साप्ताहिक संवाददाता
सेरेना विलियम्स
विश्व टेनिसको इतिहासकै सर्वाधिक सफल खेलाडी हुन्— सेरेना विलियम्स । अमेरिकाकी यी महिला टेनिस खेलाडीले एक दशक भन्दा बढी समययता महिला स्पर्धामा एक छत्र राज गरिरहेकी छिन् । उनी लामो समय नम्बर १ खेलाडी पनि रहिन् । त्यसैको कारण हो, उनी सन् २०१८ मा पनि सर्वाधिक कमाउने खेलाडी भएकी छिन् । सेरेनाको कुल आम्दानी १ करोड ८० लाख डलर रह्यो । उनले यही वर्षदेखि आफ्नै नाममा फेसन कलेक्सन पनि बजारमा उतारेकी छिन् ।
क्यारोलिन वाज्निस्की
महिला खेलाडीका लागि सर्वाधिक कमाउने खेल हो, टेनिस । क्यारोलिन वाज्निस्की पनि टेनिसकै खेलाडी हुन् र उनी सन् २०१८ मा सर्वाधिक कमाउने महिला खेलाडीको सूचीको दोस्रो स्थानमा छिन् । उनको आम्दानी १ करोड ३० लाख डलर रह्यो । क्यारोलिन कोर्टमा खासै सफल खेलाडी होइनन, त्यसैले उनले धेरै उपाधि पनि जितेकी छैनन्, तर पनि उनी लोकप्रिय छिन् । यी डेनिस खेलाडीको आम्दानीको ठूलो अंश व्यापारिक प्रायोजनबाट प्राप्त हुन्छ ।
सलोनी स्टेफेन्स
सलोनी स्टेफेन्स पनि अमेरिकी टेनिस खेलाडी नै हुन् । सेरेना विलियम्सको सफलताबाट प्रेरणा लिएर कोर्टमा ओर्लिएकी सलोनीले यूएस ओपन जितेयता ख्याती कमाउन थालिन् र त्यसकै परिणामस्वरूप उनी सन् २०१८ मा सर्वाधिक कमाउने महिला खेलाडीको सूचीको तेस्रो स्थानमा छिन् । सलोनीले यो वर्ष १ करोड १२ लाख डलर कमाएकी छिन् ।
ग्याब्रिन मुगुरुजा
भेनेजुली मूलकी स्पेनिस खेलाडी हुन्— ग्याब्रिन मगुरुजा । सर्वाधिक कमाउने महिला खेलाडीको सूचीको शीर्ष पाँचमा पूर्णत: टेनिसकै वर्चश्व छ र यसक्रममा उनी चौथो स्थानमा छिन् । विश्व टेनिसमा उनको चर्चा विम्बल्डन जितेयता सुरु भएको हो । सन् २०१८ मा उनले १ करोड १० लाख डलर कमाइन् जसमध्ये आधा रकम व्यापारिक प्रायोजनबाट प्राप्त भएको हो ।
मारिया सारापोभा
रूसी टेनिस सुन्दरी हुन्— मारिया सारापोभा । सन् २०१८ मा उनी कोर्टमा खासै सक्रिय रहिनन्, तर पनि उनको आम्दानी १ करोड ५ लाख डलरको हाराहारीमा रह्यो र त्यसको प्रमुख कारण थियो, उनको सुन्दरता र लोकप्रियता । प्रतिबन्धित शक्तिवद्र्धक औषधी प्रयोग प्रकरणमा फसेपछि लामो समय प्रतिबन्ध झेलेकी सारापोभाको आम्दानीको ठूलो हिस्सा विज्ञापन तथा व्यापारिक प्रायोजनबाट प्राप्त हुन्छ ।