हाल म ३२ वर्षको भएँ । मेरो दुई सन्तान छन् । मेरो पहिलो सन्तान भएको ६ महिनामै महिनावारी भयो । मेरो दोस्रो सन्तान भएको अहिले ७ महिना भएको छ, तर अझै महिनावारी भएको छैन । मैले गर्भ रह्यो कि भनेर किटमा पनि चेक गरेँ । रिजल्ट निगेटिभ नै देखायो । डाक्टरको सल्लाहमा रगत पनि जाँचे, रिजल्ट निगेटिभ छ । मलाई के भएर महिनावारी नभएको होला ?
- एन.
सन्तान जन्माएपछिको महिनावारी किन ढिलो ?
तपार्ईंलाई थाहै होला, गर्भ रहँदा महिलाको शरीरमा अनेक परिवर्तन हुन्छन् र सन्तानको जन्म भएपछि ती सबै बिस्तारै पुरानै अवस्थामा फर्कन्छन् । शिशु अटाउन ठूलो भएको पाठेघर फेरि पुरानै अवस्थामा फर्कने तथा रागरस (हार्मोन) को मात्रा पनि पुरानै आवस्थामा फर्कने गर्छ ।
तपाईंले स्तनपान गराउनुभए वा नभएको बारेमा केही लेख्नुभएको छैन । सन्तान जन्माएपछि महिनावारी फर्कने समयको सन्दर्भमा स्तनपान गराएको वा नगराएको कुराले महत्वपूर्ण प्रभाव पार्छ । स्तनपान नगराएका महिलाको हकमा यस्तै ६ देखि ८ हप्तामा महिनावारी फर्कन्छ । यदि स्तनपान, त्यो पनि पूर्ण रूपमा स्तनपान गराउने महिलाको हकमा महिनावारी झनै ढिलो हुन्छ । केही महिलामा भने स्तनपान गराए पनि नगराए पनि केही महिनामै महिनावारी फर्केको पाइन्छ ।
तपाईंको मनमा स्तनपान गराउने महिलाको हकमा किन महिनावारी चाँडो हुँदैन त भनेर जिज्ञासा हुन सक्छ । हामीलाई थाहै छ, महिनावारीको सञ्चालनमा रागरस (हार्मोन) को महत्त्वपूर्ण भूमिका हुन्छ । शिशुले दूध चुस्न थालेपछि पिटयुटरी ग्रन्थिबाट ‘प्रोल्याक्टिन’ भनिने हार्मोनको निष्कासन हुन्छ । यस प्रोल्याक्टिन हार्मोनको प्रमुख कार्य दूधको उत्पादन बढाउनु हो । यो हार्मोनको मात्रा पर्याप्त हुँदा यसले डिम्ब निष्कासन हुने प्रक्रिया रोक्ने कार्य गर्छ । तपाईंलाई थाहै होला, डिम्ब निष्कासन भएको १४ दिनपछि महिनावारी हुन्छ ।
गर्भ रह्यो कि ?
तपाईंको जिज्ञासा जायज छ, किनभने कतिपय महिलाको महिनावारी फेरि हुन सुरु नै नभए पनि गर्भ रहन गएका कतिपय उदाहरण छन् । नेपालको सन्दर्भमा सालाखाला रूपमा शिशुको जन्म भएपछि यस्तै ६ महिनामा हुने गरेको पाइन्छ, तर यस्तै एकतिहाइ महिलाको महिनावारी ८–९ महिनासम्म नफर्किएको देखिन्छ ।
तपाईंको हकमा तपाईंले गर्भ रहे–नरहेको जाँच गर्दा नभएको देखिएको हुनाले खासै चिन्ता गर्नुपर्छ जस्तो लाग्दैन, तर पनि शंका लागेमा तपाईंले प्रसूति विशेषज्ञसँग जाँच गराई सल्लाह लिन सक्नुहुन्छ ।