साप्ताहिक संवाददाता
अभिनेता दीपकराज गिरी तथा अभिनेत्री केकी अधिकारी चलचित्र ‘छ माया छपक्कै’मार्फत रोमान्टिक जोडीका रूपमा दर्शकमाझ आएका छन् । अघिल्लो सातादेखि प्रदर्शन भएको यो चलचित्र व्यवसायिक रुपमा सफल भएको छ । दीपक र केकीले यसअघि ‘मीठो सत्य’ सिरियलमा सहकार्य गरेका थिए जसमा केकी सहअभिनेत्री थिइन् । चलचित्रमा यो जोडीको पहिलो सहकार्य हो ।
सालिन
केकीमा मैले प्रशस्त सालिनता पाएँ । उनी भद्र तथा मृदुभाषी छिन् । सुटिङ स्पटमा होस् वा बाहिर जहाँ पनि सबैसँग घुलमिल हुनसक्छिन् ।
कम्प्लिट प्याकेज
केकी आफैंमा अभिनयको एउटा कम्प्लिट प्याकेज हुन् । यस्तो प्याकेज नेपालका अभिनेत्रीमा कमै मात्र पाइन्छ । उनी जुनसुकै चरित्रलाई पर्दामा उतार्न सक्छिन् । उनमा केही नयाँ गरौं भन्ने चाहना छ भने उनी प्रोजेक्टको महत्व राम्रोसँग बुझ्छिन् ।
समयपालक
समयको मामिलामा केकीलाई अनुशासित पाएँ । कलाकार ढिलो आइदिँदा सुटिङको काम रोकिएको वा ढिलो भएको उदाहरण धेरै छ, तर केकीमा त्यस्तो लापरवाही देखिँदैन । उनका कारणले हामीले सुटिङमा कहिल्यै दु:ख पाएनौं ।
बौद्धिक अभिनेत्री
म केकीको बौद्धिकताबाट समेत प्रभावित छु । उनी देशदेखि विदेशसम्मका सबै विषयमा अपडेट छिन् । उनको आइक्यू त अझ राम्रो छ ।
घमन्डविहीन
केकीमा स्टारडमको घमन्ड र समस्या देखिँदैन । प्राय: अभिनेत्री तथा अभिनेताहरू ‘म त हिरो वा हिरोनी’ भनेर फोस्रो स्टारडम देखाउँछन्, तर केकी यस्ता कुराबाट मुक्त छिन् ।
सुधार्नुपर्ने पक्ष
प्रोजेक्ट छनोंट
केकीले राम्रो प्रोजेक्ट छान्नुपर्छ । राम्रोलाई ‘यस’ र नराम्रोलाई ‘नो’ भन्न सक्नुपर्छ । यसले उनको करियरलाई माथि उठाउन मद्दत पुर्याउँछ ।
हाइट सुधार्नु
मलाई लाग्छ केकी राम्रो अभिनेत्री भएर पनि उनलाई उचाईले त्यति साथ दिएको छैन । त्यो सुधारे राम्रो हुन्थ्यो (हाँसो) ।
भिडियोमा नियन्त्रण
अहिलेको समयमा केकी मात्र होइन, धेरै अभिनेता–अभिनेत्रीलाई चलचित्रसँगै म्युजिक भिडियोमा समेत व्यस्त देख्छु । हुन त चलचित्रमै काम गरेर मात्र पनि पुग्दैन, तैपनि भिडियोको अभिनयको कामलाई केही कम गरे हुन्थ्यो ।
खानेकुरा
केकी धेरै खाने कलाकार हुन् भन्ने कुरा सुनेको थिएँ । त्यसैले हामीले सुटिङमा उनको खान्कीमा नियन्त्रण गर्यौं ।