको गायिका कोइराला बताउँछिन् । तीज गीतमा पुरुष स्वर सुनिनु र दोहोरी गीत गाउनुलाई उनी समयको परिवर्तनका रूपमा लिन्छिन् । अहिले दोहोरीलाई समेत तीजको कोसेली भन्न थालिएपछि पुरुषलाई पनि महिला सरह नै तीज लाग्न थालेको कोइरालाले बताइन् ।
तीज गीत गाएर चर्चामा आउने गायक हुन्— पशुपति शर्मा । उनले अहिलेसम्म ६० वटाभन्दा बढी तीज गीत गाइसकेका छन् । शर्माका अधिकांश तीज गीत चर्चित छन् । शर्मा तीज गीतमा पुरुषहरूको स्वर सुनिँदै जानुलाई समाज रुपान्तरणका रूपमा लिन्छन् । ‘पहिलेको जस्तो अहिले समाजले महिलाहरूप्रति गर्ने व्यवहार फरक छ,’ शर्मा भन्छन्, ‘यसैले पनि तीज महिला–पुरुषले दुवैले मनाउने प्रवृत्ति बढेको हो ।’ आफ्नो वेदना महिलाहरूले माक्र व्यत्त गर्नुपर्छ भन्ने सोच हराउँदै जान थालेकाले पनि तीज गीतमा पुरुष स्वर सुनिन थालेको शर्माको तर्क छ ।
माइती र चेलीको सम्बन्ध झल्काउनु तीजको विशेषता हुने भएकाले तीज पर्व दाजुभाइ–दिदीबहिनीको पर्वजस्तै बनाउन पनि तीज गीतमा पुरुष स्वर सुनिन थालेको गायक खुमन अधिकारी बताउँछन् । तीज गीत गाउन दिदी–बहिनीहरूले नै आग्रहपछि आफूले गाउन थालेको उनले बताए । तीज गीतमा महिलाहरूको मात्र स्वर भन्दा पनि अहिलेको समयमा दोहोरी नै बढी चल्ने अधिकारीको तर्क छ । अधिकारी भन्छन्, ‘समयको परिवर्तनसँगै तीजको भाका पनि परिवर्तन हुँदै गएको अवस्था छ ।’