रेखा शाह, गायिका
‘सिमसिमे पानीमा,
ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा
नजाऊ पर आऊ वरवर,
तिम्रो म छु मेरो पो को छ र ?
सिमसिमे पानीमा,
ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा’
यो सदावहार लोकगीतले यसका गायक–गायिका दुवैलाई ओझेलमा पारिदियो । यो सुगम गीतको लोकप्रियतामा गायक प्रेमराजा महत र गायिका रेखा शाह दुवै पछारिए । माइलस्टोन बन्यो सिमसिमे पानीमा । त्यसपछि यी दुवै कलाकारले सँगै गीत पनि गाएनन् । प्रेमराजा अमेरिकातिर लागे । रेखा संगीतको क्षेत्रमै डटिन ।
रेखा बोल्ड छिन् । खतरासँग खेल्न नडराउने, एडभेन्चरिस्ट । उनी यस्ती गायिकामा पर्छिन् जसमा गीत गाउन मात्र होइन, गीतलाई त्यसको गति र आयाममा बुझ्ने कमन सेन्स हुन्छ । के गीत गाइरहेको हो त्यसका बारेमा समझ हुन्छ । कलाको लोकप्रिय माध्यम हो– संगीत । संगीत लोकप्रिय हुन्छ तर त्यसको सार्वजनिक प्रशंसा हुँदैन । गायकले गायो । सुन्नेले आनन्द लिए । सकियो । त्यसैले हो, यता आएर नेपाली गीतको क्षेत्रमा कालजयी आधुनिक गीत त्यति बनेका छैनन् । आधुनिकताको नाममा व्यवसायिक गीतको बजार चम्किएको छ ।
रेखा भन्छिन्, ‘गीत पावरफुल हुनुपर्छ । शक्तिशाली । गीतले श्रोताको ध्यान खिच्नुपर्छ । उनीहरूलाई गीतको तालमा नचाउन सक्नुपर्छ । गीतले जीवनमा उत्साह र उन्माद भर्न सक्नुपर्छ ।’
रेखालाई आफ्ना सबै गीत उत्तिकै प्रिय लाग्छन् । उनलाई थाहा छ जन्मिएका सन्तान सबै राष्ट्रपति वा प्रधानमन्त्री बन्दैनन् । यद्यपि राष्ट्रपति वा प्रधानमन्त्री बन्न नसकेका सन्तान अयोग्य हुँदैनन् । त्यस्तै हो गीत । सबै गीतले सबै श्रोताको मन तान्ने होइन । कुनै एउटा गीत कसैका लागि कर्णप्रिय होला, त्यो गीतले अर्को श्रोतालाई पनि उत्तिकै आकर्षित गर्छ भन्ने छैन ।
रेखा शाहले नेपाली गाउँघरतिर गाइने धेरै लोकगीतका शब्द तथा लय संकलन गरेकी छिन् । सयभन्दा बढी नै गीत गाएकी छिन् । लोकगीत सिमसिमे पानीमा सहित उनले गाएका पाँचवटा लोकप्रिय गीतमध्ये तीनवटामा भूपेन्द्र खड्काका शब्दहरू छन् ।
उनले फणिन्द्र राई र विजेश्वर तण्डुकार तथा हरि लम्साल र सुगम पोखरेलको संगीतमा गीत गाएकी छिन् । उनलाई यी संगीतकारसँग काम गर्न सहज लाग्छ । संगीतले गीतलाई लय दिन्छ र गीतले संगीतलाई प्रवाह । यसै भन्छिन् रेखा ।
रेखाले गायनलाई पेसा बनाइन् । उनको विचारमा नेपाली गायन सम्पूर्णतामा पेसा बन्ने हैसियतमा पुगिसकेको छैन । अहिले बजारको मागअनुसार गाइएको छ । बजारले जे–जे माग्छ त्यसको आपूर्ति हुन्छ । कुनै गायक–संगीतकारको मौलिक सिर्जनालाई श्रोतासामु प्रस्तुत गर्ने र श्रोताबाटै मूल्यांकन गर्ने परिपाटी नबसेसम्म गायक तथा संगीतकारहरू पर्दा पछाडि नै रहन्छन् । पर्दा अगाडि सुनिने संगीत र गीतको झंकार बजारकै आवश्यकताअनुसार सुनाइन्छ । यही कारण हो, रेखा सौखिन कलाकार हुन् ।
उनी ह्दयले आग्रह गरेको क्षण मात्र गाउँछिन् । बालापनदेखि गाउँथिन् र स्कुलका कार्यक्रमहरूमा प्रस्तुत हुन्थिन् । अहिले पनि, राम्रो प्रदर्शनको अवसर पाए स्टेज पर्फमेन्सका लागि तयार छिन् उनी । रेखाको प्यासन हो गीत । ‘गीत र संगीतबिनाको जीवनको त कल्पना नै गर्दिनँ म,’ भन्छिन् रेखा । अहिले उनी संगीतज्ञ चण्डीप्रसाद काफ्लेसँग संगीत सिक्दैछिन् । उनी संगीतका हरेक पद्धतिसँग परिचित हुन चाहन्छिन् । यससँगै उनी पियानो वादन पनि सिक्दैछिन् । ‘गायकका लागि संगीत सिक्नु अनिवार्य छैन’ भन्ने मान्यतासँग सहमत छैनन् रेखा । स्वरको प्रयोग गीत र संगीतको भाषाअनुरूप गर्न पनि संगीत सिक्नु अनिवार्य छ । संगीत शिक्षा अनुशासन हो । अनुशासनबिना त संगीतको मर्म नै रहँदैन’,
रेखा भन्छिन् ।
रेखामा अध्ययनको आकांक्षा छ, एउटा खास दृष्टिकोण बनाएकी छिन् उनले आफ्नो जीवनको । उनी अहिले जेन्डर स्टडीमा लागेकी छिन् । जेन्डर कन्फ्लिक्टमा उनको रुचि बढ्दै गएको छ । छोटा सिनेमा (सर्ट फिल्म) का माध्यमले समस्याहरू सुल्झाउन चेतनाको विस्तार गर्न सकिन्छ भन्ने उनको मान्यता बलियो हुँदै गएको छ ।
खासगरेर, सर्ट फिल्मको माध्यम सहरिया मनस्थितिमा हस्तक्षेप गर्नु प्रभावकारी हुने उनको विश्वास फराकिलो हुँदै गएको छ । पुस्तकको पनि त्यत्तिकै शौखिन छिन् उनी । रेखाले धेरैजसो बेस्टसेलर पढिसकेकी छिन् । बिल क्लिन्टनको आत्मकथा भर्खर पढिसिध्याइन् । हिलारीको पढ्न भ्याएकी छैनन् ।
‘इन्ट्रोभर्ट’ मानिसहरू मन पर्दैनन् रेखालाई । उनी यति स्पष्टवादी छिन् कि कुन कुरा उनले भन्न बाँकी राखिन्, त्यो नै थाहा नहुने । उनलाई रोप्न आउँछ, घाँस काटेकी छिन्, दु:खी जीवन बिताएकी छिन् । ग्रामीण जीवनका उनका आफ्नै पीडा छन् । उनका खुसीहरू पनि त्यसैसँग जोडिएका छन् । दुई जना सानी आमासँग बिताएका दिनहरूको सम्झना छ उनलाई । गायिकाका रूपमा ‘सामाजिक छवि उच्च भएकी’ आफ्नी नातिनी भनेर हजुरबुवाले गर्नु भएको प्रशंसा–स्मृतिमा धेरै कुरा छन् ।
सामाजिक जीवनमा उनी दुई नारी पात्रलाई खुब रुचाउँछिन् : नरम स्वभावकी बन्दना राणा र स्पष्टवादी आरजु राणा । यी दुवैको हर्ट क्रिष्टल क्लियर लाग्छ मलाई– उनी स्पष्ट भन्छिन् । कलाकारहरूमा उनको च्वाइसमा पर्छिन् करिश्मा मानन्धर र दि बेस्ट फिमेल हिरो रेखा थापा ।
‘म मीठो पकाउँछु भेज, चिकन र मटन । सबैले मीठो भन्छन्,’ रेखाको दाबी छ । दाबी प्रमाणित भएको छैन, किनभने हामीले निम्ता पाएका छैनौं ।
‘म राम्री छु । ऐनाअघि उभिँदा आफ्नो फिगर म आफैंलाई राम्रो लाग्छ,’ यो साँचो हो, उनी राम्री छिन् । बोल्ड एन्ड ब्युटिफुल र तेस्रो कुरा, रेखालाई निद्रा पर्दैन । उनी आफ्नो स्वास्थ्यप्रति सचेत छिन् ।