कोरोना भाइरसले दीर्घरोग, मुटुरोग, मधुमेह जस्ता समस्या भएकालाई बढी संक्रमण गर्ने कुरामा पुष्टि भैसकेको छ । अहिले चिकित्सा विज्ञानको क्षेत्रले यो भाइरसले मानिसको अरु कुन कुन अंगमा कस्तो किसिमले संक्रमण गर्छ भन्ने बिषयमा अनुसन्धान भैरहेको छ । यसैगरी कोरोनाको कारणले छालामा पनि विभिन्न किसिमका लक्षणहरू देखापार्ने छाला तथा यौनरोग विशेषज्ञ डा. कमलराज धिताल बताउँछन् । चीनमा कोराना सुरु हुँदा नगण्य मात्रामा (१ प्रतिशत भन्दा कम) छालाको समस्या देखिएको थियो भने इटाली तथा स्पेनमा हालै भएको अध्ययनमा करिब २० प्रतिशत मानिसमा छालाको समस्या देखिएको थियो । विभिन्न देशमा कोरोना भाइरसको संक्रमणले छालामा हुने समस्याका बारेमा लेख प्रकाशित भइरहेका छन् । अहिलेसम्मका अध्ययन अनुसार छालामा मुख्यतयाः ५ किसिमका लक्षण देखा परेको डा.कमल बताउँछन् ।
हात खुट्टाको टुप्पामा आउने घाउ
यस्तो किसिमको समस्या १९ प्रतिशत बिरामीमा देखिएको थियो । चिलाउने, दुख्ने, साना विमिरा तथा पानी फोका जस्ता घाउ हात खुट्टाको औंलाको टुप्पामा देखिएको छ । यस्ता घाउ किशोरकिशोरी बिरामीमा धेरै आएको तथा चाँडै निको भएको पाइएको छ ।
छालामा डाबर आउने
यो समस्या पनि १९ प्रतिशत बिरामीमा देखिएको छ । यस संक्रमणमा छालामा रातो भुक्क फुलेको डाबर आउने गर्छ । शरीरमा बढी मात्रामा यो देखा परेको समेत पाइएको थियो ।
पानीका फोका जस्ता घाउ
यो समस्या करिब ९ प्रतिशतमा देखिएको छ । यस्तो बेला रातो पानी भरिएको जस्तो घाउ शरीरमा देखिन्छ । यस्तो घाउ कहिलेकाही हात वा खुट्टामा पनि आउन सक्छ ।
अन्य घाउ
साना साना राता दाना जस्ता देखिने घाउ जुन अधिक चिलाउँछ । यस्तो छालाको लक्षण देखा परेमा रोग पनि गम्भिर अवस्थामा रहेको देखिएको छ ।
लिभिडो रेटिकुलारिस
यसमा छालामा नेट जस्तो रातो वा निलो प्रकारका एलर्जी जस्ता घाउ देखिन्छ । यो खासगरी तिघ्रा तथा खुट्टामा धेरै देखिन्छ ।