साप्ताहिक संवाददाता
फाल्गुन ४, २०७४
कवि धरणीधर कोइरालाको १ सय २६ औं जन्मजयन्तीका अवसरमा सुनकोसी सम्पदा कला साहित्य यात्रा–२०७४ सम्पन्न भएको छ । धरणीधर स्मृति पुस्तकालयले आयोजना गरेको पाँच दिने सम्पदा कला यात्राका क्रममा तयार पारिएका २४ वटा कलाकृति शीतलपाटी खाल्टेस्थित दीर्घ प्रदीप माध्यमिक विद्यालयमा प्रदर्शन गरिएसँगै कलायात्रा सम्पन्न भएको हो ।
दुम्जाको कुशेश्वरबाट माघ २४ गते प्रारम्भ भएको कलायात्राका क्रममा पाँच जना कलाकारले सिन्धुलीको सुनकोसी गाउँपालिकाका धार्मिक, साँस्कृतिक, पुरातात्विक महत्वका पाटी, पौवा, मठ, मन्दिर, माने, पुराना बजार, वस्ती तथा प्राकृतिक सम्पदालाई क्यानभासमा उतारेका थिए । उक्त कलायात्रामा कलाकार सुरेम देशार, अनिल महर्जन, जयराम महर्जन, अनिल खड्का तथा मूर्तिकार राजेन्द्र देशार सहभागी थिए ।