चकलेटी लुक्सकी सन्ध्या केसी अभिनेत्री, टेलिभिजन प्रस्तोता, मार्केटिङ अफिसर तथा होस्ट हुन् । उनले ड्रिम्स, कमलेको विहे, पण्डित बाजेको लौरी, कथा काठमाडौं एवं ह्याप्पी न्यू इयरमा अभिनय गरिसकेकी छिन् । केसीले मुख्य भूमिका निर्वाह गरेको चलचित्र भने ह्याप्पी न्यू इयर मात्र हो । इमेज च्यानलमा लामो समय भिजेइङ गरेकी सन्ध्या अहिले कुण्डलिनी डायग्नोस्टिक सेन्टरमा मार्केटिङ एक्जुकेटिभका रुपमा कार्यरत छिन् भने बालुवाटरस्थित प्रजाडा रेस्टुराँको व्यवस्थापन पनि हेरिरहेकी छिन् । सधैं हंसमुख देखिने काठमाडौं, कोटेश्वरकी सन्ध्या स्वास्थ्यप्रति पनि निकै सचेत छिन् ।
सुन्दरताको राज के हो ?
म काँक्रा र पानी धेरै खान्छु । मानिसको सुन्दरतालाई पिस अफ माइण्ड, ह्याप्पिनेस तथा खानामा विशेष ख्याल र एक्ससाइजजस्ता कुराले प्रभावित तुल्याउँदोरहेछ ।
सुन्दरताका लागि खान नहुने कुरा के रहेछन् ?
चुरोट, जाँड–रक्सी, त्यसले भोलिपल्टै मानिसको स्वास्थ्यलाई प्रभावित गर्दोरहेछ । धेरै पिरो तथा धेरै गुलियो खानै भएन् । सानैदेखि गुलियो खाने र नखाने मानिसबीच एकदमै फरक देखिन्छ । चकलेट एकदमै मन पराउनेहरू मोटा हुनुका साथै उनीहरूको स्वास्थ्यमा पनि समस्या देखिन्छ भने चकलेट मन नपराउनेहरू फिट देखिन्छन् । एउटै उमेरको भए पनि गुलियो खाने र नखानेबीच फरक देखिन्छ ।
सहरमा धेरै मानिसहरू मोटोपनसँग लडिरहेका छन् तर तपार्इं त खुबै फिट देखिनुहुन्छ ?
म धेरै खान्छु, धेरै खाए पनि एक्सरसाइज गर्छु । म जति पनि खानेकुरा खान्छु हेल्दी खान्छु । यहाँ बजारमा काम गर्न थालेपछि फुड टेस्टिङ गर्ने क्रममा खाएको खायै हुन्छु । मेरो फिटनेस सूत्र एक्साइज गर्नु नै हो ।
जिम जानुहुन्छ ?
जान्थे, अहिले कामको व्यस्तताले जान पाएकी छैन ।
फिल्मतिर गैरहेको मान्छे, एक्कासी पिआर र रेस्टुराँतिर जोडिनुभयो नि ?
फिल्मले नै गर्दा म फेसम भए । फेमस भएपछि मानिसहरू चिने मैले । कन्फिडेन्ट बढ्यो, बानी बेहोरा फ्रेण्डली भयो । मलाई जहिले पनि केही कुरा सिकौं र बिजनेस गरौं भन्ने थियो । अहिले आफ्नै भेन्चर स्टार्ट गर्नुभन्दा पहिले एक्सपिरियन्स बटुलिरहेकी छु । मैले फिल्म नै छाडेकी त होइन्, राम्रो अफर आयो भने गर्छु । मिडिया पनि छोडेकी छैन, होस्ट गरिरहेकी हुन्छु । अहिले सोसल इन्फ्ल्युन्सरको निकै हाइप छ, हरेक प्रोडक्टका लागि अफर आइरहेको हुन्छ । म गरिरहेकी पनि हुन्छु ।
सोसल इन्फ्ल्युन्सरबाट कत्तिको आम्दानी गरिरहनुभएको छ ?
कमाइदो रहेछ, कमाइरहेका छन् सबैले । अहिले नेपालमा मात्र नभएर वर्ल्डवाइड नै हेर्नुहुन्छ भने हरेक सेलिब्रेटीको इन्ट्राग्राम हुन्छ, फ्लोअर्स कति छ, त्यही आधारमा ब्रान्ड इन्डोर्स गरिरहेका हुन्छन् । हलिउड र बलिउडमा पनि यो ट्रेण्ड छ । उनीहरूले इन्ट्राग्राममा आफैंले भिडियो बनाएर हालेबापत पैसा लिन्छन् । पहिलेजस्तो एड बनाइरहनु पनि पर्दैन् । नेपालमा पनि त्यसबाट राम्रै कमाइ भैरहेको छ ।
तपाई इन्स्ट्रामा प्रति पोष्टमा वा प्रति स्टोरी कसरी पैसा लिनुहुन्छ ?
पहिले लाइक्सको हिसाबले दिइन्थ्यो, अहिले फ्लोअर्सको हिसाबले दिइन्छ । यो ब्रान्डमा पनि भर पर्छ, नेपाली ब्रान्ड छ भने सस्तोमा पनि गर्छौं, कुनै–कुनै त च्यारिटी पनि हुन्छ । कहिलेकाहीँ आफ्नै साथीभाइलाई सहयोग गर्ने हिसाबले निःशुल्क पनि गरिन्छ । इन्टरनेसनल ब्रान्ड छ भने हामी त्यहीअनुसार पैसा लिन्छौं ।
खुबै खुसी हुनुहुन्छ, यसको मुख्य कारण के हो ?
म साथीहरूसँग ठिक्क लेभलमा घुलमिल हुन्छु । मलाई अरूको कुरामा मतलव हुँदैन । मलाई इफेक्ट पार्ने र नराम्रो लाग्छ भने सकेसम्म त्यस विषयमा सोच्दिन् । मेरो फिल्मी करिअरमा पनि अप एन्ड डाउन भयो तर म जहिल्यै यस्तै हो ।
अब कहिले अर्को फिल्ममा काम गर्ने ?
राम्रो प्रस्ताव आयो भने किन नगर्ने ? अहिले नेपाली मुभी राम्रो भैरहेको पनि छ, तर यो टाइममा मुभी नचलेको हो कि जस्तो पनि छ । फिल्म चल्नु न चल्नु हातमा हुँदैन, राम्रो प्रोडक्सन हाउस र टिमबाट प्रस्ताव आयो भने त गरिहाल्छु नि ।
फुर्सदमा के गर्नुहुन्छ ?
फुर्सद नै हुँदैन, हप्तामा एकदिन पनि बिदा छैन् । फुर्सदमा साथीहरू बोलाउँछु तर म एकदमै आफ्नो स्पेश खोज्ने मान्छे । घरमा बसे भने टाउकामा तेल हाल्छु, हेयर टिटमेन्ट गर्छु । युट्युब– इन्स्टाग्राम आदिमा रिप्लाइ गर्छु । खान मन लागेका कुरा खान्छु । आफूले आफैंलाई टाइम दिन्छु । रिफ्रेस भएपछि पुनः काममा फर्कन्छु ।
घुम्न कत्तिको निस्कनुहुन्छ ?
एकदमै । काम गर्छु, सेभिङ गर्छु अनि ब्याग प्याक गरेर घुम्न गैहाल्छु । हाम्रो बुवाआमा पुस्ता कमाउनैमा केन्द्रित हुनुभयो, एक्स्पोलर गर्नुभएन । अब हामीले आफूलाई केही त एक्स्पोलर गर्नुपर्छ ।
विवाह कहिले गर्नुहुन्छ ?
हतार छैन् । किनभने, म घरकी कान्छी छोरी हुँ । त्यसैले खासै रेस्पोन्सिबिलीटी पनि लिएकी छैन् । घरबाट पनि दबाब छैन् । अर्कोकुरा अहिलेसम्म मनले खाएको मान्छे पनि भेटिएको छैन् ।
इन्स्ट्रा तथा अन्य सोसल मिडियामा त्यतिका फलोअर्स छन् । कोही त होला नि ?
मानिसहरूले यसको यति फलोअर्स छन्, कोही त होला नि भन्ने सोच्दारहेछन् तर झन नहुने रहेछ ।
भनेपछि अहिलेको अवस्थामा तपाईं सिंगल ?
हो, एकदमै सिंगल ।
लभ म्यारिज कि एरेन्ज म्यारिज ?
म मेन्टेन हुनु र खुसी हुनुको कारण विपश्यना पनि हो । मागी विवाह, प्रेम विवाह भन्दा पनि टाइम आएपछि मान्छे भेटिन्छ । त्यो मान्छेसँग फ्रिक्वेन्सी, इनर्जी मिलेपछि त्यो लभ होस् वा एरेन्ज जुनसुकै विवाह हुनसक्छ ।
म्युजिक कत्तिको सुनुहुन्छ ?
म्युजिक मेरा लागि औषधीजस्तै हो । मुडअनुसार अंग्रेजी, नेपाली, हिन्दी गीतहरू सुनिरहेकी हुन्छु ।