साप्ताहिक संवाददाता
रत्नासन
विधि
स्टेप १ : दुवै खुट्टा जोडी उत्तानो परेर सुत्ने ।
स्टेप २ : दुवै हात अघि ल्याएर श्वास तान्दै टाउको र दुवै खुट्टा बढीमा ४ इन्च उठाउने । कम्तीमा १५ सेकेन्ड त्यही अवस्थामा रहने ।
स्टेप ३ : बिस्तारै श्वास छोड्दै खुट्टा र टाउको भुइँमा झारी आराम गर्ने । यो प्रक्रियालाई २, ३ पटक दोहोर्याउने ।
फाइदा
रत्नासनले पेटका लागि निकै फाइदा पुर्याउँछ । यो आसन नियमित गर्दा पेटलाई बढ्न दिँदैन । साथै मधुमेह, माइग्रेन र ग्यास्ट्रिकका बिरामीले पनि यो आसन गरेर लाभ लिन सक्छन् ।
धनुरासन
विधि
स्टेप १ : सुरुमा पेटको बलमा जमिनमा सुत्ने ।
स्टेप २ : दुवै खुट्टा उचाल्ने ।
स्टेप ३ : दुवै हातले दुवै खुट्टालाई समात्ने, श्वास तान्दै खुट्टा र टाउको उचाल्ने ।
स्टेप ४ : उचालिसकेपछि श्वासलाई सामान्य बनाउने । यसलाई कम्तीमा १५ सेकेन्ड गर्ने अथवा आफ्नो क्षमताअनुसार त्योभन्दा बढी पनि गर्न सकिन्छ ।
स्टेप ५ : ध्यान श्वासमा केन्द्रित गर्ने अथवा शरीर तन्किएको भागमा केन्द्रित गर्ने ।
स्टेप ६ : लामो श्वास तान्ने र बिस्तारै श्वास छोड्दै दुवै खुट्टालाई जमिनमा राख्ने ।
फाइदा
यो आसनले पनि पेटलाई नै फाइदा गर्छ । यो आसन अनावश्यक रूपमा पेट बढेको मानिसहरूलाई अति नै उपयोगी हुनसक्छ । साथै ढाड कम्मर नदुखोस् भन्नका लागि पनि यो आसन एकदमै राम्रो मानिन्छ ।
गोमुख आसन
विधि
स्टेप १ : सुरुमा पलेटी कसेर बस्ने ।
स्टेप २ : दायाँ खुट्टालाई मोडेर बायाँपट्टि तीघ्रामा जोडेर राख्ने ।
स्टेप ३ : बायाँ खुट्टालाई दायाँ खुट्टाको माथिबाट तानेर दायाँ तीघ्रामा सँगै जोडेर राख्ने ।
स्टेप ४ : यसरी गर्दा बायाँ खुट्टा माथि बस्छ । लामो श्वास तान्ने अनि श्वास छोड्दै दायाँ हातलाई चित्रमा देखाएजस्तै दायाँपट्टिको गर्धनबाट तल लाने र बायाँहातले तलबाट दायाँहातका औंलाहरूलाई समाउने कोसिस गर्ने ।
स्टेप ५ : शरीरलाई सीधा गर्ने र श्वासलाई सामान्य राख्ने । कम्तीमा ३० सेकेन्ड र बढीमा १ मिनेटसम्म गर्ने ।
स्टेप ६ : लामो श्वास तान्ने, हातलाई तल झार्ने । यही विधिबाट अर्को खुट्टाको गर्ने । अघि बायाँखुट्टा माथि भएजस्तै दायाँ खुट्टालाई माथि राखेर त्यही विधि अनुसार यो आसनलाई पूर्ण गर्न सकिन्छ ।
फाइदा
यो आसनले विशेष गरी ग्यास्ट्रिकका बिरामीलाई फाइदा पुग्छ । साथै छाती फराकिलो बनाउने काम गर्नुका साथै प्रजनन्सँग सम्बन्धी समस्या भएकाहरूका लागि यो आसन अति उपयोगी हुन्छ ।