कोरोना भाईरसले विश्वब्यापीरुपमा आतंक श्रृजना गरिरहेको छ । चीनको स्वशासित भूमी हङकङमा पनि भाईरसको सन्क्रासले स्थानियहरु आतंकित छन् । लगभग ४० हजारको हारहारीमा बसोबास गर्ने हङकङेली नेपालीहरुमा अहिलेसम्म भाईरसको संक्रमण देखिएको छैन ।
नेपालीहरुलाई भाईरसबाट जोगाउन र स्वास्थ्य सम्बन्धी जानकारी दिनका लागि हङकङ नेपाली महासंघ, सिएसटिएन र नेपाल क्लब हङकङले संयुक्तरुपमा एक कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा उपस्थित विद्यार्थी, वृद्धवृद्धा, जेष्ठ नागरिक समाजका अगुवाहरुलाई डा. लक्ष्मी रानाले भाईरसको परिचय, संक्रमण, पहिचान र नियन्त्रणका साथै रोकथामका उपायहरुका बारे जानकारी प्रदान गरेकी थिईन ।
कार्यक्रममा सहभागीहरुलाई भाईरसबाट बच्नका लागि मास्कको प्रयोग, सरसफाईको उपयुक्त तरिका निर्देशित पोष्टर, मास्क प्रदान गरिएको थियो ।
सिएसटिएन प्रोजेक्ट ईन्चार्ज रिता गुरुङ भन्छिन् यो हाम्रो दोश्रो चरणको कार्यक्रम हो । यसअघि महासंघमा आवद्ध सदस्य संस्था र अन्य संस्थाहरुलाई निशुल्क सर्जिकल मास्क वितरण गरेका थियौ । हङकङ सरकारसाग साझेदारी गर्दै भाईरस संक्रमणबाट टाढा रहनका लागि नेपाली समुदायमा विभिन्न प्रकारका कार्यक्रमहरु गरिरहेका छौ, र यो जारी रहन्छ ।
महासंघका सल्लाहकार प्रदिप थापा भन्छन् बजारमा मास्क र सेनिटाईजर पाईदैन, पाईहाले पनि चर्को मुल्य । आफ्ना आफन्तहरुले पार्सलकोरुपमा पठाईदिएको मास्कले कति दिन पुग्ने ? हामीले हाम्रो संस्थाको तर्फबाट सकेको सहयोग र सचेतनाको कार्यक्रमहरुलाई निरन्तरता दिईरहेका छौ ।
हिन्सको निशुल्क मास्क वितरण कार्यक्रम
मास्कको अभाव र महंङी भोगिरहेका स्थानियहरुलाई हङकङ एकिकृत नेपाली समाज (हिन्स)ले निशुल्क मास्क र सेनिटाईजर वितरण गरेको छ । सडकमै आएर हिन्सका पदाधिकारीहरुले ६ हजारप्रति मास्क र १०० वटा सेनिटाईजर वितरण गरेका थिए । नेपाली समाजको उत्थान र श्रीवृद्धिमा निरन्तर लागिरहेको संस्था हिन्सले विभिन्न प्रकारका सचेतना, सीपमुलक र स्वाथ्य सम्बन्धी कार्यक्रमहरुको आयोजना गरिरहेको छ ।
कोरोनाको प्रकोपले संक्रमणकालिन अवस्थामा गुज्रिरहेको हङकङलाई सहयोग गर्ने हेतु यस अघिपनि लालीगुरास एसोसियसन हङकङ, नेपाली जनसम्पर्क समितीले निशुल्क मास्क, वितरण गरेका थिए ।
चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाईरस संक्रमणकै कारण मेनल्याण्ड चीनमा २,५२२ जनाको मृत्यु भईसकेको छ भने ७९,३५४ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म २४,९४० जना संक्रमितहरुको सफल उपचार गरिएको छ । हङकङमा ७४ जनामा संक्रमण देखिएपनि २ जनाले मात्र ज्यान गुमाएका छन् ।