साप्ताहिक संवाददाता
जीवनलाई सामान्य बनाउन अब सबैको ध्यान बिस्तारै आवास निर्माणतर्फ जान थालेको छ र जीवन धान्न गाँसको व्यवस्थाका लागि कृषिमा ध्यान दिन थालिएको छ । मानिसहरू विस्तारै मनोरञ्जनमा पनि ध्यान दिन थालेका छन् । यी कुराले हामीमा भएको तनाव कम गर्न सहयोग गर्छन् । गाँस, बास अनि कपासको कुरामा ध्यान दिइएको पाईए पनि व्यक्तिको यौन आवश्यकताका बारेमा भने पर्याप्त चर्चा भएको पाइँदैन । यौन स्वास्थ्यको सन्दर्भमा यौनशोषण वा हिंसाको चर्चा भने चलिरहन्छ, तर यहाँ विपद्पश्चात् यौनजीवनलाई सामान्यीकरण गर्ने कुराको चर्चा कमै भएको पाइन्छ । यसका केही पक्षमा केही कुरा गरौं ।
जीवनलाई सामान्यीकरण गर्न यौन किन आवश्यक ?
हामीलाई थाहै छ, यौनजीवन मानवजीवनको अभिन्न अङ्ग हो, त्यसैले जीवनको सामान्यीकरणको कुरा गर्दा यौन जीवन त्यसमा छैन भने त्यसलाई पूर्ण रूपमा सामान्यीकरणतर्फ लान सकिएको मान्न मिल्दैन, त्यसैले विपद्पश्चात् पुन:स्थापना र सामान्यीकरण गर्ने क्रममा व्यक्तिको यौन सुखसम्बन्धी कुरामा पनि व्यक्ति आफैंले, परिवारका सदस्य अनि सहयोगी संस्था तथा निकायले ध्यान दिनुपर्छ ।
अरू कुराको क्षति भए पनि श्रीमान्–श्रीमती जीवितै भएको स्थितिमा यौनजीवनको सुरुवात तुलनात्मक रूपमा सजिलो हुन्छ । पालको बासमा गोप्यता नहँुदाको समस्या आवासको व्यवस्था भएपछि एक हदसम्म समाधान हुन्छ । हामीलाई थाहै छ, आवासले घाम–पानी अनि जाडो–गर्मीबाट जोगाउन मात्र होइन, यौनसम्पर्क गर्ने सुरक्षित स्थानसमेत प्रदान गर्छ । कतिपयको विवाह यसै अवधीमा भएको छ र उनीहरूले अपेक्षा गरेअनुरूप गोप्यता प्राप्त नगरेको हुनसक्छ । भर्खरै विवाह भएकाहरूले नातेदारसँगको भेटघाट वा हनिमुनको बहानामा भूकम्प गएको क्षेत्रभन्दा बाहिर (केही दिनका लागि) जाने योजना बनाउन सकिन्छ ।
अहिले कैयौं दिनदेखि सरसफाइ गर्न नपाइएको स्थितिमा शरीर नै गन्हाउने स्थितिमा यौनसम्पर्क गर्न असहज हुन सक्छ । राम्रोसँग नुहाउन नपाइएको स्थितिमा पनि कपडा वा रुमाल भिजाएर यौनाङ्गलगायत सम्पूर्ण शरीर राम्रोसँग पुछ्नु राम्रो विकल्प हुन सक्छ ।
यौन जोडीमध्ये दुवै नै उत्तिकै यौनसम्पर्कका लागि तयार नभएको स्थिति हुनसक्छ । यस्तो बेला आपसमा राम्रोसँग कुराकानी गरेर दुवै शारीरिक तथा मानसिक रूपमा तयार भएपछि यौनसम्पर्क गर्नु बेस हुन्छ । जबरजस्ती यौनसम्पर्क गर्नु वा यौनसम्पर्कका लागि दबाब दिनु सुखद यौन जीवनका दृष्टिले पनि उपयुक्त होइन ।
यौनसम्पर्क हुन्छ भने गर्भनिरोधको भरपर्दो उपाय आवश्यक कुरा हो । पहिलेदेखि नै गर्भनिरोधको साधन प्रयोग गरिरहेको भए त चिन्ता भएन, अन्यथा त्यसको व्यवस्था गर्नुपर्छ । परिवारले पनि कुनै पनि जोडीको यौनजीवनको निरन्तरतालाई सहयोग गर्नुपर्छ, जसले गर्दा उनीहरूलाई केही समय एकान्त मिलोस् । आफ्नो श्रीमान्–श्रीमती गुमाएको वा नभएको स्थिति छ भन्दैमा उनीहरूलाई असहयोग गर्नु बुद्धिमानी होइन ।
कतिपय प्रेमी–प्रेमिकाका लागि भने यौनसम्पर्क नै गर्ने स्थिति नहुन सक्छ । विवाहको योजना पनि पछि धकेलिएको हुन सक्छ । दुवै परिवार अनि तपार्इंहरू दुवै नै नयाँ जीवन सुरु गर्न तयार हुनुहुन्न भने केही समय यौनसम्पर्कवाट परहेज गर्ने र त्यसो गर्न नसकिएको स्थितिमा गर्भ निरोधको भरपर्दो उपाय अवलम्बन गर्ने । यस्तो स्थितिमा अनिच्छित गर्भ रह्यो भने त्यसलाई व्यवस्थापन निकै गाह्रो हुनसक्छ ।
शारीरिक एवं मानसिक पक्ष
विपद्को बेलाको भागदौड, चोटपटक, अङ्गभङ्ग वा अन्य कारणले शरीर अस्वस्थ भएको हुन सक्छ । कतिपयमा यस्ता अस्वस्थताबीच पनि यौनसम्पर्क राख्ने चाहना र सक्षमता हुन सक्छ तर उनीहरूलाई यौनसाथीको सहयोग चाहिन सक्छ ।
विपद्पश्चातको तनावपूर्ण मनस्थिति यौनसुख प्राप्त गर्न वाधक हुन्छ । यौनसम्पर्कको नियमितता हुनु एकातिर जीवनको सामान्यीकरणको संकेत हो भने अर्कातिर यसले एक हदसम्म विपद्का कारणले भएको तनाव कम गर्न मद्दत गर्छ । चरमसुख नै प्राप्त गरेको स्थितिमा खुसी प्राप्त गर्न सहयोगी रसायन निस्कने भएकाले जीवनको सामान्यीकरणलाई सहयोग मिल्छ ।
सन्तान बितेको भए के गर्ने ?
भएका सन्तान गुमाएर आफू सन्तानहीनताको स्थितिमा पुगिएको छ र उमेर छ भने सन्तान जन्माउने कुरामा पनि विचार गर्नुपर्छ । विशेष गरेर महिलाको उमेर बढी भए स्वस्थ सन्तान जन्माउन गाह्रो हुनसक्छ, त्यसैले श्रीमान्–श्रीमतीले घरसल्लाह गरेपछि चिकित्सकसँग सम्पर्क राख्नुपर्छ । सन्तान जन्माउन नसकिने स्थितिमा नातेदारमा वा अन्य अभिभावक गुमाएका केटाकेटीलाई घर्मपुत्र वा पुत्री राख्न सकिन्छ ।
एक्लिएको स्थितिमा के गर्ने ?
विपद्पछि कति जनाले विदुर हुनुपरेको छ भने कति जना विधवा । यस्तो स्थितिमा नजिकको व्यक्ति गुमाएको असह्य पीडा त हुन्छ नै, तर अर्कातिर लामो समय यौनसम्पर्क नगर्दा यौनेच्छा शान्त गर्ने चाहना पनि तीव्र भएको हुन सक्छ । हस्तमैथुन एउटा विकल्प हो । जोसमा होस नहराउन विशेष ध्यान दिनुपर्छ । यौनेच्छा शान्त पार्न दिगो सम्बन्ध विकास नभैकन कसैसँग यौनसम्पर्क गरिहाल्न पुग्दा समस्या उत्पन्न हुन्छ । त्यसैले पुर्न विवाह गर्ने निर्णय गर्नुअघि परिवारका अन्य सदस्य अनि नातेदारहरूसँग सल्लाह गर्नुपर्छ । अहिले नै सन्तान छन् भने नयाँ सम्बन्धवाट सन्तान जन्माउने वा नजन्माउने विषयमा पनि ध्यान पुर्याउनुपर्छ ।