साप्ताहिक संवाददाता
वि.सं. १८०१ मा गोर्खालीहरूले नुवाकोट विजय गरेपछि जयप्रकाश मल्लको दुर्भाग्यको कथा प्रारम्भ हुन्छ । नुवाकोट गुमेपछि वि.सं. १८०३ मा जयप्रकाश मल्लले आफ्ना सेनापति काजी काशीराम थापा तथा मन्त्री भिखुवाल गोर्खालीहरूसँग मिलेको आशंका गरे । त्यही आशंकाका कारण वि.सं. १८०३ साउनमा पशुपति नजिकै गौरीघाटमा श्रावणी तर्पण गरिरहेका बेला काजी काशीराम थापाको हत्यासँगै मन्त्री भिखुवाल पनि मारिए । उक्त घटनापछि काठमाडौंका सम्भ्रान्त वर्गसहित दरबारका शक्तिशाली भारदारहरू तौढिक काजी, गरुड सिंह भँडेलले जयप्रकाश मल्ललाई सत्ताबाट हटाउने षड्यन्त्र रचे । जयप्रकाश मल्लको दुर्भाग्य, उक्त षड्यन्त्रमा सामेल भइन् उनकै रानी दयावती ।
परिणामस्वरुप जयप्रकाश मल्ल गद्दीच्युत भए र उनका नाबालक छोरा ज्योतिप्रकाश मल्ललाई राजा बनाइयो । रानी दयावती नायवी भइन् भने तौढिक काजीले वास्तविक सत्ता सञ्चालन गर्ने हैसियत बनाए । यहीँनिर दृश्यमा देखापर्छन् गरुड सिंह भँडेल । कतिपय इतिहासकारले गरुड सिंह भँडेललाई रानी दयावतीको प्रेमी भनेर समेत चित्रण गरेका छन् । दयावती र गरुड सिंह भँडेलको सम्बन्धलाई लिएर नै राजा जयप्रकाश मल्ल तथा रानी दयावतीबीच खटपट भएको आशंका गर्नेहरू पनि छन् । जयप्रकाश मल्ल सत्ताच्युत भएपछि गरुड सिंह भँडेलसँगको सम्बन्ध उत्कर्षमा पुगेपछि रानी दयावतीका विरोधीहरू त्यतिबेलाको दरबारमा समेत देखा परिसकेका थिए । उता सत्ताच्युत भएका जयप्रकाश मल्ल चार वर्षसम्म विभिन्न भेषमा कहिले मातातीर्थ, कहिले गोदाबरी, कहिले गोकर्ण त कहिले गुह्येश्वरी क्षेत्रमा लुकेर बस्न बाध्य भए ।
रानी दयावती र गरुड सिंह भँडेलको प्रेम सम्बन्ध छताछुल्ल भएपछि वि.सं. १८०७ मा काठमाडौंको सेनाले विद्रोह गर्यो । विद्रोही सेनाले सत्ताच्युत राजा जयप्रकाश मल्लको खोजी गरेर उनलाई पुन: राजाका रुपमा स्थापित गर्यो । जयप्रकाश मल्लले राजाका रुपमा दोस्रोपटक काठमाडौं दरबारमा प्रवेश गर्ने भएपछि तौढिक काजीले आत्महत्या गरे भने गरुड सिंह भँडेल भागेर नुवाकोट पुगे । रानी दयावतीलाई हनुमानढोका दरबारभित्रै लक्ष्मीपुरमा कैद गरियो । उक्त घटनाको १८ वर्षपछि पृथ्वीनारायण शाहले काठमाडौंमा अन्तिम विजय प्राप्त गरेका थिए ।