साप्ताहिक संवाददाता
आफ्नो पेसा–व्यवसायमा व्यस्त भएकाले मलाई खासै चुनाव लागेको छैन । देशलाई चाहिँ औधी लागेको छ । किन नलागोस् त ? देश वर्षौंदेखि यहाँभन्दा माथि लाग्न नै कहाँ सकेको छ र ? आशा गरौं, अबचाहिँ स्थायित्व होला कि ?
-शिरोमणि दवाडी, कलाकार
मलाई अलिकति पनि लागेको छैन, के नाप्छन् र लाग्नु ?
-समरा लामा, मेकअप आर्टिस्ट
नजिकबाट नियाल्दैछु, तर एक्साइटेडचाहिँ छैन, किनभने खासै नयाँ केही हुनेवाला छैन, पुरानै कथा दोहोरिन्छ ।
- सरोज खनाल, अभिनेता
खासमा चुनाव लाग्ने भनेको दलका झोलेहरूलाई हो । हामी जस्ता खोलेलाई न हर्ष न विस्मात हजुर ।
- सिएल शर्मा, संगीतकर्मी
बल्ल चाडबाड सकियो । अचेल नेपालमा जे पनि अलि बढी नै भएजस्तो लाग्छ । यो चुनावी माहौल पनि ठूलै इस्यु हुने देख्दैछु । नेपाली भएपछि त्यसबाट बच्न मलाई पनि गाह्रो होला भन्ने बुझ्दैछु ।
- रूपक डोटेल, गायक
देशको सचेत नागरिकका नाताले राजनीतिमा सबैले चासो राख्नुपर्छ र म पनि चुनावी माहौलमा सहभागी हुन्छु अनि मलाई पनि लाग्छ, चुनाव ।
- ऋषिराज आचार्य, निर्देशक
राजनीतिमा चासो नै छैन, त्यही भएर धेरै टाढा हुन्छु यो विषयबाट । त्यसैले पनि मलाई चुनाव लागेको छैन ।
- रञ्जन रिजाल, अभिनेता
एक जिम्मेवार नागरिकको हैसियतले अवश्य पनि चासो छ । मेरो माइलो दाइले इलाम क्षेत्र नम्बर–२ बाट विधायकको टिकट पाउनुभएकाले यो पालिको चुनाव मेरा लागि अझ रोमाञ्चक होला जस्तो छ ।
- यम बराल, गायक
ओहो ! चुनाव पो आउँदैछ है ? लागेको थिएन, अब लगाउनुपर्ला ।
- सुरेश पौडेल, टेलिभिजनकर्मी
उम्मेदवारहरूको अनुहार हेरियो भने चुनाव होइन, विरक्तिएर चुपचाप अन्त कतै लाग्न पो मन लाग्छ ।
- तेञ्जिङ शेर्पा, इभेन्ट व्यवस्थापक
मलाई एकदमै लागेको छ, किनभने म राजनीतिमा विश्वास गर्छु ।
- सुशान्तकुमार श्रेष्ठ, निर्माता
यो पालि मलाई चुनाव अलि बढी नै लाग्ला जस्तो छ । गृहजिल्ला दोलखा गएर भोट पनि हाल्नेछु । मेरो जिल्लाबाट राम्रा मान्छेहरूले नै टिकट पाउनु भएको समाचार सुनिरहेको छु । एउटा सचेत नागरिकको हैसियतले मेरो प्रयत्न सक्षम नेता चुन्नुहुनेछ ।
- ईश्वरबल्लभ उप्रेती, मोडल
प्रशस्तै लाग्दैछ ।
- मिलन मोक्तान, संगीतकार
खै के भन्ने ? वर्षै पिच्छे चुनाव भएजस्तो लाग्छ हाम्रो देशमा । चुनावपछि पनि उही पुरानै अनुहारबीच मन्त्री बन्ने सट्टा बढाबढको खेल हुनेछ । यसपटक चाहिँ भोटिङ सिस्टम र निर्णयको झमेला सहज होला भन्ने आशा राखेकी छु ।
- रीमा विश्वकर्मा, अभिनेत्री/भिजे
यस पटकको चुनाव अलि बढी नै लागेको छ । देशमा अहिलेसम्म धेरै चुनाव भए, तर यसपटकको चुनाव राष्ट्र निर्माणका लागि महत्वपूर्ण चुनाव हो । अहिलेको चुनाव आफ्नो अमूल्य मतद्वारा असल नेता छानेर राष्ट्रको समृद्धिमा सहभागी हुने अवसर पनि हो ।
- सन्तोष श्रेष्ठ, संगीतकार
के चुनाव लाग्नु हजुर ? मेरो त भोटरलिस्टमै नाम छैन ।
- केदार घिमिरे माग्नेबूढा
मज्जाले लाग्दैछ । मलाई मन परेको पार्टीलाई मद्दत गर्न खटिइरहेकी छु ।
- बिनु शाक्य, बेली डान्सर
बिल्कुलै लागेको छैन, किनभने मेरो कसैसँग गठबन्धन छैन । चुनाव लाग्न अचेल कि गाँठ बन्धन चाहिन्छ कि गठबन्धन ।
- दीपकराज गिरी, अभिनेता
हामी नेताका गोटी न हौं, लागिहाल्छ नि । अँ साँच्ची, नेपालीहरू भोटिङ गर्न खप्पिस छन् । अझ एसएमएस तथा अनलाइन भोटिङ भए त झन दामी हुने थियो ।
- भूपेन्द्र खड्का, गीतकार
चुनावको दिन मज्जाले घरमा सुतिन्छ, जसलाई भोट दिए पनि अन्तिममा आउने जति उही अनुहार न हुन् । चुनाव त नाटक मात्र हो ।
- विकास खतिवडा, अभिनेता