साप्ताहिक संवाददाता
शनिबार ललितपुरको झम्सिखेलस्थित मोक्ष रेष्टुराँ एण्ड बारमा दिनको उज्यालो ढल्दै गएसंगै निम्तालु फेसनका पारखीहरुको चहलपहल बढ्दै गयो र माहौल सृजना भयो फेसन शो प्रस्तुतिका लागि । पस्मिना इन्हान्समेन्ट एण्ड ट्रेड सपोर्ट, पेट्स प्रोजेक्ट अन्तर्गत नमूना कलेजमा संचालन गरिएको पस्मिना फेसन डिजाइन एण्ड टेक्नोलजी कोर्ष भित्र अध्यापन गराइएको सैद्धान्तिक र प्रयोगात्मक विषय वस्तुको उत्पादनलाई उक्त फेसन शोमा प्रस्तुत गरिएको थियो । नेपाल सरकारको उद्योग मन्त्रालय तथा नेपाल पस्मिना इन्डस्ट्रिज एसोसिएसनको प्रत्यक्ष सहभागिता रहेको पस्मिना सम्बन्धी पेट्स प्रोजेक्टको मुख्य संचालक जेनेभास्थित इन्टरनेसनल ट्रेड सेन्टर हो ।
पस्मिना इन्हान्समेन्ट, जेनरेसन टुवार्डस् ग्लोबल ट्रेन्ड शीर्षक नाम दिएको उक्त पस्मिना फेसन शोमा उल्लेखीत कोर्ष अध्ययन गरेका पहिलो र दोस्रो व्याचका गरी ३३ जना विद्यार्थी डिजाइनरहरुले आफ्ना सृजनाहरु विभिन्न चार सिक्वेन्स मार्फत् प्रस्तुत गरेका थिए । नमूना कलेज अफ फेसन टेक्नोलजीको आयोजनामा संचालन भएको यो फेसन शोमा कलेजमै अध्ययनरत बीस जना जुनियर विद्यार्थी डिजाइनहरुले मोडलको भूमिका निर्वाह गरेका थिए ।
फेसन शोमा पस्मिनाको विभिन्न रुप रंग, आकार प्रकारको प्रयोगमा तयार पारिएका विभिन्न आकर्षक डिजाइनका पहिरन शैली, शल, स्टोल तथा अन्य एक्सेसरीजलाई प्रस्तुत गरिएको थियो । कार्यक्रम रोजिन शाक्यको कोरियोग्राफी संचालन गरिएको थियो । कार्यक्रममा पस्मिना स्केच प्रतिस्पर्धामा प्रथम, द्धितिय र तृतिय क्रमश: चयन भएका सानु नमाया, अनिता खाती र निर्मला मालबुललाई पनि पुरस्कृति गरिएको थियो ।