साप्ताहिक संवाददाता
जाडो छल्न बाक्ला पहिरन आवश्यक हुन्छन्, तर कपडाले शरीरको बाहिरी भाग मात्र तताएर हुँदैन, भित्री भाग पनि तात्नु जरुरी छ । भित्रैबाट गर्मी निकाल्न पोसिला खानेकुरा खानुपर्छ । भित्री रूपमा शरीर तातो भएन भने हामीलाई रुघाखोकीले दु:ख दिन सक्छ ।
जुनेलो
जुनेलोको रोटी जाडोको उपयुक्त परिकार हो । यसमा प्रोटिनको मात्र बढी हुन्छ । त्यसका साथै शरीरलाई आवश्यक क्यालसियम, आइरन, म्याग्निसियम, फाइबर भिटामिन बी तथा एन्टिअक्सिडेन्ट पनि प्रशस्तै हुन्छ ।
बदाम
बदामका अनेकन् गुण छन् । यसको नियमित सेवनले धेरै किसिमका रोगबाट जोगिन सकिने चिकित्सकहरू बताउँछन् । जाडोमा कब्जियतको समस्या बढ्छ । यो समस्या कम गर्न बदाम उपयोगी हुन्छ । बदामले मधुमेह नियन्त्रण गर्नसमेत सहयोग पुर्याउँछ ।
अदुवा
अदुवा एउटा अत्यन्त उपयोगी मसला हो । यसको नियमित सेवनले साना–ठूला रोग लाग्न नदिने क्षमताको विकास गर्छ । यसले शरीरमा तातोपन बढाएर खाना पचाउनसमेत सहयोग पुर्याउँछ ।
मह
आर्युवेदमा महलाई अमृतसमान मानिएको छ । जाडोमा मात्र नभएर यसको दैनिक सेवन सबै मौसममा फलदायक हुन्छ । मह विशेष गरी रुघाखोकीमा लाभदायक हुन्छ । महको नियमित सेवनले पाचन शक्ति बढाउनुका साथै रोग प्रतिरोधात्मक क्षमतासमेत वृद्धि गर्छ ।
माछा
माछामा प्रशस्त मात्रामा ओमेगा थ्री फ्याटी एसिड पाइन्छ, यो एसिडले जाडोमा शरीरलाई तातो बनाउँछ । ओमेगामा जिंकको मात्रा पर्याप्त हुने हुँदा शरीरमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि भै रुघाखोकी लाग्ने सम्भावना कम हुन्छ ।
सागसब्जी
खानपानमा हरियो तरकारी प्रशस्त मात्रामा समावेश गर्नुपर्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र रोगसँग लड्न सक्ने शक्ति स्थापित हुन्छ । जाडोमा मेथी, रायो, चम्सुर, पालुंगो, काउली, मुला, सलगम, गाजर, लसुनजस्ता सागसब्जी प्रशस्त सेवन गर्नुपर्छ ।
तिल
तिल प्रयोग भएका खानाले शरीरलाई शक्ति प्रदान गर्छन् । खाने मात्र नभएर तिलको तेलले मालिस गर्दा पनि शरीर तातो हुन्छ । खोकी लागेका बेला तिलसँग मिस्री मिसाएर सेवन गर्दा त्यसले कफ निकाल्छ । यसमा प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेडजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छ ।
सुप
जाडोमा सुप अति नै उपयोगी हुन्छ । गाजर, मुला, च्याउ आदि विभिन्न सागसब्जी वा खसी, कुखुरा आदिको मासुको सुपले चिसो कम गर्न मद्दत गर्छन् ।