बिनाकाम घरबाट बाहिर निस्कन नरुचाउने निर्देशक निश्चल बस्नेत कोरोना भाइरसको जोखिम बढेयता लगातार घरभित्रै छन्, अभिनेत्री स्वस्तिमा खड्का पनि । फिल्मको व्यस्तताका कारण यी पति–पत्नीले एकसाथ समय बिताउन खासै पाउँदैनन् । ‘लकडाउन’ले उनीहरूलाई लामो समय सँगै रहने समय जुटाइदिएको छ ।
‘लुट’ निर्देशन गरेर नेपाली फिल्ममा फरक छाप छाडेका निर्देशक हुन्, उनी । त्यसपछि ‘टलकजंग भर्सेस टुल्के’ र ‘लुट–२’ निर्देशन गरे । अभिनयका सौखिन उनले ‘कबड्डी’, ‘दुइ रुपैयाँ’, ‘प्रसाद’, ‘घामड शेरे’ आदि फिल्ममा प्रमुख भूमिकामा काम गरेका छन् ।
निश्चलको ‘लकडाउन लाइफ’ कसरी चलिरहेको छ त ? कोरोना र लकडाउनकै सेरोफेरोमा रहेर संवाद गर्न निश्चललाई फोन सम्पर्क गर्दा सुरुमा उनी पन्छिन खोज्दै थिए, ‘के गर्नु यार यो विरक्तलाग्दो गफ ।’ खासगरी मिडियामा आइरहेका नकरात्मक खबरले उनमा विरक्तभाव पैदा भएको रहेछ । तर, कुराकानी सुरु भएपछि उनले आधा घन्टा बितेको पत्तै पाएनन् । प्रस्तुत छ उनीसँगको लकडाउन संवाद :
लकडाउन लाइफ कसरी बितिरहेको छ ?
ठ्याक्कै तपाईंकै जसरी हो– बस्ने, खाने, बेलाबेला फोन गर्ने । यसरी नै हो (हाँस्दै) ।
यो समयको सदुपयोग कसरी गरिरहनुभएको छ ?
अहिले आइरहेका समाचार हेर्दा क्रिएटिभ हुने वातावरण देखिन्न (हाँस्दै) ।
भनेपछि समाचार पढेर विरक्त लागिरा’छ ?
तपाईं आफै हेर्नुस् न, प्रगति केही भएको छ ? घर बसुुन्जेल ठीकै छ । लकडाउन सकिएर बाहिर निस्किएपछि भाइरस सर्दैन भन्ने केही ग्यारेन्टी हुने अवस्था सिर्जना भएको छ ?
सरकारको तयारी पुुगेन भन्न खोज्नुुभएको ?
घपलै–घपला भएका मान्छेमात्रै छन् माथि । अहिले आइरहेका समाचारहरू हेर्दा नै थाहा हुन्छ, हाम्रो नेतृत्व कति कमजोर छ भन्ने । मान्छेहरू मरिरहेका छन्, तर के कारणले बेलैमा जवाफ आउन सकिरहेको छैन । सकारात्मक हुन्छु भन्दाभन्दै पनि वातावरण छैन । मिडियामा पनि नकरात्मक समाचार नै बढी देखिन्छ । यस्तो बेलामा पनि भ्रष्टाचारको खबर पढिरहनुपरेको छ । यो त हाम्रा मान्छेहरूले पैसा बाहेक अरू केही कुराको अनुहार नै देखेका रहेनछन् भन्ने प्रमाण हो । आरोप सत्य हो या होइन, छानबिन होला । तर, यो समयमा यस्तो आरोप लाग्ने गरी काम हुनु नै लाजमर्दो हो । अर्को कुरा, अहिले कोरोनाबाहेक अरू रोग त रोग नै होइन, अरू बिरामी त बिरामी नै होइन भन्ने वातावरण सिर्जना भइरहेको देखिन्छ । अस्पतालहरू अरू बिरामीलाई भर्ना गर्न मानिरहेका छैनन् । अरू बेला बिरामीको चापले भरिने अस्पताल अचेल किन खालि–खालि भइरहेको छ ? के कोरोनाको त्रासले अहिले मान्छे बिरामी हुनै छाडेका हुन् त ? पक्कै होइन । मलाई लाग्छ, यो गैरजिम्मेवारी र लापरवाहीको हद हामी सबैसामु ऐनाजस्तै छर्लङ्गै छ ।
निर्देशकको लेन्स लाएर हेर्दा कोरानो भाइरस कसरी देखिरहनुभएको छ ?
अहिले निर्देशक या फिल्मकर्मी भन्ने सोच दिमागमा आइरहेकै छैन । हो, एक–दुइटा घटना देख्दा पछिका लागि फिल्मको स्टोरी हुन सक्छ भन्ने एकछिनका लागि त सोचिन्छ, तर यो मानवीय संवेदना भन्ने चिज बडो अचम्मको हुँदोरहेछ । आफू कसरी बाँच्ने, आफ्नो परिवारलाई कसरी बचाउने र सकिन्छ भने अरू मान्छेहरूलाई पनि कसरी जोगाउने भन्नेमा ध्यान बढी जाँदोरहेछ । अनि, यो कुराबाट उम्किएर फिल्म बनाउने भन्ने कुरा त निकै पछि आउने रहेछ । अहिले मेरो दुइटा फिल्मको स्क्रिप्टमा काम भइरहेको छ । तर, त्यो स्क्रिप्ट लेखिरहेका लेखकहरूलाई पनि छिटो स्क्रिप्ट सकाउनुस् भन्न सकेको छैन । किनकि पहिलो प्राथमिकता भनेको जीवन नै हो । बाँचियो भने त यस्ता स्क्रिप्ट जति पनि लेखिन्छन् । तर, दुुःखको कुरा यस्तो महामारीको संकटमा राज्यले हामीलाई बचाउँछ भन्नेकुरामा नागरिक ढुक्क हुने अवस्था छैन ।
तपाई सेल्फ क्वारेन्टाइनमा बसेको लकडाउनदेखि हो कि त्योभन्दा अघि नै ?
धेरै अगाडिदेखि नै म घरमा बसिरा’ हो । दुई–तीन महिनै भइसक्यो, म खासै बाहिर निस्किएको छैन । स्क्रिप्ट तयार नभई फिल्मको काम सुरु हुने कुरै थिएन । फोकटमा बाहिर हिड्ने बानी पनि छैन । त्यही भएर हो ।
भनेपछि तपाईंलाई त यो लकडाउन खासै नौलो लागिरहेको छैन कि क्या हो ?
हो, खासै लागेको छैन । पहिले एक–दुईजनामात्रै घरमा हुन्थे, अहिले पुरै परिवार नै हुन्छन् । फरक यही हो ।
कोरानाले नियमित जीवनशैलीमा केही त परिवर्तन ल्याएको होला नि ?
अलि–अलि त छ । जस्तो, हात धोइरहने, मास्क लगाइरहने बानीचाहिँ बस्या’ छ । अनि अर्को कुरा, मेरो ममीको डायलसिसका लागि हप्ताका दुई दिन अस्पताल जानैपर्छ । त्यसैले, अहिले निस्किदाखेरि कसरी सुरक्षित हुने, कसरी सुरक्षितसँग ममीलाई घर ल्याउने भन्ने कुरामा बढी नै सचेत भइरहेको हुन्छु ।
घरमै बस्दाचाहिँ समय कसरी कटाउनु हुन्छ नि ?
त्यही अरूले जस्तै हो क्या– फिल्म हेर्ने, सोसियल मिडिया हेर्ने, समाचार पढ्ने, गेम खेल्ने । यस्तै–यस्तै त हो ।
लकडाउनमा तपाईं त स्वस्तिमाको गितार गुरू बन्नुभएको जस्तो छ । भर्खरै उहाँलाई गितार बजाउन सिकाइरहेको भिडियो देखेको थिएँ !
अँ, अस्ति उसलाई रहर लागेको थियो, त्यही भएर हल्का सिकाइदे’को हो । अब फेरि कहिले रहर जाग्छ, थाहा छैन (हाँस्दै) ।
दुवैजना फिल्मकर्ममा व्यस्त हुुँदा एकअर्कालाई समय दिन पाउनु भएकोे थिएन होला, अहिले लकडाउनले पर्याप्त समय जुटाइदियो है ?
अरू बेला भेटघाट कम भएपनि सम्पर्कमा भने हामी भइरहन्थ्यौं । अहिले जतिखेर पनि सँगै हुँदा चाहिँ बेला–बेलामा रिस पनि उठ्दो रहेछ (हाँस्दै) । जे होस्, रमाइलै लागिरा’छ । अर्को कुरा, हामी एक–अर्कामा कहिल्यै समय नपाएको गुनासो गरेनौं । हामी दुवैले यो पेशा मनले रोजेको हो । त्यसैले ऊ व्यस्त हुँदा मैले बुझ्ने, म व्यस्त हुँदा उसले बुझ्ने हुन्छ । हामीबीच यस मामिलामा बलियो समझदारी छ ।
तपाईंको विचारमा यस्तो महामारीको संकटका बेला सेलिब्रिटीले निर्वाह गर्नुपर्ने भूमिका कस्तो हुनुपर्छ ?
यो एकदमै अप्ठेरो स्थिति हो । सोसियल मिडियामा जे पायो त्यही लेख्न पनि हुन्न, जे पाए त्यही सेयर गर्नु पनि हुन्न । जस्तो, लकडाउन सुरु भएकै बेला मैले डाक्टरहरूको नम्बर रहेको एउटा सूची सेयर गरेको थिएँ । डाक्टरसँग बुझेर कन्फर्म भएपछि मात्रै मैले त्यो पोस्ट गरेको थिएँ, कोरोनासम्बन्धी जिज्ञासा या शंका मेटाउन त्यसले भूमिका खेल्छ भन्ने लागेर । अरू त हात धुनुपर्छ, मास्क लगाउनुपर्छ, बाहिर हिँड्नुहुँदैन भन्ने पोस्ट त सबैबाट भइरहेकै छ ।
यतिबेला दैनिक ज्यालादारीमा काम गर्ने फिल्म प्राविधिकको जीवनयापनमा समस्या भइरहेको खबर पनि बाहिर आइरहेको छ । यो बेला उनीहरूको रोजी–रोटीका लागि फिल्मकर्मीले सोच्नुपर्ने होइन ?
यो एकजना व्यक्तिले मात्रै पहल गरेर हुँदैन । भारतमा अक्षयले २५ करोड सहयोग ग¥यो भन्दै यहाँ केही फिल्मकर्मी चिच्याएको पनि सुनियो । तर, मलाई दीपेन्द्र लामा (फिल्म निर्देशक)को स्टाटस चित्त बुुझ्यो । उहाँले भनेझैं यतिबेला फिल्म निर्माताले प्रधानमन्त्री राहत कोषमा पैसा दिनुुभन्दा अगाडि प्राविधिक र कलाकारको बाँकी राखेको पारिश्रमिक तिरिदिनु चाहिँ ठूलो राहत हुनेछ । हो, यतिबेला मैले यति पैसा दिन्छु भनेर घोषणा गर्दा धेरैको वाहवाही खाइन्छ होला । तर, वाहवाही खानलाई मात्रै सहयोग गर्ने या हाम्रो सहयोगले कसैको जीवनमा साँच्चैको राहत पुग्नेगरी गर्ने ? चलचित्र प्राविधिक संघ लगायतबाट संस्थागत पहल हुनुपर्छ भन्ने लाग्छ । चर्चाका लागि मात्रै सहयोग गर्ने प्रवृत्तिको म समर्थन गर्दिनँ । मेरो घरछेउ कोही भोकाइरहेको देखेँ र उसलाई मैले केही खुवाउन सकेँ भने त्यो मेरो ठूलो सहयोग हो । तर, म यस्तो कुरा बाहिर मिडियामा ल्याउन रुचाउँदिनँ । मिडिया आफैंले थाहा पाउनुु अर्कै कुरा हो । सहयोग गर्ने, अनि त्यसलाई प्रचार गर्न खोजेपछि त्यो त स्वार्थका लागि गरेजस्तो भइहाल्छ नि । मनदेखि गरेको सहयोगको पनि प्रचार खोजिन्छ भने त्यो शोभनीय होइन । अर्को कुरा, यतिबेला राज्यले सेलिब्रिटीको खास प्रयोग गर्न सकेजस्तो मलाई लाग्दैन । नत्र यस्तो बेला टिभी सिरिजहरू एकदमै धेरै बन्नुपथ्र्यो । कलाकारलाई लिएर यो गर्नु, यो नगर्नु भन्ने सचेतनामूलक कार्यक्रम धेरैभन्दा धेरै बनाएर दिनरात प्रसारण गर्नुपथ्र्यो, रेडियो र टिभीमा ।
तपाईंको विचारमा घरमै बसिरहेका सर्वसाधारणले लकडाउन लाइफलाई कसरी सिर्जनात्मक र फलदायी बनाउन सक्छन् ?
सिर्जनात्मक हुन सबैभन्दा पहिला सोसियल मिडिया सकेसम्म कम चलाउने । एक त, अहिले खबरहरू नेगेटिभ बढी छन् । सोसियल मिडिया चलाउनसाथ वालमा देखिने ती पोष्टहरूले हाम्रो दिमागमा केही न केही नकरात्मक प्रभाव छाडिसक्छ । यसले निराशा बढाउँछ । त्यसैले माइन्ड फ्रि बनाउन अहिले सोसियल मिडिया एकदमै कम चलाएको राम्रो । अनिमात्रै, आफूले चाहेअनुसार सिर्जनात्मक कामतिर लाग्न सकिन्छ । त्यसपछि लेख्न मन हुनेले लेख्दा भयो । गीत गाउन नजान्नेले पनि गीत गाउन सिक्दा भयो ।
यो लकडाउनमा तपाईले त्यस्तो नयाँ केही सिक्नुभयो ?
त्यस्तो नयाँ त केही गरेको छैन । फिल्मचाहिँ एकदमै धेरै हेरिरा’छु । उपेन्द्र सुब्बाले भनेझैँ अहिले आम सर्वसाधारण फिल्म, पुस्तक र संगीतमा रमाइरहेका छन् । मलाई लाग्छ, अहिले उनीहरूलाई कला सिर्जनामा लाग्ने मान्छेहरूको महत्व कति रहेछ भन्ने महसुस भइरहेको होला ।
अहिलेको मनस्थितिमा कस्तो फिल्म हेर्दा उपयुक्त होला ? केही फिल्महरू सिफारिस गर्नुस् न दर्शकका लागि ?
लकडाउनकै बेला मैले कोरानाजस्तै भाइरस अनुुमान गरिएको फिल्म ‘कन्टेजियन’ हेरें । यतिखेर अरूले पनि यो हेर्दा सतर्क हुन मद्दत गर्ला । जतिबेला बनेको थियो, त्यतिबेला धेरै पैसा नकमाएको फिल्म हो यो । यद्यपि अहिले मान्छेहरूले खुब हेरिरहेका छन् । ‘जोकर’, ‘प्यारासाइट’, ‘फोर्ड भर्सेस फरारी’ लगायत फिल्म हेर्दा हुन्छ । नेटफ्लिक्समा दामी–दामी सिरिज पाइन्छन्, त्यो पनि खोजी–खोजी हेर्दा हुन्छ । खासमा समयअनुसार रुची परिवर्तन हुँदै जाने रहेछ । सानो हुँदा अर्कै खाले फिल्म मनपथ्र्यो, अहिले अर्कै । सबैको त्यस्तै हुन्छ सायद । नेपाली फिल्महरू हेर्ने हो भने ‘साँघुरो’, ‘सेतो सूर्य’लगायत हेर्दा राम्रै हुन्छ । हलमा बस्दा मन नपरेका फिल्म पनि घरमा बसेर हेर्दा मनपरेको अनुभव छ मसँग । त्यसैले इन्टरनेटमा प्रशस्त विकल्प छन्, आफ्नो रुची अनुसार खोजेर हेरौँ ।
तपाईं अहिले घरमा बसेर नयाँ फिल्मको तयारी गरिरहनु भएको छैन ?
काम त भइरहेको छ । एउटा फिल्मको स्क्रिप्ट बुद्धिसागरले लेखिरहनुुभएको छ । अर्को आशिफ शाहसँग मिलेर बनाउन लागेको फिल्मको स्क्रिप्टचाहिँ नयनराज पाण्डेले लेखिरहनु भएको छ ।
कोरोनाले विश्व फिल्म उद्योगमा ठूलो असर पारेको छ । नेपाली फिल्म क्षेत्र पनि यसबाट अछुतो छैन । कोरोना पछिको नेपाली फिल्म क्षेत्र कस्तो होला भन्ने लाग्छ ?
अहिले हाम्रो दिमागमा भीडभाडमा नजाने मनोविज्ञान गढेर बसेको छ । त्यसैले जबसम्म मान्छेले सुरक्षित महसुस गर्दैन, तबसम्म हलमा फिल्म हेर्न जाँदैन । त्यसैले हाम्रो पनि तयारी के हुनुपर्यो भने जबसम्म सुरक्षित अवस्था सिर्जना हुँदैन, तबसम्म हामीले जुन फिल्ममा काम गरिरहेको छौं, जे लेखिरहेका छौं, त्यसमा दोहोर्याइ–तेहेर्याइ काम गर्नुप¥यो । अनि, कोरोनापछि रिलिज हुने फिल्महरू पनि निराशाजनक हुनुभएन । यो समयमा दर्शकलाई निराश बनाउने सिनेमाभन्दा सकारात्मक प्रभाव छाड्ने सिनेमा रिलिज हुनुपर्छ भन्ने लाग्छ । किनभने त्यतिबेला दर्शकमा विरक्तिएको अवस्थाबाट बाहिरिएर फेरि विरक्त लाग्दो फिल्म नै किन हेर्ने भन्ने मनस्थिति हावी हुनसक्छ ।