साप्ताहिक संवाददाता
सावधानी
मुसा हरेक बच्चादेखि वृद्धासम्मलाई आउन सक्छ । दुख्ने, पोल्ने समस्या नभएका कारण पनि सामान्य रूपमा लिन सकिन्छ ।
मुसा १ सयभन्दा बढी प्रकारका हुन्छन् । कतिपय मुसा उपचार बिना आफैं हराएर जान्छ । रोग प्रतिरोधात्मक क्षमता बलिया हुने मानिसमा मुसाको संक्रमण देखिए पनि बिस्तारै हराउँदै जान्छ ।
हातखुट्टाको सफाइ राम्रोसँग गर्नुपर्छ । हात चुसिरहने तथा नङ टोक्ने
बानी छ भने छोड्नुपर्छ । जिमखाना तथा स्वीमिङपुलमा आफ्नै रुमालको प्रयोग गर्नुपर्छ ।
मुसा एक व्यक्तिबाट अर्कोमा पनि सर्ने भएकाले ध्यान पुर्याउनुपर्छ । मुसा ठीक नभएसम्म उक्त व्यक्तिले प्रयोग गर्ने जुत्ता, चप्पल, रुमाल, पहिरन, साबुन अरुले प्रयोग गर्नुहुँदैन ।
कतिपयले घरमै मुसा कोट्याउने तथा काट्ने गर्छन् । यसो गर्दा अन्य भागमा पनि मुसा फैलन सक्छ । यसका लागि विशेषज्ञकहाँ जानुपर्छ ।
कतिपय मुसा औषधि तथा क्रिमले पनि जान सक्छ । कति मुसा हटाउनका लागि लेजर, इलेक्ट्रिक तथा सर्जरी विधिको प्रयोग गर्नुपर्छ ।
ज्ञानेश्वरकी ६ वर्षीया विशाखा उपाध्यायको देब्रे गालामा आएको मुसा लेजर थेरापी गरेर निकालिएको छ । त्यस्तै ४० वर्षीया उमा शर्माको पनि घाँटीमा साना–साना मुसा आएका छन् । अहिले विशाखा र उमाको जस्तो समस्या धेरैमा छ । अधिकांशको हातखुट्टा र अनुहारमा मुसा आउने गर्छ । मुसा एक किसिमको भाइरल संक्रमण हो । मुसालाई अंग्रेजीमा वाट्र्स भनिन्छ । ह्युमन प्यापिलोमा भाइरसका कारण मुसा आउँछ । एचपिभीको सयौं प्रजातिले विभिन्न प्रकारका मुसा शरीरको विभिन्न ठाउँमा निकाल्छन् । सामान्यतया: यो हातखुट्टामा आउने भए पनि कहिलेकाहीँ मुखको भित्री भाग, आवाजनली तथा यौनांगमा आउँछ । मुसा शरीरको एक ठाउँबाट अर्को ठाउँमा सर्दै जान्छ ।
यसका प्रकार
एचपीभीका विभिन्न प्रकार तथा सर्ने विधि छन् । विभिन्न ठाउँमा देखिने मुसाको प्रकृतिअनुसार यसलाई विभिन्न भागमा वर्गीकरण गरिन्छ ।
सामान्य प्रकारका मुसा
मुसा हातखुट्टाको माथिल्लो भाग तथा औंलामा आउँछ । यस्तो मुसा खैरो रंगको हुन्छ । हेर्दा नराम्रो देखिए पनि यसले खासै समस्या हुँदैन ।
पैताला र हत्केलामा आउने मुसा
यसले अत्याधिक दुखाई हुनसक्छ । पैतालामा मुसा भए हिँड्ने बेलामा असहज हुनसक्छ । यसैगरी हत्केलामा भएको मुसाले पनि दुखाउँछ ।
भेरुका पानामा
यस्ता मुसा स–साना खैरा रंगका हुन्छन् । यी मुसा अनुहारमा धेरै आउँछन् ।
फिलिफर्म वार्ट्स
यो मुख, नाक तथा चिउँडो वरिपरि र अनुहारमा आउन सक्छ । साथै कसै–कसैको घाँटीमा पनि आउने गर्छ । यो मुसा छालाजस्तै रंगको हुन्छ ।
पेरिविंगल वाटर््स
यो अन्तर्गत खुट्टाको औंला तथा नङ वरिपरि आउने मुसा पर्छन् । यसले खुट्टामा पीडा तथा नङको वृद्धिमा असर पार्न सक्छ ।
यौनांगमा आउने मुसा
यौनांगमा घाउ भएकासँग असुरक्षित यौनसम्पर्क भएमा मुसा आउन सक्छ । सामान्यतया: सम्पर्क भएको १२ देखि १५ महिनामा यस्ता मुसा देखा पर्छन् । यो मुसाले गुदद्वारको क्यान्सर पनि गराउन सक्छ ।
उपचार
कतिपय मुसा आफैं निको हुन्छ भने कति खतरानाक पनि हुनसक्छ । मुसा देखापर्ने बित्तिकै छालारोग विशेषज्ञकोमा उपचार गराउन जानुपर्छ । मुसा आएको अवस्था, ठाउँ र संख्याअनुसार बिजुलीले डढाएर फाल्ने वा सालिसाइक्लिक एसिड नामक औषधिको प्रयोग वा लेजर प्रविधिबाट पनि मुसाको उपचार गरिन्छ । साथै चिकित्सकको निगरानीमा गरिने उपचार विधिमा एमएमआरको भ्याक्सिन लगाउने तथा भिटामिन डीको इन्जेक्सन लगाइन्छ ।
चिकित्सककहाँ कहिले जाने ?
आफ्नो अनुहार तथा शरीरका संवेदनशील भाग (मुख, नाकको प्वाँल तथा गुप्तांग) मा मुसा आएमा ।
मुसाको वरपरबाट रगत बगेमा, संक्रमण भएमा ।
मुसाको रंग परिवर्तन भएमा ।
धेरै दुखेमा ।
(छालारोग विशेषज्ञ डा. अपर्णा शाह तथा छाला तथा यौनरोग विशषज्ञ डा.कमलराज धितालसँगको कुराकानीमा आधारित )