गायिका इन्दिरा जोशी गायनमा अब्बल छिन्। गायनमा लोकपि्रय भएकै कारण कन्सर्टमा उनको माग अन्य गायिकाको तुलनामा बढी नै हुन्छ। गीत गाउँदै नृत्य गर्न सक्ने क्षमताका कारण पनि उनी कन्सर्टमा दर्शक लठ्याउन सफल हुन्छिन्। यतिबेला उनी म्युजिक भिडियोहरूमा आफैं अभिनय गर्न थालेकी छिन्। केहीअघि गायक फराज अर्पणको एउटा गीतमा फिचरिङ गर्दै म्युजिक भिडियोमा अभिनयसमेत गरेकी इन्दिरा केही साताअघि विराटनगरका गायक लक्षु निरौलासँगको एउटा भिडियोमा प्रस्तुत भएकी छिन्। लक्षु र इन्दिराले गाएको 'रक्सि गिलिनमा...' गीतको म्युजिक भिडियोमा इन्दिरा आफैंले अभिनय गरेकी हुन्। प्रसन्न पौडेल निर्देशित भिडियोमा ईन्दिरा कामुक समेत देखिएकी छिन् । आफ्नै गीतका म्युजिक भिडियोमा अभिनय गर्न थालेकी इन्दिराले कुनै दिन अन्य गायक-गायिकाको म्युजिक भिडियोमा समेत अभिनय गरिन् भने अचम्म नमाने हुन्छ।