- किसन सुनार, कलाकार
रामबजार, पोखराका स्थायी बासिन्दा किसन सुनार विगत तीन वर्षदेखि अभिनय क्षेत्रमा छन् । कलेजमा अध्ययरन छँदा एउटा लोकगीतको म्युजिक भिडियामा अभिनय गरेपछि उनले अभिनयमै करियर बनाउने लक्ष्य लिएका थिए । उक्त भिडियोमा आफू अलि कलिलै देखिएको प्रतिक्रिया आएपछि किसनले अभिनयको अनौपचारिक प्रशिक्षण लिन थाले । किसनले क्यामेराभन्दा पछाडि बसेर अभिनय कौशलको प्रशिक्षण लिने क्रममा केही वर्ष बिताए । त्यस क्रममा कोरियन, रसियन आदि भाषाका थुप्रै चलचित्र हेरे । विद्यालयमा छँदा केही नाटकमा अभिनय गरेका किसनले म्युजिक भिडियोपछि विज्ञापनमा समेत आफ्नो अभिनय कौशल देखाए । दुई वर्षअघि प्रदर्शन भएको चलचित्र ‘आगो–२’ मार्फत अभिनेताका रूपमा डेब्यु गरेका किसनले उक्त चलचित्रको भूमिकाबाट दर्शकमात्र होइन, चलचित्रकर्मीहरूको समेत मन जिते । सानो पर्दाबाट ठूलो पर्दामा फड्को मार्ने क्रममा किसनले प्रशस्त प्रशंसक कमाए । उक्त चलचित्रको छायांकन हेर्न पुगेका निर्देशक दशरथ गिरीको नजर किसनमा पर्यो । निर्देशक गिरीले किसनलाई चलचित्र ‘कैफियत’ मा अनुबन्ध गरे । यतिबेला चलचित्र ‘कैफियत’ प्रदर्शनको क्रममा छ जसमा किसनले सह–अभिनेताको भूमिका निर्वाह गरेका छन् । झमककुमारी साहित्यिक प्रतिष्ठानले निर्माण गर्न लागेको चलचित्र ‘जीवन काँडा कि फूल’ मा समेत अनुबन्ध भैसकेका किसन यतिबेला झापामा एउटा नयाँ चलचित्रको छायांकनमा व्यस्त छन् । विगतमा किक बक्सिङका राम्रा खेलाडी किसनलाई दर्शकहरूले एक्सन अभिनेताका रूपमा समेत चिन्छन् । हरेक प्रकारका भूमिका निर्वाह गर्न सक्ने किसनसँग साप्ताहिककाको तीन प्रश्न :
म्युजिक भिडियो, नाटक तथा चलचित्रमध्ये कुन विधामा बढी रमाउनुभएको छ ?
अभिनय गर्नुपर्ने हरेक विधामा म उत्तिकै रमाउँछु । विज्ञापनमा छोटो समयमा धेरै कुरा देखाउनुपर्छ । नाटकमा जीवन्त अभिनय गर्न पाइन्छ । चलचित्र लामो समय लगाएर बनाइन्छ तर जीवनभर रहन्छ । त्यसैले यी तीनवटै विधालाई म उत्तिकै सम्मान गर्छु ।
दर्शकले ‘एक्सन–हिरो’ भनेर प्रशंसा गर्दा कस्तो लाग्छ ?
चलचित्र ‘आगो–२’ हेरेका दर्शकले मलाई एक्सन–हिरो भन्नु स्वभाविक हो । वास्तवमा म हरेक प्रकारका भूमिका निर्वाह गर्न सक्छु । म आफूलाई कलाकारका रूपमा चिनिन पाउँदा खुसी लाग्छ ।
प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कैफियत’ मा कस्तो भूमिका निर्वाह गर्नुभएको छ ?
प्रारम्भमा म नकारात्मक भूमिकामा देखिन्छु । धनी बुवाको बिग्रिएको छोरा भए पनि कालान्तरमा मेरो चरित्रले सकारात्मक मोड लिन्छ । यो चलचित्रको प्रदर्शनपछि मलाई दर्शकले हरेक प्रकारको भूमिका निर्वाह गर्न सक्ने कलाकारका रूपमा पाउनुहुनेछ ।