साप्ताहिक संवाददाता
चुनाव सम्पन्न भयो । नेपाली जनताका लागि ठूलो उपलब्धि भनेकै त्यही हो । प्रतिस्पर्धामा जित–हार हुनु स्वाभाविक हो । त्यसैले परिणामलाई सहज रूपमा लिएको छु ।
राजीव लोहनी, गायक
जुन जोगी आए पनि कानै चिरेको भन्नु नपरोस् । अब देशमा केही राम्रो होला कि भन्ने आशामा छु । परिणाम राम्रो लागेको छ ।
कमल के क्षेत्री, गायक
चुनावको परिणाम हेर्दा नराम्रालाई जनताले सजाय दिएका हुन् कि जस्तो लाग्छ, तर गहुँसँगै घुन पनि पिनिए झै हार्नेमा केही राम्रा पनि परेको कुरा
नकार्न सकिँदैन ।
अर्जुन तिवारी, छायांकार
कल्पनीय, स्वभाविक र आवश्यक । हार–जित पतन्जलीको अनुलोम–विलोम जस्तै हो, कहिले यो भित्र, कहिले त्यो बाहिर । भित्र पस्नेहरूको दम्भ नबढोस्, बाहिर बस्नेहरूको ऊर्जा नघटोस् । समृद्ध नेपाल निर्माण अभियानका लागि बन्ने सरकार तथा प्रभावकारी प्रतिपक्षलाई हार्दिक शुभकामना ।
मनोज गजुरेल, हास्यव्यंग्यकार
मेरो क्षेत्रको परिणामबाट म चहिँ खुसी भइन् ।
अफसर अली, गायक
जनमतको कदर सबैले गर्नुपर्छ । त्यसैले परिणाम उत्साहजनक देखेको छु । केही जित्नै पर्ने उम्मेदवारले हारेकामा नराम्रो लागे पनि लोकतन्त्र प्राप्तिपछिका चारवटा चुनाव हेरेका जनताको शक्तिलाई नेताहरूले अब बुझ्नुपर्छ ।
निराजन लुइँटेल, अभिनेता
ठिकै लाग्यो, जितेकाहरूले देशको राम्रो गरून् ।
अमृत ढुंगाना, अभिनेता
इतिहासले कोल्टे फेरेर न यसरी घाम चर्किएको थाहा थियो न जंगलमा डढेलो लागेको । पहिलो पटक भएर होला डरभन्दा धेरै आशा लाग्या छ ।
विकास सुवेदी, निर्देशक
परिवर्तन विस्तारै हुँदो रहेछ भन्ने कुरामा विश्वास लागिरहेको छ । पूर्णरूपमा चित्त नबुझे पनि देशका लागि आवश्यक केही नेताले जितेकोमा खुसी छु ।
सुरक्षा पन्त, अभिनेत्री
यो चुनावमा केही अपवाद बाहेक जनताले राम्रा प्रतिनिधिहरू छानेका छन् । चुनाव राम्रोसँग सम्पन्न भयो, त्यसमै खुसी लागिरहेको छ ।
सीएल शर्मा, संगीतकर्मी
यो पटकको चुनावको परिणामबाट यस्तो लाग्दैछ कि नेपाली जनताले पार्टीलाई होइन, नेताको सोच र विचारलाई मत दिएका छन् । जनताले दललाई होइन, देश विकासमा बढी चासो दिने नेतालाई रोजेर आफ्नो मत सदुपयोग गरेका छन् ।
डिजे तामा
चुनाव सु–सम्पन्न भयो, त्यसमै निकै खुसी लागेको छ । परिणाममा पनि लालबाबु पण्डितले जित्दा निकै आनन्द आयो । अरू जो–जसले जितेका छन्, उनीहरूले आफ्ना कार्यकर्ताको मात्र होइन देशको पनि पालन पोषण गरून् ।
एसराज गराच, अभिनेता
जनताले दिएको म्यान्डेट एकदमै अपेक्षित छ । चुनावी परिणाम जस्तै विकासको गठबन्धन होस्, विकासका लागि राजनीतिक दलहरूमा हानाथाप होस्, नेपाली जनताले सुखको अनुभूति गर्न सकुन् ।
सञ्जय बराल, सञ्चारकर्मी
जे सोचेको थिएँ, परिणाम त्यस्तै आयो ।
बनिश शाह, चलचित्र सम्पादक
पटक–पटकका अस्थायी सरकारका कारण आजित भएका नेपाली जनताले पक्कै पनि यो पटक भने स्थायी सरकारको अपेक्षा राखेका छन् ।
डिपी खनाल, गीतकार
राम्रो लागेको छ । बहुमतको सरकार हुने भयो, यस्तोमा पनि राम्रो काम गर्न सकेनन् भने जनताले सजाय दिनेछन् ।
दीपाश्री निरौला, निर्देशक/ अभिनेत्री
चुनावको परिणाम जे–जस्तो आए पनि जनताका लागि हात्ती आयो हात्ती आयो फुस्सा नहोस् ।
कमल श्रेष्ठ, फोटोग्राफर
धेरै स्थानमा राम्रा नेताहरूले जित्नु भएकोमा खुसी लागेको छ ।
नम्रता योगी, अभिनेत्री
चुनावको परिणाम सोचेजस्तै भयो । जसलाई मत दिएको हो, उसैले जितेकाले मनमा हरियाली छाएको छ ।
अनिल सिंह, गायक
नतिजाले म कन्फ्युजनमा छु । हेरुँ अब केही हुन्छ कि ? मेरो विचारमा अब हार्ने र जित्नेले प्रतिस्पर्धाभन्दा पनि आफ्नो काम राम्रो संग गर्नुपर्यो ।
विजय बराल, नाट्यकर्मी/अभिनेता
देशले पाँच वर्षका लागि स्थायी सरकार पाउँदैछ । त्यसैले परिणामलाई सकारात्मक रूपमा लिएको छु
प्रसन्न गोपाली, अभिनेता
सचेत जनताले दिएको परिणाम सही छ ।
प्रशान्त ताम्राकार, अभिनेता
अदभुत ।
किशोर घिमिरे, गीतकार
मैले सोचे जस्तो, मैले चाहे जस्तो । जनता परिवर्तन चाहन्थे, भयो ।
मौनता श्रेष्ठ, चलचित्र लेखक
गर्छु भन्नेलाई अवसर दिएको छ भने गर्न नसक्नेलाई पाठ पढाएको छ ।
माधव दुवाडी, होटल व्यवसायी
जनताले परिवर्तनका लागि वाम गठबन्धनलाई मौका दिएका हुन् । अब पनि केही गर्न सकेनन् भने नेपाली कांग्रेसलाई जस्तै बाम सरकारलाई पनि ठूलै धक्का दिनेछन् ।
विवेक उपाध्याय, समाजसेवी
यो परिणाम बाट म अत्यन्तै खुशी छु । नेपाली जनताले स्थायी सरकार चाहेका छन् । अब देश समृद्धिको बाटोतर्फ अघि बढछ र देश विकास हुन्छ भन्ने कुरामा दुईमत छैन ।
राजेश घतानी, चलचित्र निर्माता