श्रीमतीबाट जन्मिएको शिशुलाई आफ्नो मान्न तयार हुनुहुन्न वा मनमा शंका भएकाले यस्तो परीक्षण गराउने विचार गर्नुभएको हो भने केही कुरामा ध्यान पुर्याउनुपर्ने हुन्छ । तपाईंले शंका गर्नुपर्ने आधार कत्तिको वैज्ञानिक छ भन्ने कुरामा धेरै विचार गर्नुपर्छ ।
डीएनए परीक्षण के हो ? यो कसरी गरिन्छ ? यो परीक्षण निजी तवरमा गर्नुपरे कहाँ उपलब्ध हुन्छ ? डीएनए परीक्षण गर्न कति खर्च लाग्छ ?
- एस.एन.
तपाईंले किन यो प्रश्न सोध्नुभयो, थाहा भएन । तपाईंले कुन प्रयोजनका लागि परीक्षण गराउन लाग्नुभएको हो त्यसका बारेमा थप जानकारी भएको भए जवाफ दिन केही सजिलो हुने थियो ।
के हो डीएनए जाँच ?
डीएनए अंग्रेजी शब्द Deoxy-ribonucleic acid को सानो रूप हो । हाम्रो वंशाणुगत गुण बोक्ने हाम्रा कोष केन्द्रमा पाइने क्रोमोजोम यसैबाट बनेका हुन्छन् । हजारौ वंशाणुले यो बनेको हुन्छ र त्यसमा adenine, guanine, cytosine र thymin अणुहरू डोरीको केही बेरिएको भर्याङजस्तै संरचनामा बसेका हुन्छन् । अहिले यसको व्यवहारिक उपयोगिता निकै भएकाले यो प्रचलित पनि हुँदै गएको छ । अहिले गरिने डीएनए परीक्षण थुप्रै अनुसन्धानपछिको परिमार्जित रुप हो । हालैका दशकमा डीएनए परीक्षण गर्ने प्रविधिमा उल्लेखनीय प्रगति भएको छ र यस किसिमको परीक्षण अनेकन किसिमका समस्या सुल्झाउन प्रयोग गर्न सकिन्छ । सजिलो भाषामा भन्नुपर्दा डीएनए परीक्षणमा दुई जैविक नमुनाका विचमा कत्तिको समानता छ भनेर हेर्नु हो ।
डीएनए परीक्षण कसरी गरिन्छ ?
यो एक अति नै विकसित तथा परिष्कृत परीक्षण हो । सबैभन्दा पहिले परीक्षण गर्न डीएनए भएको वस्तुको नमुना संकलन गर्नुपर्छ । यस्ता नमुनामा केशको केही भाग, छाला, थुक, शरीरमा लगाइएको लुगा वा अन्य वस्तुमा शरीरबाट निस्किएको तरल पदार्थ सुकेकै अवस्थामा भए पनि, मुख वा गालाको भित्री भागवाट निकालिएको swab, शरीरका अङ्ग–प्रत्यङ्गको कुनै पनि भाग हुन सक्छन् । यस्ता नमुनाका आधारमा खोजिएको वा जाँच गरिएको व्यक्तिसम्म पुग्न सकिन्छ । त्यसपछि प्रयोगशालामा परीक्षण गरिन्छ । यसमा प्रशस्त सावधानी अपनाउनुपर्ने हुन्छ । डीएनएको नमुनाबाट कोषिका निकालिन्छ, उक्त कोशिकाबाट डीएनए नमुनालाई शुद्धीकरण गरिन्छ, डीएनएको रेसाको विभिन्न भागबाट लिइएका पृथकीकरण गर्ने र नतिजालाई विश्लेषण गर्ने कार्य गरिन्छ । नतिजाप्रति ढुक्क हुन यो प्रक्रिया पुन: दोहोर्याइन्छ अनि अन्तिम चरणमा डीएनए परीक्षणको नतिजाको प्रतिवेदन तयार पारिन्छ । उक्त प्रतिवेदनमा जुन उद्देश्यका लागि डीएनए परीक्षण गरिएको हो त्यसैअनुरूपको निष्कर्ष दिइन्छ ।
डीएनए परीक्षण के–कस्ता कुरामा गर्न सकिन्छ ?
प्रत्येक जीवका केही विशिष्ट गुण हुन्छन् ती कुनै सूक्ष्म जीव हुन् वा कुनै जनावर वा कुनै मानिस । डीएनए परीक्षण गर्दा विशिष्ट गुणको स्वरूप पत्ता लगाउने प्रयास गरिन्छ । यसको व्यापकताले अहिले सबैजसो क्षेत्रलाई छोएको छ । Forensic अनुसन्धान, पितृत्व परीक्षण तथा अन्य जैविक अनुसन्धानमा यसका अनेक उपयोगिता छन् । मानवदेखि वन्यजन्तुसम्म कुन जाति–प्रजाति कसरी फैलिएर बसेका छ्न् वा कोसँग वंशाणुगत रूपमा बढी नजिक छन् भन्ने कुरा थाहा पाउन सकिन्छ । यसले रक्त सम्बन्धका बारेमा ठोस आधार प्रदान गर्छ । कुन व्यक्तिको सन्तान को हो ? कुनै माता–पिता वा सन्तान हराएको स्थितिमा पत्ता लागेपछि ठोस रुपमा ऊ नै हो भनेर पक्का गर्न सहयोग मिल्छ । चिकित्सा विज्ञानमा यो प्रविधि अङ्ग प्रत्यारोपणमा कत्तिको समानता छ भनेर हेर्नसमेत गर्न सकिन्छ ।
किन परीक्षण गराउन चाहनुभएको ?
डीएनए परीक्षण कुनै शिशुको पिता को हो ? भनेर पत्ता लगाउन निकै भरपर्दो भएकाले यस किसिमको परीक्षणको माग संसारभर बढेको पाइन्छ । यो परीक्षणका लागि सामान्यत: आमा, शिशु तथा संदिग्ध पिता भनेर आरोप लगाइएको व्यक्तिको परीक्षण गरिन्छ ।
तपाईले किन यो परीक्षण गराउन चाहनुभयो, थाहा भएन । यदि श्रीमतीबाट जन्मिएको शिशुलाई आफ्नो मान्न तयार हुनुहुन्न वा मनमा शंका भएकाले यस्तो परीक्षण गराउने विचार गर्नुभएको हो भने केही कुरामा ध्यान पुर्याउनुपर्ने हुन्छ । तपाईंले शंका गर्नुपर्ने आधार कत्तिको वैज्ञानिक छ भन्ने कुरामा धेरै विचार गर्नुपर्छ । गर्भ अवधिमा आउन सक्ने विविधता तथा जन्मदा शिशुको स्थितिलाई विचार गर्नुपर्ने हुन्छ । यदि ती सबै कुरा ठीक छन् भने आफ्नी श्रीमतीको व्यवहार विचार गर्नुपर्ने हुन्छ । निश्चित रूपमा कुनै आधार नभै त्यसै शंका गर्नु भनेको नभएको समस्या निम्त्याउनु हो । एकपल्ट सोच्नुहोस् त, तपाईंले अनावश्यक रुपमा शंका गर्नुहुन्छ भन्ने कुरा तपाईंकी श्रीमतीले थाहा पाउँदा कति नरमाइलो मान्नुहोला ।
डीएनए परीक्षण कहाँ गर्न सकिएला र कति खर्च लाग्ला ?
नेपालको सन्दर्भमा डीएनए परीक्षण राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान, प्रहरी, नेसनल फरेन्सिक प्रयोगशालाजस्ता विशिष्टिकृत प्रयोगशालामा गरिन्छ । रगतको परीक्षणमा यस्तै ८ हजार लाग्छ भने अन्य तन्तुको परीक्षणमा बढी खर्च लाग्छ । पक्का रूपमा कति खर्च लाग्छ भन्ने कुरा प्रयोगशालामै बुझ्नु मनासिव होला ।